close

प्रहरीको इमर्जेन्सी नम्बरमा १० मिनेटभित्रै प्रतिक्रिया, तर पिन पोइन्ट लोकेसन नहुँदा समस्या

अर्पना आले मगर अर्पना आले मगर

भदौ २०, २०७८ २०:५५

प्रहरीको इमर्जेन्सी नम्बरमा १० मिनेटभित्रै प्रतिक्रिया, तर पिन पोइन्ट लोकेसन नहुँदा समस्या

काठमाडौं । प्रहरी घटना भइसकेपछि मात्र पुग्छ वा प्रहरी भनेकै ढिला पुग्ने हो भन्ने आमजनताको सोचलाई पछिल्लो समय काठमाडौं उपत्यकाको प्रहरीले चिर्दै आएको छ ।

विस्तारित प्रविधिको प्रयोग गरेर प्रहरीले सेवाग्राहीको समस्यालाई १० मिनेटभित्र प्रतिक्रिया दिन सुरु गरेको छ ।

नेपाल प्रहरीले सफ्टवेयरमार्फत १०० मा आएका कलहरूको तत्काल प्रतिक्रिया दिँदै १० मिनेटभित्रै सेवाग्राहीको समस्या वा गुनासाेको प्रतिक्रिया दिइरहेको मेट्रो प्रहरी कन्ट्रोल रुमका प्रहरी निरीक्षक राजु केसी बताउँछन् ।

आकस्मिक नम्बर १०० मा आएको सेवाग्राहीको समस्यालाई सम्बोधन गर्न प्रहरीले हाल प्रयोग गरिरहेको सफ्टवेयरलाई थप व्यवस्थित गर्न केही अपडेट गरिएको छ भने नयाँ एपको पनि निर्माण गरेको छ ।

हाल सञ्चालनमा रहेको सफ्टवेयरभन्दा नयाँमा केही व्यवस्थाहरू परिस्कृत भएको उनको भनाइ छ ।

‘जस्तो पहिलेको सफ्टवेयरमा सेवाग्राहीको परिचय र सम्पर्क नम्बर हाइड गर्ने व्यवस्था थिएन, जुन अहिले प्रयोगमा ल्याइएको छ,’ केसीले भने ।

नयाँ सफ्टवेयरले पनि पुरानो सफ्टवेयरजस्तै काम गर्छ, तर पहिले सफ्टवेयरमा जस्तै गुगल म्यापकै भरमा सेवाग्राहीको लोकेसनमा पुग्न भने समस्या भएको उनले बताए ।

‘सेवाग्राहीले कल गर्ने बित्तिकै उहाँहरूको पिन पोइन्ट लोकेसन भएको खण्डमा हामी सही समयमा सही ठाउँमा पुग्न सक्थ्यौं । यसले विशेष गरी घना बस्ती भएको ठाउँमा सहयोग गर्छ । यसका लागि दूरसञ्चार कम्पनीले हामीलाई पिन पोइन्ट लोकसनको व्यवस्था गरिदिएमा सेवाग्राहीले फोन गर्ने बित्तिकै म्यापमा कुन ठाउँबाट फोन आएको हो, सो ठाउँमा रातो चिन्ह आउँछ । जसको आधारमा हामी सही लोकेसनमा पुग्न सक्छौं,’ उनले भने ।

यस विषयमा दूरसञ्चार कम्पनीहरूसँग पनि समन्वयका लागि काम भइरहेको उनले बताए ।

‘यो व्यवस्था सेवा खोज्ने मान्छेका लागि छिटो सेवा दिन सकियोस् भन्ने सोचसहित माग गरिएको हो । योबाहेक कसैको गोपनीयता भंग हुने गरी फोन नम्बर ट्रयाक गरेर लोकेसनमा जाने भन्ने कुरा हुँदैन,’ उनले भने ।

यससँगै प्रहरीले हाल एउटा एप पनि बनाइसकेको छ । सफ्टवेयरमा समस्या दर्ता हुनेबित्तिकै सम्बन्धित क्षेत्रको प्रहरी वा आसपासको प्रहरीलाई उक्त एपमा नोटिफिकेशन जान्छ र जिम्मेवार क्षेत्रका प्रहरीले सो समस्या एपमार्फत एक्नलेज गर्छ । एक्नलेज भएपछि प्रहरी घटनास्थलमा पुगे/नपुगेको जीपीएस ट्रयाकिङ सिस्टमको आधारमा पत्ता लाग्ने उनले बताए ।

