close

फोन गर्न र फोटो खिच्न मिल्ने सुविधासहित साओमीको नयाँ चश्मा सार्वजनिक

टेकपाना टेकपाना

भदौ २९, २०७८ १२:३७

फोन गर्न र फोटो खिच्न मिल्ने सुविधासहित साओमीको नयाँ चश्मा सार्वजनिक

काठमाडौं । साओमीले वेयरेबल डिभाइसमा सोसल मिडिया जायन्ट फेसबुकलाई चुनाैती दिँदै स्मार्ट ग्लास सार्वजनिक गरेको छ ।

अघिल्लो सातामात्रै फेसबुकले रेबनसँगको सहकार्यमा स्मार्ट ग्लास सार्वजनिक गरेकाे थियाे । त्यसकाे केही दिनपछि नै चिनियाँ ब्राण्ड साओमीले आफ्नो प्रडक्ट प्रस्तुत गरेको छ ।

हुन त साओमीले ल्याएकाे स्मार्ट ग्लाससँग फेसबुकको जस्तो फोटो तथा भिडिओ खिच्न दुईवटा क्यामेरा छैन । ५ मेगापिक्सेलको एउटा क्यामेरायुक्त ग्लासको स्क्रिनमा मोबाइलमा आउने नोटिफिकेसन हेर्न, कल गर्न तथा उठाउन र नेभिगेसन हेर्न मिल्छ ।

त्यस्तै तपाईंको आँखाअगाडि रियल टाइममै टेक्स्टलाई ट्रान्सलेट गर्न मिल्ने जस्ता धेरै फिचर साओमीले उपलब्ध गराएको छ ।

फेसबुकले जस्तै साओमीले पनि डिभाइसको तौल व्यवस्थापन गर्न सफल भएको छ । हलुका डिजाइनमा निर्माण गरिएको यसको तौल जम्मा ५१ ग्राम छ ।

हुन त यो फेसबुकले सार्वजनिक गरेको स्मार्ट ग्लासको तुलनामा एक ग्रामले बढी हो । 

एन्ड्रोइडमा आधारित साओमीको यस स्मार्टग्लासमा क्वाडकोर एआरएम प्रोसेसर रहेको छ । यसका साथै ग्लासमा माइक्रो एलईडी इमेज टेक्नोलोजीको प्रयोग गरिएको छ, जुन ब्राइटनेस र ओएलईडीको तुलनामा लामो समयसम्म टिक्ने प्रविधिको रुपमा परिचित छ ।

‘यो ग्लास स्मार्टफोनको दोस्रो स्क्रिन मात्रै होइन,’ कम्पनीले भनेको छ, ‘ग्लास आफैंले पनि धेरै कुरा गर्न सक्छ । जसमा महत्वपूर्ण नोटिफिकेसन छनोट गरी तपाईंलाई देखाउने, स्मार्टहोम अलार्म तथा महत्वपूर्ण व्यक्तिबाट आएको म्यासेज जस्ता कुरालाई आफैंले नियन्त्रण गर्न सक्छ ।’

कम्पनीले अगाडि भनेकाे छ, ‘साथै यसमा उपलब्ध नेभिगेसेन सिस्टममार्फत तपाईंले आफ्नो आँखाअगाडि म्याप हेर्न सक्नुहुनेछ । जसले गर्दा यात्रा गर्न सहज हुनेछ । यसका साथै स्मार्ट ग्लासले तपाईंले कसले कल गरिरहेको छ भन्ने जानकारी दिनेछ । त्यो भएसँगै ग्लासमा प्रयोग भएको माइक र स्पिकरमार्फत सहजै उठाएर कुराकानी गर्न सकिने छ ।’

कम्पनीले स्मार्ट ग्लासको विषयमा ब्लगमार्फत आफैंले जानकारी दिए पनि आधिकारिक रुपमा बजारमा कहिलेबाट उपलब्ध हुनेछ भन्ने विषयमा केही खुलाएकाे छैन ।

त्यस्तै स्मार्ट ग्लासको मूल्य पनि सार्वजनिक गरिएको छैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१