close

सडकमा अव्यवस्थित तार, दुर्घटना निम्तिए को जिम्मेवार ?

मेनुक्श मेनुक्श

भदौ २१, २०७८ १९:१८

सडकमा अव्यवस्थित तार, दुर्घटना निम्तिए को जिम्मेवार ?

काठमाडौं । केहि दिनअघि बबरमहलको एक बिजुलीको पोलमा आगलागी भयो । उक्त पोलमा जडित तारहरू केही जलेका छन् त केही अहिलेसम्म पनि अव्यवस्थित रुपले सडकमा छरपष्ट छन् ।

यस्ता घटनालाई सबैले स्वभाविक रुपमा लिने गरेको पाइन्छ । पोलमा आगो लागेर एउटा घटना त निम्तिसक्यो, तर अनियन्त्रित तारहरूले अर्को घटना सिर्जना हुने जोखिम कायमै छ ।

काठमाडौं उपत्यकामा अहिले दिनहुँ कम्तिमा पनि दुईवटा पोलमा आगो लाग्ने गरेको छ । तर घटनाकाे सही कारण पत्ता लगाउन समेत अप्ठ्याराे हुन थालेकाे इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) का अध्यक्ष सुधीर पराजुली बताउँछन् ।

‘तार सट भएर आगो लागेको भनिएको भएपनि ठ्याक्कै कारण यही हो भनेर छुट्याउन घटनास्थलमै गएर अनुगमन गर्दा पनि थाहा नहुने अवस्था छ,’ उनले भने ।

सार्वजनिक स्थलमा घट्ने यस्ता प्रवृतिका घटना न्यूनीकरणका लागि सरकारसँग समन्वय गरी जमिनमुनीबाट तार जडान गर्ने तयारी भइरहेको पराजुलीले बताए ।

आगलागीको जानकारी आएपछि आईस्पानका तर्फबाट जडान भएका तारहरू लिएर गएको भएपनि बाँकी तारहरू अझै अलपत्र छन् ।

यसमा नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण र जिल्ला प्रशासन कार्यालयले पनि उचित भूमिका खेलेकाे पाइँदैन ।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेल अव्यवस्थित तारको विषयमा सम्बन्धित सेवाप्रदायक नै जिम्मेवार हुनुपर्ने धारणा राख्छन् ।

उनी भन्छन्, ‘यस्ता विषयहरू देखिइरहने भएपनि आधिकारिक सूचना प्राप्त नभएसम्म यस विषयमा कुनै एक्सन लिन सकिँदैन । सम्बन्धित सेवाप्रदायक कम्पनीले नै यसको जिम्मा लिनुपर्ने हो ।’

तारमा अल्झिएर पैदल यात्रु तथा मोटरसाइकल तथा सवारीसाधन दुर्घटनामा पर्ने सम्भावना छ । घटनाको प्रवृति हेर्दा सडक र विद्युतसँगै अन्य सेवाप्रदायक कम्पनीहरू यस घटनासँग सम्बन्धित रहेको देखिन्छ ।

अर्काेतर्फ जिल्ला प्रशासन कार्यालयले पनि केही समयअघि अव्यवस्थित तार हटाउन सक्रियता देखाएपनि पछिल्लाे समय उसकाे उपस्थिति कमजाेर छ ।

यसरी जिम्मेवार निकायबीच आपसी समन्वय नहुँदा सहरी सौन्दर्य गुम्नुका साथै जटिल समस्या निम्तिने खतरा बढिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५