close

पैसाको बलमा मृत्यु टार्न चाहन्छन् बेजोस !

टेकपाना टेकपाना

भदौ २८, २०७८ १४:२३

पैसाको बलमा मृत्यु टार्न चाहन्छन् बेजोस !

काठमाडौं । अमेजन संस्थापक तथा पूर्वसीईओ जेफ बेजोस ‘एन्टी एजिङ’ अर्थात् बुढ्यौली कम गर्नुसँग सम्बन्धित स्टार्टअप कम्पनीहरूमा लगानी गर्ने अर्बपतिको सूचीमा आएका छन् ।

एमआईटी टेक रिभ्युको एक रिपोर्ट अनुसार ‘एन्टी एजिङ’ प्रविधिको विषयमा थप अध्ययन तथा अनुसन्धान गर्नका लागि एउटा नयाँ कम्पनी एट्लस ल्याब सञ्चालनमा आएको छ, जसमा बेजोसको लगानी रहेको छ ।

दुई महिनाअगाडि मात्र बेजोस आफ्नो रुचिका अन्य क्षेत्रमा काम गर्ने बताउँदै अमेजनको सीईओ पदबाट बाहिरिएका थिए ।

आफ्नो व्यवसायको दायरालाई अझ फराकिलो बनाउन बेजोसले आफ्नो लगानी संस्था ‘बेजोस एक्सपिडिसन’ मार्फत अन्य व्यवसायमा पनि लगानी गरिरहेका छन् ।

अन्य धनाढ्य व्यक्तिहरू जस्तै ल्यारी पेज, पिटर थिल, ल्यारी एलिसन लगायतले पनि एन्टी एजिङ अनुसन्धानमा लगानी गरेका छन् ।

गत वर्ष बेजोस र थिलले युनिटी टेक्नोलोजी नामक एक कम्पनीमा लगानी गरेका थिए, जसले एन्टी एजिङ थेरापीमा काम गरिरहेका छन् ।

पछिल्लो समयमा विश्वका धनाढ्य व्यक्तिहरूको ध्यान ‘एन्टी एजिङ’ प्रविधितिर केन्द्रित भइरहेको छ । सायद संसारमा मृत्युमात्र एउटा यस्तो चिज हो, जसलाई पैसाले जित्न सकेको छैन अथवा अहिलेसम्म जित्न सकेको छैन ।

यद्यपि पुरा उद्याेगलाई नै हल्लाउन सक्ने बेजोस जस्तो व्यक्तिलाई पैसाले आफ्नो बुढ्यौली रोक्न सक्नुपर्छ भन्ने भावना आउनु स्वाभाविक हो ।

बेजोस आफ्नो व्यक्तित्वलाई लिएर निकै नै सचेत भएको देखिन्छ । पछिल्लो कम्पनी एटलस ल्याबको विषयमा धेरै जानकारी बाहिर आइसकेको छैन ।

यद्यपि एमआईटी टेक रिभ्युका अनुसार वैज्ञानिकहरूलाई वार्षिक १० लाख अमेरिकी डलर अर्थात ११ करोड ७७ लाख रुपैयाँ तलब दिएर काममा राखिएकाे छ र निरन्तर अनुसन्धान भइरहेकाे छ ।

कम्पनीले आफ्नो अनुसन्धान केन्द्र क्यालिफोर्निया, बेलायत र जापानमा खोल्ने योजना बनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१