close

साइबर सुरक्षा अडिट बुझाउन अटेर गर्दै सेवाप्रदायक, कारबाहीको तयारीमा प्राधिकरण

टेकपाना टेकपाना

भदौ २८, २०७८ २०:२

साइबर सुरक्षा अडिट बुझाउन अटेर गर्दै सेवाप्रदायक, कारबाहीको तयारीमा प्राधिकरण

काठमाडौं । दूरसञ्चार क्षेत्रका सेवाप्रदायकले नियामकको निर्देशन अवज्ञा गर्दै साइबर सुरक्षा अडिट नबुझाएको पाइएको छ ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले विनियमावली तयार पारी साइबर सुरक्षा अडिट अनिवार्य गरेको भएता पनि सेवाप्रदायकहरूले भने त्यसको अवज्ञा गरेका छन् ।

यसअघि प्राधिकरणले ‘साइबर सुरक्षा विनियमावली २०७७’ जारी गरेको थियो । साइबर सुरक्षाको विषय संवेदनशील बन्दै गएपछि प्राधिकरणले दूरसञ्चार सेवाप्रदायकलाई लक्षित गर्दै यो विनियमावली ल्याएको थियो ।

विनियमावलीमा दूरसञ्चार सेवाप्रदायकले वर्षको दुईपटक नियामक निकायलाई अनिवार्य रुपमा सुरक्षा अडिट पेस गर्नुपर्ने प्रावधान छ ।

त्यतिमात्रै नभएर विनियमावली अनुसार सेवाप्रदायकले तीन/तीन महिनामा आन्तरिक सुरक्षा अडिट गर्नुपर्ने प्रावधान समेत राखिएको छ ।

त्यस्तै वर्षको दुईपटक अर्थात् हरेक ६ महिनामा प्राधिकरणमा सुरक्षा अडिट पेस गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

विनियमावली अनुसार सेवाप्रदायकले हरेक वर्षको अन्त्यमा प्राधिकरणले तोकेको सुरक्षा अडिटरमार्फत सुरक्षा अडिट गराई प्रतिवेदन पेस गर्नुपर्नेछ ।

त्यो हिसाबले गत असार मसान्तसम्म टेलिफोन तथा इन्टरनेट सेवाप्रदायक कम्पनीहरूले साइबर सुरक्षा अडिट बुझाउनुपर्ने हो । तर, उक्त अवधिमा तीन कम्पनीले मात्रै साइबर अडिट बुझाएका छन् ।

बुझाएका कम्पनीले पनि अपुरो अडिट बुझाएको पाइएको छ । प्राधिकरणका अनुसार इन्टरनेट सेवाप्रदायक कम्पनीमध्ये सुबिसु केबल नेट र भायानेटले मात्रै साइबर सुरक्षा अडिट बुझाएका छन् ।

उनीहरूले पनि बाह्य अडिट मात्रै बुझाएको पाइएको छ । तर, विनियमावलीमा सेवाप्रदायकलाई अनिवार्य रुपमा आन्तरिक तथा बाह्य अडिट बुझाउनुपर्ने प्रावधान राखिएको छ ।

त्यस्तै टेलिफोन सेवाप्रदायकतर्फ हालसम्म एनसेलले मात्रै साइबर सुरक्षा अडिट बुझाएको छ । तर उसले आन्तरिक अडिटमात्रै बुझाएको छ ।

ऐन/नियमावलीमै तोकिएको विषयलाई पनि सेवाप्रदायकले अटेर गरेसँगै अब भने सेवाप्रदायकसँग स्पष्टीकरण सोध्ने तयारी गरेको प्राधिकरणका निर्देशक विजयकुमार रोयले बताएका छन् ।

अब सेवाप्रदायकबाट आएको जवाफका आधारमा प्राधिकरणले आवश्यक कारबाहीको लागि प्रक्रिया अघि बढाउने बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१