close

ई-टेन्डरका लागि सहज प्लेटफर्म बनाउँदै मेरो जब डटकम

टेकपाना टेकपाना

भदौ २६, २०७८ १२:४१

ई-टेन्डरका लागि सहज प्लेटफर्म बनाउँदै मेरो जब डटकम

काठमाडौं । रोजगारी खोज्ने र रोजगारी दिनेलाई सहज गर्न अनलाइन माध्यम सुरु गरेको मेरो जब डटकमले टेन्डरको प्रक्रियाका लागि पनि अनलाइन माध्यम सुरु गरेको छ ।

ई-टेन्डरका लागि आफ्नै प्रयोगकर्ताहरूबाट माग धेरै आउन थालेपछि यो सेवा सुरु गरेको कम्पनीको भनाइ छ । मेरो जब डटकमले गत तीन वर्षदेखि मेरो जबकै साइटमा एउटा स्पेस दिएर ‘रिसेन्ट टेन्डर’ शीर्षक अन्तर्गत विभिन्न संस्थाहरूले आह्वान गरेको टेन्डरको सूचना राख्ने गरेको छ ।

यद्यपि आफूहरूको योजना वृहत रहेको कम्पनीका विभागीय प्रमुख अभिषेक भक्त श्रेष्ठले बताए ।

‘हाम्रो आफ्नै क्लाइन्टहरूबाट धेरै माग आएपछि तीन वर्षअगाडि हामीले यो सेवा औपचारिक रुपमा सुरु गरेका हौं । सेवा सुरु गरेको एक वर्षसम्म हामी पहिलो चरणमा नै काम गरिरहेका थियौं । यद्यपि पछि कोरोना महामारीसँगै यो सेवालाई विस्तार गर्ने योजनामा केही प्रभाव पर्न गयो,’ उनले भने ।

यो सेवालाई विस्तार गर्न कम्पनी दीर्घकालीन योजना सहित अगाडि बढिरहेको उनले बताए । हाललाई भने कम्पनीले सूचना मात्र जारी गर्ने गरेको छ । सम्बन्धित संस्थाको टेन्डर आह्वानको सूचना मात्र साइटमा पोस्ट हुन्छन् । 

आगामी दिनमा भने टेन्डरका लागि छुट्टै साइट बनाएर अगाडि बढ्ने कम्पनीको योजना छ ।

‘टेन्डरको लागि एउटा छुट्टै वेबसाइट नै बनाएर अगाडि बढ्ने योजना अनुरूप हामी काम गरिरहेका छौं,’ उनले थपे, ‘पूर्ण रुपमा यो सेवा सञ्चालनमा आइसकेपछि भने टेन्डर आह्वानदेखि कम्पनी छनौट लगायतका काममा हामी सहयोग गर्नेछौं ।’ 

हाललाई यसरी टेन्डरको सूचना धेरैजसो गैरसरकारी संस्था र अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरूले धेरै दिने गरेको उनले बताए ।

केही बैंक तथा सार्वजनिक संस्थाहरूले पनि टेन्डरको सूचना मेरो जबमार्फत दिए पनि सरकारी नीतिका कारण पत्रिकामा पनि सूचना दिनुपर्ने भएकाले यस्तो संस्थाहरूको सहभागिता कम रहेको उनको भनाइ छ ।

ई-टेन्डर सेवाले ठूला कम्पनीहरू मात्र होइन, साना कम्पनीहरू अथवा स्टार्टअप कम्पनीहरूलाई पनि धेरै सहज हुने उनले बताए । 

‘अहिले धेरै स्टार्टअपहरू आइरहेका छन् । टेन्डरको अर्थ नै आफूलाई आवश्यक सेवा कसले सबैभन्दा राम्रोसँग दिनसक्छ उसैलाई छान्ने हो । यसर्थ साना कम्पनीहरूले पनि आफ्नो कम्पनीको विभिन्न कामहरूको लागि टेन्डर आह्वान गरेर आफ्नो लागि राम्रो सेवाप्रदायक छान्न सक्छन्,’ उनले भने ।

यसले सेवा पारदर्शी बनाउनुका साथै प्रतिस्पर्धात्मक मूल्यमा राम्रो सेवा उपलब्ध गराउने दाबी गर्दै उनले सबै कामहरू अनलाइनमार्फत बिना कुनै झन्झट सम्पन्न गर्न सकिने बताए ।

रोजगार खोज्ने र रोजगार दिनेहरूको बीचमा सिर्जना गरेको इकोसिस्टम जस्तै कम्पनी र भेन्डरको बीचमा पनि इकोसिस्टम बनाउने कम्पनीको सोच रहेको छ ।

श्रेष्ठका अनुसार आउने दिनमा कम्पनी र भेन्डरको आ-आफ्नो फरक फरक अकाउन्ट हुनेछन् । यसरी आ-आफ्नो अकाउन्ट खोलेर कम्पनीले टेन्डर आह्वान गर्न सक्छन् भने भेन्डरले आफ्नो अकाउन्टबाट टेन्डरको लागि आवेदन दिन लगायत अन्य प्रकृया साइटबाट नै दिन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५