close

आईफोन र आईप्याडमा एप्पलको इमर्जेन्सी अपडेट, तत्काल इन्स्टल गर्न आग्रह

टेकपाना टेकपाना

भदौ २९, २०७८ १४:५७

आईफोन र आईप्याडमा एप्पलको इमर्जेन्सी अपडेट, तत्काल इन्स्टल गर्न आग्रह

काठमाडौं । एप्पलले आफ्ना प्रडक्टमा फेला परेको कमजोरीको समाधान सहित आपतकालीन सेक्युरिटी अपडेट उपलब्ध गराएको छ ।

यसअघि सुरक्षा अनुसन्धानकर्ताले एप्पलको म्यासेजिङ एपमार्फत इजरायलको एनएसओ ग्रुपले निर्मा‍ण गरेको स्पाइवेयर सफ्टवेयर ‘पेगासस’ ले सहजै प्रयोगकर्ताको आईफोन, आईप्याडसहित एप्पल वाच र म्याकबुकमा पहुँच बनाउन सक्ने कमजोरी फेला पारेका थिए ।

बिहीवार टोरन्टो विश्वविद्यालय अन्तर्गतको साइबर सुरक्षा अनुसन्धान संस्था सिटिजन ल्याबले साउदीका एकजना अभियन्ताको आईफोनमा ‘पेगासस’ फेला पारेका थिए ।

त्यसमा एप्पल म्यासेजिङ एपको कमजोरी देखिएको थियो । त्यसैका आधारमा अनुसन्धानकर्ता संस्था सिटिजन ल्याबले एप्पललाई कमजोरीको विषयमा जानकारी गराएको थियो ।

सोही अध्ययनका आधारमा एप्पलको सेक्युरिटी टिम यसमा काम गर्न थालेको थियो । सोमबार कम्पनीले उक्त समस्याको समाधान सहित नयाँ अपडेट उपलब्ध गराएको हो ।

यसअन्तर्गत कम्पनीले आईओएस १४.८, आईप्याड ओएस १४.८, म्याक ओएस ११.६ र वाच ओएस ७.६.२ अपडेट ल्याएको छ ।

कम्पनीले प्रयोगकर्तालाई आफ्नो आईफाेन तथा आईप्याड लगायतका एप्पलका डिभाइसमा म्यासेजिङ एप तत्कालै अपडेट गर्न समेत आग्रह गरेको छ ।

अध्ययन अनुसार उक्त कमजोरीका कारण प्रयोगकर्ताको कुनै जानकारी बिनै स्पाइवयेर सफ्टवयेर मोबाइलमा राख्न सकिने छ । जसलाई ‘जिरो क्लिक रिमोट एक्स्प्लोइट’ भनिन्छ ।

यसको अर्थ रिमोटबाटै प्रयोगकर्ताको जानकारी बिनै उनीहरूलाई डिभाइसमा पहुँच बनाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१