close

एमडीएमएसमा थपियो इम्पोटर मोड्युल, मोबाइल आयातकर्तालाई दर्ता गर्न आग्रह

टेकपाना टेकपाना

भदौ २२, २०७८ १५:४४

एमडीएमएसमा थपियो इम्पोटर मोड्युल, मोबाइल आयातकर्तालाई दर्ता गर्न आग्रह

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले गत साउनदेखि अनधिकृत मोबाइल नियन्त्रण गर्न मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याएको छ ।

सिस्टम सञ्चालनमा आएता पनि आईएमईआई दर्ताभन्दा बाहेक अन्य काम सुरु हुन सकेको छैन । सर्भर सिस्टम तयार नभएको, कतिपय सामान अझै विदेशबाट आउनै बाँकी रहेकाले आईएमईआई नम्बर दर्ता नभएका मोबाइल नचल्ने बनाउन सक्नेगरी सिस्टमले काम गरेको छैन ।

केही समयअघि बसेको दूरसञ्चार प्राधिकरण, भन्सार विभाग, मोबाइल आयात संघका प्रतिनिधिसहितको बैठकले एमडीएमएस अन्तर्गत आयात मोड्युल (मोबाइल आयातकर्ताको सिस्टममा पाउने पहुँचको विषय) यही भदौ १५ गतेभित्र सञ्चालनमा ल्याउन निर्देशन दिएको थियो ।

त्यसैका आधारमा प्राधिकरणले अघिल्लो साताबाट आयात मोड्युल सञ्चालनमा ल्याएको छ । एमडीएमएस सिस्टममा नियामकसँगै भन्सार, प्रहरी, मोबाइल सेवाप्रदायक र आयातकर्ता कम्पनीको पहुँच हुनेछ ।

त्यसमध्ये आयात मोड्युल सञ्चालनमा आएको हो । यसअघि सिस्टममा भन्सार कार्यालयको पहुँच भने स्थापित भइसकेको छ ।

अब भने नेपालमा मोबाइल आयात गर्ने आयातकर्ताहरूको उक्त सिस्टममा पहुँच हुनेछ । जसमार्फत उनीहरूले आफूले आयात गरेको मोबाइलको आईएमईआई दर्ता तथा स्वीकृतिका काम गर्नसक्ने प्राधिकरणले जनाएको छ ।

त्यसका लागि व्यवसायिक मोबाइल आयातकर्ताले भीपीएन क्लाइन्ट प्रयोग गरी प्रणालीमा पहुँच स्थापित गर्न सक्ने जनाइएको छ ।

यदि त्यसरी प्रणालीमा पहुँच स्थापित गर्दा कुनै समस्या आएको खण्डमा प्राधिकरणमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५