close

टेलिकमको ल्यान्डलाइन प्रयोग घटेको घट्यै

टेकपाना टेकपाना

भदौ २७, २०७८ १७:२१

टेलिकमको ल्यान्डलाइन प्रयोग घटेको घट्यै

काठमाडौं । नेपाल टेलिकमको ल्यान्डलाइन टेलिफोनको प्रयोग लगातार रुपमा घट्दै गएको छ । टेलिफोनसहित इन्टरनेट र टेलिभिजन एउटै तारबाट समेत उपलब्ध गराउन थालिएको ल्यान्डलाइन सेवाको प्रयोग भने ओह्रालो लागेको लाग्यै भएको हो ।

हाल कम्पनीले एउटै फाइबरबाट इन्टरनेट, ल्यान्डलाइन सेवा दिन थालेको छ । यति मात्र होइन, यस्तो ल्यान्डलाइन सेवामा रेन्टल चार्ज समेत हटाइएको छ । यसको अर्थ परम्परागत पीएसटीएन ल्यान्डलाइन सेवामा जस्तो प्रयोग नगरेपनि मासिक शुल्क तिर्नुपर्ने बाध्यता यसमा छैन ।

सामान्य रुपमा प्रिपेड मोबाइल प्रयोग गरेजस्तै रिचार्ज गरेरै यो सेवा प्रयोग गर्न सकिन्छ । त्यसैले फाइबर इन्टरनेट जडान गर्ने ग्राहकले ल्यान्डलाइन टेलिफोन सेवा समेत लिने अपेक्षा कम्पनीले गरेको हो ।

यति मात्र होइन, ल्यान्डलाइन सेवाको प्रयोग बढाउन कम्पनीले आकर्षक अफर र प्याकेज समेत  ल्याइरहेको छ । त्यसका बावजुत यो सेवाको प्रयोग बढाउन भने कम्पनी असफल देखिएको छ ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो प्रतिवेदन अनुसार नेपाल टेलिकमको ल्यान्डलाइन सेवामा पाँच लाख ६३ हजार ४६५ ग्राहक मात्र बाँकी छन् । जब कि तीन वर्षअघि यो सेवामा छ लाख ८६ हजार ७६२ ग्राहक जोडिएका थिए ।

त्यसयताका वर्षमा ग्राहक संख्या क्रमशः छ लाख ७७ हजार १२८ हुँदै गत वर्ष छ लाख ६४ हजार ३४२ मा सीमित भएको थियो । नेपालमा यस किसिमको सेवा दिने टेलिकम एक्लो कम्पनी हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१