close

आईफोनको फोटो स्क्यानिङ फिचर स्थगित

टेकपाना टेकपाना

भदौ १९, २०७८ १६:५६

आईफोनको फोटो स्क्यानिङ फिचर स्थगित

काठमाडौं । आलोचना बढेपछि आईफोनमा इमेज स्क्याकिङ गर्ने फिचर दिने एप्पलको योजना तत्काल कार्यान्यनमा नआउने भएको छ ।बालबालिकामाथि हुने यौन दुर्व्यवहारलाई निगरानी गर्न आईफोनमा इमेज स्क्यानिङ गर्ने कम्पनीको योजनाविरूद्द विभिन्न सरोकारवालाले विरोध गरेका थिए ।

एक महिनाअगाडि नै कम्पनीले यो फिचर लागू गर्न तयार भइसकेको बताएको थियो । अब भने यो टुललाई थप व्यवस्थित गरेर मात्र सार्वजनिक गर्ने उल्लेख गरेको छ ।

उक्त फिचरमा बालबालिकामाथि हुने यौन दुर्व्यवहार सम्बन्धी तस्वीरहरू आईफोनबाट खिचेमा सो फोटो आईक्लाउडमा स्टोर हुनुअगाडि इमेज स्क्यानिङ फिचरले पत्ता लगाउने व्यवस्था थियो ।

त्यस्तै प्रयोगकर्ताले पठाएका अश्लील म्यासेजहरू पत्ता लगाउने फिचर पनि सार्वजनिक गर्ने कम्पनीको योजना थियो । प्रयोगकर्ताको गोपनीयतालाई ध्यानमा राख्दै यो फिचर लागू गर्ने एप्पलले दाबी समेत गरेका थियाे ।

यद्यपि सुरक्षा विज्ञ, मानव अधिकारकर्मी, प्रयोगकर्ता लगायतका सरोकारवालाले एप्पलको यो योजनाको विरोध गरेका थिए । यो फिचरले प्रयोगकर्ताको व्यक्तिगत र संवेदनशिल सूचना बाहिरिन सक्नेभन्दै सरोकारवालाले एप्पलको विरोध गरेका थिए ।

‘हाम्रा ग्राहक, अनुसन्धानकर्ता लगायत अन्य सरोकारवालाहरूको प्रतिक्रियापछि हामीले इमेज स्क्यानिङ टुललाई थप व्यवस्थित गरेर मात्र सार्वजनिक गर्ने सोचसहित हाललाई यसको सार्वजनिकि मिति केही पछाडि धकल्ने निर्णय गरेका छौै,’ कम्पनीले बताएको छ ।

यद्यपि कति समयपछि यो लागू गर्ने भन्ने कम्पनीले जनाएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३