close

गुगल प्ले स्टोरका १९ हजार एप असुरक्षित, जसले चोर्दैछन् तपाईंको गोप्य विवरण

टेकपाना टेकपाना

भदौ २७, २०७८ १७:५२

गुगल प्ले स्टोरका १९ हजार एप असुरक्षित, जसले चोर्दैछन् तपाईंको गोप्य विवरण

काठमाडौं । एन्ड्रोइड स्मार्टफोनका लागि एप्लिकेसन डाउनलोड गर्ने सबैभन्दा सुरक्षित स्रोतका रूपमा गुगल प्ले स्टोरलाई लिइन्छ । तर प्ले स्टोरमा सूचीकृत भएका हजारौं एपहरूले स्मार्टफोनको सुरक्षालाई खतरामा पारिरहेको तथ्य फेला परेको छ ।

साइबर सुरक्षा कम्पनी अभास्टले गुगल प्ले स्टोरमा भएका १९ हजारभन्दा बढी एप असुरक्षित रहेको पत्ता लगाएको हो । ती एप्लिकेसनले प्रयोगकर्ताको व्यक्तिगत विवरणमाथि पहुँच लिएको र जुनसुकै बेला सार्वजनिक गर्नसक्ने खतरा रहेको अभास्टको जनाएको छ ।

अभास्टका अनुसार फायरवेस डेटाबेसमा देखिएको कमजोरीका कारण त्यस्ता एपले प्रयोगकर्ताको व्यक्तिगत विवरण सार्वजनिक गरिरहेका छन् । फायरबेस डेटाबेस एन्ड्रोइड डेभलपरले प्रयोगकर्ताको जानकारी संकलन गर्ने एउटा टुल हो ।

यस्ता असुरक्षित एपबाट प्रयोगकर्ताको नाम, ठेगाना, जन्ममिति, लाेकेसन र पासवर्डसमेत बाहिरिन सक्छ । डेभलपरसँग कुरा गरी उचित कदम चाल्न अभास्टले गुगललाई सूचित गराएको छ ।

यस्तो कमजाेरी लाइफस्टाइल, वर्कआउट, गेमिङ, मेल, फुड डेलिभरी र अन्य विधाका मोबाइल एपमा पाइएको अभास्टको अध्ययनमा उल्लेख छ । अध्ययनअनुसार यो समस्या विश्वव्यापी रूपमा देखिएको छ ।

अभास्ट थ्रेट ल्याबले एक लाख ८० हजार ३०० फायरबेसमा आधारित एप गरेको सर्वेक्षणमा १० प्रतिशत एपमा समस्या देखिएको हो ।

डेभलपरहरूको गलत कन्फिगरेसनका कारण प्रयोगकर्ताहरूको विवरण बाहिरिएको निष्कर्ष अध्ययनले निकालेको छ । यसरी व्यक्तिगत विवरणहरू सजिलै चोरी हुनसक्ने हुँदा एन्ड्रोइड एपका प्रयोगकर्ताहरू संवेदनशील खतराको दायरामा छन् ।

यी एपले महत्वपूर्ण व्यवसाय, कानूनी र नियामक निकायमा जोखिम निम्त्याउन सक्ने अभास्टका मालवेयर अनुसन्धानकर्ता भ्लादिमिर मार्टियानोभले बताएका छन् ।

असुरक्षित एपहरूबाट सुरक्षित रहने उपाय:

  • गुगल प्ले स्टोरबाट एप्लिकेसन डाउनलोड गर्दा एप्लिकेसनको सम्पूर्ण विवरण जाँच गर्ने । 
  • सुरक्षित छ भन्ने महसुस नभएसम्म यस्ता एप डाउनलोड नगर्ने ।
  • असुरक्षित एपहरूको विवरण राम्रोसँग नलेखिएको हुन्छ, तसर्थ नाममा समेत ध्यान दिने, स्पेलिङ गलत पर्नसक्छ । 
  • कुनै भुक्तानीबिना नै रिवार्डको प्रस्ताव गर्ने एपहरूलाई विश्वास नगर्ने ।
  • एप डाउनलोड गर्नुअघि अन्य प्रयोगकर्ताले गरेको रिभ्यु हेर्ने ।
  • एपको अनुमतिमा विशेष ध्यान पुर्याउनुपर्छ । एपलाई व्यक्तिगत विवरण बाहिरिन सक्ने अनुमति नदिने ।
  • मोबाइलमा विश्वासीलो एन्टिभाइरस सफ्टवेयरको प्रयोग गर्ने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१