पुरानो सफ्टवेयरमा भने सामन्यतया सेवाग्राहीले फोन गर्ने बित्तिकै प्रहरीको डेटा इन्ट्री सिस्टममा म्याप खुल्छ,जसबाट कुन लोकेसनबाट कल आएको भनेर थाहा पाउन सकिन्छ । फोन उठाउने प्रहरीले सेवाग्राहीको अनुरोध अनुसार कुन स्थानमा प्रहरी आवश्यक परेको हो, सो ठाउँको लोकेसन उक्त म्यापमा इन्ट्री गर्छ । यति गरेपछि इन्सिडेन्ट इन्ट्री फर्म खुल्छ । सो फर्ममा प्रहरीले सेवाग्राहीको आवश्यक विवरण भरेर सफ्टवेयरमा समस्या दर्ता गर्छ ।

‘हाल समस्यालाई हामीले एसएमएस, कल ट्रान्सफर र डेस्क रिपोर्टिङबाट रेस्पोन्स गरिरहेका छौं,’ उनले भने, ‘कन्ट्रोल रुमबाट समस्या हेरी सम्बन्धित क्षेत्रको प्रहरीलाई परिचालन गर्न एसएमएस पठाइन्छ अथवा रेडियो सेट मार्फत प्रहरी परिचालन गरिन्छ । अथवा सामान्य समस्या भएको खण्डमा रिपोर्टिङ गर्ने छुट्टै डेस्क हुन्छ त्यसमा कन्ट्रोल रुमले कल फर्वाड गरिदिन्छ ।’

उनले अगाडि भने, ‘हुन त रेस्पोन्स टिम पहिले नै गइससकेको हुन्छ तर डेस्कले पीडितलाई कल ब्याक गरेर समस्याको संवेदनशिलतालाई बुझेर त्यो अनुसारको प्रहरी अथवा अन्य कुनै सहयोग घटनास्थलमा खटाउछ ।’

उनका अनुसार इन्सिडेन्ट इन्ट्री फर्मको होम पेजमा चारवटा रङहरू हुन्छ, जसले समस्या इन्ट्री भएको, प्रहरी परिचालन भएको, प्रहरी घटनास्थलमा पुगेको र प्रहरीले घटनाको पहिचान गरी आफ्नो जिम्मामा लिएको क्रमश: राताे, पहेलो, निलो र हरियो रङले जनाउँछ ।

समस्या सुरुमा दर्ता गर्दा उक्त डाटामा रातो रङ हुन्छ । त्यसपछि रेडियो सेटबाट प्रहरी परिचालन हुन्छ र सो परिचालन भएको समय सफ्टवेयरमा कन्ट्रोल रुमले हालिदिन्छ ।

त्यसपछि त्यो पहेलो रङको हुन्छ । प्रहरी घटनास्थलमा पुग्यो भन्ने खबर आएपछि उक्त डाटा निलो रङ भएर आउँछ र घटनाको पहिचान गरी प्रहरी एक्शन लिएपछि त्यो हरियो हुन्छ र कन्ट्रोल रुमको काम सकिन्छ ।

‘आजसम्म १०० बाट कल आउँदा प्रहरी परिचालन भएन भन्ने गुनासो आएको छैन । तर प्रहरी ढिला पुग्ने कुरामा धेरै कारण हुन सक्छ जस्तै ट्राफिक जाम, टाढाको गन्तव्य लगायत कुराले १० मिनेट भित्रै प्रहरी घटनास्थलमा नपुग्न सक्छ । यद्यपि १०० मा गरिएको फोनमा सात देखि १० मिनेट भित्र नै रेस्पोन्स टोली पुगिसकेको हुन्छ,’ उनले बताए ।

उनका अनुसार सो सफ्टवेयरमा प्रहरी खटाइएको समय र टोली घटनास्थलमा पुगेको समय समेत रेकर्ड हुन्छ भने कन्ट्रोल रुममार्फत रेडियो सेटबाट पुगे/नपुगेको पनि फलोअप भइरहन्छ । धेरै समय पछि पनि कसैलाई प्रतिक्रिया भएन भन्ने गुनासो आयो भने पुरानो डेटा हेरेर सो घटनाको विवरण लिन सकिन्छ ।

कन्ट्रोल रुममा १०० का इमर्जेन्सी लाइनहरू हुन्छन् जसमध्ये काठमाडौंको हकमा एनटिसिको १२ वटा, एनसेलको पाँच वटा र एउटा स्मार्टसेलको लाइन छन् ।  नेपाल बन्द लगायत अन्य कुनै दुर्घटना र सोधपुछका कलहरू बढी आएर व्यस्त भएका फोनहरू बाहेक अन्य कुनै पनि बेला १०० अन्तर्गतका फोनहरू व्यस्त नहुने उनले बताए ।

काठमाडौंबाहेक अन्य जिल्लामा जुनसुकै मोबाइल नेटवर्कबाट सेवाग्राहीले फोन गरे पनि एउटै फोनमा कल जाने व्यवस्था गरिएको उनको भनाइ छ। कहिले काहिँ मोबाइल फोन सेटकै समस्याले गर्दा पनि १०० मा फोन नलाग्ने समस्या भने हुनसक्ने उनले बताए ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३