close

आफू विरुद्धको समाचार छापेको भन्दै क्लासिक टेकले ‘बन्द’ गर्‍यो अनलाइन न्युज पोर्टल

टेकपाना टेकपाना

भदौ १४, २०७८ २२:३

आफू विरुद्धको समाचार छापेको भन्दै क्लासिक टेकले ‘बन्द’ गर्‍यो अनलाइन न्युज पोर्टल

काठमाडौं । नेपाल पत्रकार महासंघले समाचार प्रकाशनको विषयलाई लिएर इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेकले अनलाइन समाचार पोर्टल नै बन्द गराइदिएको आरोप लगाएको छ । महासंघले आइतबार एक विज्ञप्ति प्रकाशन गर्दै कम्पनीको उक्त कार्यप्रति आफ्नो गम्भीर ध्यानाकर्षण जनाएको हो ।

‘भदौ ११ गते विराटनगर स्थित ओबी मिडिया प्रालिको अनलाइन प्रकाशन अवरबिराटनगर डट नेटलाई ब्लक गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ । भदौ ११ गते विराटनगरस्थित क्लासिक टेकको सेवा केन्द्रमा सेवाग्राहीले तालाबन्दी गरेको समाचार प्रकाशन गरेको विषयलाई लिएर उक्त अनलाइन ब्लक गरिएको महासंघले जनाएको छ ।

समाचार प्रकाशनको विषयलाई लिएर इन्टरनेट सेवाप्रदायक निजी कम्पनीले सञ्चार माध्यमलाई नै प्रतिबन्ध लगाउने कार्य कानून विपरित तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको ठहर गरिएको छ । अनलाइनमा प्रकाशित समाचार बारे चित्त नबुझे कानुनी उपचार खोज्न पाउने अधिकार रहेको स्पष्ट पार्दै महासंघले सञ्चार माध्यमलाई नै ब्लक गर्नु अनुचित भएको विज्ञप्तिमा उल्लेख छ ।

‘महासंघ यस्ता कार्य नदोहोर्‍याउन र तत्काल प्रतिबन्ध हटाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ,’ नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ । साथै क्लासिक टेकलाई कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई आग्रह समेत गरिएको छ ।

नेपाल पत्रकार महासंघको केन्द्रिय समितिसँगै १ नम्बर प्रदेश समिति विराटनगर र नेपाल पत्रकार महासंघ मोरङ शाखाले समेत क्लासिक टेकको उक्त कार्यको विरुद्ध छुट्टा छुट्टै विज्ञप्ति जारी गरेका छन् ।  तर कम्पनीले उल्टै ‘क्लासिक टेकको विराटनगर कार्यालयमा सेवाग्राहीद्वारा तालाबन्दी’ शीर्षकमा अवरविराटनगर डटनेटले कम्पनीलाई बद्नाम गराउने उद्देश्यका साथ समाचार प्रकाशन गरेको आरोप लगाएको छ ।

‘व्यक्तिगत स्वार्थसँग जोडेर अतिरञ्जित गरिने कार्यले हामीलाई दुखित तुल्याएको छ,’ क्लासिक टेकको पब्लिक रिलेसन डीजीएम सुशीलसिँह थापाले महासङ्घ विराटनगर शाखाको ध्यानाकर्षण गराउँदै लेखेको पत्रमा उल्लेख छ । उक्त समाचार एकपक्षीय रुपमा प्रकाशित भएको भन्दै कम्पनीले संस्थाको मानमर्दन हुने उक्त समाचार हटाउन लगाई खण्डन समेत गर्न आग्रह गरेको छ ।

‘यस्ता भ्रमपूर्ण र अतिरञ्जित समाचार प्रकाशन र प्रसारण गरिनु अघि सम्बन्धित संस्था र व्यक्तिलाई बुझ्नुपर्ने पत्रकारिताको सामान्य धर्म समेत निर्वाह गर्न नसक्ने र स्वार्थपूर्तिका लागि अनर्गल प्रचार गर्ने व्यक्ति र सञ्चार माध्यम प्रति खेद प्रकट गर्दछौँ,’ कम्पनीको पत्रमा भनिएको छ । ‘यस्तो भ्रामक समाचार आगामी दिनमा प्रकाशन र प्रसारण नगर्न समेत सम्बन्धित पक्षसँग आग्रह गर्दछौँ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१