close

पुरानो फोनलाई ‘स्पीड अप’ गर्न जान्नैपर्ने ६ तरिका

टेकपाना टेकपाना

भदौ ३०, २०७८ १०:१९

पुरानो फोनलाई ‘स्पीड अप’ गर्न जान्नैपर्ने ६ तरिका

काठमाडौं । मोबाइलका फिचर तथा अपरेटिङ सिस्टम हरेक वर्षजसो परिस्कृत भएर बजारमा आइरहेको हुन्छ । यदि तपाईं पुरानो एन्ड्रोइड फोन चलाइरहनु भएको छ, फोन एकदमै स्लो छ भने नयाँ फोन खरिद गर्ने सोच बनाउँदै हुनुहुन्छ होला ।

तर केही उपाय अपनाउदा तपाईंले पुरानै फोनलाइ आनन्दले चलाउन सक्नुहुन्छ । आज हामी त्यस्ता पुराना एन्ड्रोइड फोनलाइ ‘स्पीड अप’ कसरी गर्ने भन्ने विषयमा जानकारी दिँदै छौं ।

१. सफ्टवेयर अपडेट गर्नुहोस्  

सामान्यतया फोन अपडेट गरिरहँदा यसले तपाईंको फोनको पर्फर्मेन्स बढाउन र फोनलाई अझ सुरक्षित बनाउन सहयोग गर्छ । साथै नयाँ अपडेटहरूले तपाईंको फोनमा भएको बगहरू पनि फिक्स गर्छ ।

यसरी समय समयमा अपडेट गरिरहँदा तपाईंको फोनको स्पिड बढ्छ र नयाँ उपलब्ध फिचरहरू पनि प्रयोग गर्न सक्नुहुन्छ ।

यसका लागि मोबाइलको ‘सेटिङ’ मा जानुहोस् र त्यहाँ भएको ‘सिस्टम अपडेट’ अप्सनमा ट्याप गर्नुहोस् ।

त्यहाँ तपाईंले अन्तिम पटक फोन कहिले अपडेट गर्नुभएको विवरण सहित नयाँ अपडेटको विवरण पनि उपलब्ध हुन्छ । यसपछि ‘अपडेट’ डाउनलोड गरी ‘इन्स्टल’ गरेर आफ्नो फोनको ‘सफ्टवेयर अपडेट’ गर्न सक्नुहुन्छ । 

२. स्लो भएका एपहरू अपडेट गर्नुहोस् 

कहिले काहिँ केही एपहरू प्रयोग गर्दा एप स्लो भएर नचलेको अथवा ल्याग भएको अनुभव गर्नु भएको होला । यसले गर्दा तपाईंलाई फोन स्लो भएको जस्तो लाग्नसक्छ ।

समय समयमा एपमा आउने नयाँ अपडेट इन्स्टल गर्न पनि जरुरी हुन्छ । यसको लागि आफ्नो प्ले स्टोरमा गएर यस्ता एपहरू अपडेट गर्न सक्नुहुन्छ ।

३. एनिमेसनहरू डिसेबल गर्नुहोस् 

धेरैजसो पुराना फोनले एन्ड्रोइडको एनिमेसनहरू सपोर्ट गर्न सक्दैन । यसैले त्यस्ता एनिमेसनहरू डिसेबल गर्नु नै लाभदायक हुन्छ । यसको लागि ‘सेटिङ’ मा जानुहोस् र ‘डेभलपर अप्सन’ मा जानुहोस् ।

त्यसपछि अलिकति तल स्क्रोल गरेर विन्डो एनिमेसन स्केलमा गएर एनिमसेन अफ गर्नुहाेस् । त्यसै गरेर ‘ट्रान्जिसन एनिमेसन स्केल’ र ‘एनिमेसन ड्युरेसन स्केल’ मा पनि ट्याप गरेर एनिमेसन ‘अफ’ गर्नुहोस् ।

