close

महेन्द्रशालिक र ज्ञानेश्वर ओरालोमा जोडियो डिजिटल ट्राफिक लाइट

टेकपाना टेकपाना

भदौ २५, २०७८ १४:४१

महेन्द्रशालिक र ज्ञानेश्वर ओरालोमा जोडियो डिजिटल ट्राफिक लाइट

काठमाडौं । काठमाडौंको महेन्द्रशालिक र ज्ञानेश्वर ओरालो चोकमा डिजिटल ट्राफिक लाइट जडान गरिएको छ । ट्राफिक प्रहरी महाशाखाले एनसेलसँग समन्वय गरी दरबारमार्गको महेन्द्रशालिक र कामना सेवा विकास बैंकको सहयोगमा ज्ञानेश्वर ओरालोमा नयाँ ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याइएको हो ।

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ यस्तो लाइट राख्न थालिएको बताइएको छ । नयाँ जडान गरिएको महेन्द्रशालिक चोकको ट्राफिक लाइट महाशाखाका प्रमुख एसएसपी जनक भट्टराई र एनसेलका सुरक्षा प्रमुख सम्पत अर्यालले स्विच अन गरी संयुक्त रूपमा उद्‍घाटन गरे ।

त्यस्तै नक्साल भगवतीको ट्राफिक लाइट एसएसपी भट्टराई र बैंकका सीईओ प्रवीन बस्नेतले गरेका हुन् । एसएसपी भट्टराईले उपत्यकाको सवारी चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिँदै आएको बताए ।

‘हामी ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने अभियानमा छौ,’ उनले भने, ‘यसका लागी विभिन्न निकायहरूसँग निरन्तर समन्वय र सहकार्य गर्दै आइरहेका छौं ।’ जडान भएका नयाँ ट्राफिक लाइट त्यसैको परिणाम भएको र आगामी दिनमा अन्य चोकहरूमा समेत ट्राफिक लाइट राख्न हातेमालो गर्ने योजना समेत रहेको भट्टराईले बताए ।

उनले अगाडि भने ‘प्रविधिमार्फत सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताको आवागमन सहज हुनुका साथै सडक अनुशासन र सडक सभ्यता झल्किने हुँदा यसलाई प्रमुख प्राथमिकतामा राखिएको हो ।’

ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउदै दुर्घटना न्यूनिकरणको लागी आगामी दिनमा अन्य चोकहरूमा समेत डिजिटल ट्राफिक लाइट जडान गर्न विभिन्न निकायसँग समन्वय एव सहकार्य भैरहेको महाशाखाले जनाएको छ । ट्राफिक लाइट सञ्चालनमा आएका चोकहरूमा लाइटको पूर्ण पालना गरिदिन सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले अनुरोध समेत गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५