त्यस्तै आफ्नो फोनको ‘सेटिङ’ मा जानुहोस् र ‘अबाउट फोन’ मा ट्याप गर्नुहोस् । त्यहाँ रहेको सफ्टवेयर इन्फर्मेसन अप्सनमा ट्याप गर्नुहोस् र त्यहाँ देखिने ‘बिल्ड नम्बर’ अप्सनमा सात पटक ट्याप गर्नुहोस् । यसले तपाईंको फोनमा डेभलपर मोड अन गर्छ जसले फोनको पर्फर्मेन्स सुधार्न मद्दत गर्छ ।

४. ब्याकग्राउन्डमा रन हुने एपहरू सीमित गर्नुहोस् 

धेरैजसो एन्ड्रोइड फोनले ब्याकग्राउन्डमा चलिरहेको एपहरू स्वत: रोकिदिन्छ जसले गर्दा तपाईंको फोनको पर्फर्मेन्समा खासै असर गर्दैन । यद्यपि अझैँ पनि तपाईंको फोन स्लो भइरहेको छ भने तपाईंले आफ्नो ब्याकग्राउन्डमा चल्ने एप सीमित गर्न सक्नुहुन्छ ।

यसका लागि आफ्नो ‘सेटिङ’ अन्तर्गत रहेको सिस्टममा गएर डेभलपर अप्सनमा जानुहोस् र ‘एप’ अप्सन अन्तर्गत रहेको ‘ब्याकग्राउन्ड लिमिट’ मा ट्याप गर्नुहोस् ।

त्यहाँ आफ्नो आवश्यकता अनुसार ब्याकग्राउन्ड प्रोसेस लिमिट सेट गर्न सकिन्छ । यसले तपाईंको फोनको स्पिड बढाउन मद्दत गर्छ ।

यद्यपि तपाईंले रोक्नुभएको एपलाई प्रत्येक पटक प्रयोग गर्नको लागि पुन: लन्च गर्नुपर्ने हुँदा भने तपाईंको ब्याट्री छिटो सकिन सक्छ । 

५. स्टोरेज स्पेस खाली गर्नुहोस् 

कहिले काहिँ मोबाइलमा धेरै एप र धेरै डेटा हुँदा पनि मोबाइल स्लो हुनसक्छ । यसर्थ सामान्य रुपमा मोबाइलको स्टोरेज खाली गर्दा पनि तपाईंको फोनको पर्फर्मेन्स राम्रो हुनसक्छ ।

त्यसैले आफुलाई आवश्यक नभएका एपहरू अनइन्स्टल गर्नसक्नुहुन्छ । तपाईंले लामो समयदेखि प्रयोग नगरेका एप हेर्नका लागि मोबाइलको ‘सेटिङ’ मा जानुहोस् र ‘स्टोरेज’ मा ट्याप गर्नुहोस् ।

त्यहाँ ‘म्यानेज स्टोरेज’मा जानुहोस्, जहाँ धेरै प्रयोगमा आएका एप र कम प्रयोगमा आएको एपहरूको विवरण सहितको सूची देख्नुहुनेछ । यसरी छानेर आफूलाई आवश्यक नभएको एप ‘अनइन्स्टल’ गर्नुहोस् । 

६. फ्याक्ट्री रिसेट गर्नुहोस् 

यदि माथि उल्लेखित उपायहरू अपनाउदा पनि तपाईंको फोनको स्पिड बढेन भने तपाईं आफ्नो फोनको फ्याक्ट्री रिसेट गर्न सक्नुहुन्छ । यसले तपाईंको फोनमा भएका सम्पूर्ण डेटा डिलिट गरेर तपाईंको फोन नयाँ फोन जस्तै खाली बनाइदिन्छ ।

तर यसले फोनको स्पिड बढाउन मद्दत गर्छ । यसका लागि ‘सेटिङ’ मा गएर ‘सिस्टम’ मा जानुहोस् र त्यहाँ ‘एडभान्स’ अप्सनमा ट्याप गर्नुहोस् । त्यसपछि ‘इरेज अल डेटा’ अथवा ‘फ्याक्ट्रि रिसेट’ भन्ने अप्सनमा ट्याप गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१