close

के एनसेल र स्मार्टको नम्बरबाट पनि चलाउन सकिन्छ टेलिकमको नमस्ते पे ?

टेकपाना टेकपाना

भदौ ३१, २०७८ ९:२

के एनसेल र स्मार्टको नम्बरबाट पनि चलाउन सकिन्छ टेलिकमको नमस्ते पे ?

काठमाडौं । सरकारी स्वामित्को दूरसञ्चार कम्पनी नेपाल टेलिकमको मुख्य लगानी रहेको नेपाल डिजिटल पेमेन्ट कम्पनीले आफ्नो भुक्तानी सेवा मङ्गलबारदेखि सञ्चालनमा ल्याएको छ । नमस्ते पेको नामबाट मोबाइल मनीको रुपमा सञ्चालनमा आएको यो सेवा प्रयोगकर्ताले इन्टरनेट नहुँदा समेत प्रयोग गर्न सक्छन् ।

यसका लागि मोबाइलमा *500# डायल गरी प्राप्त निर्देशन अनुसार आफ्नो नाम, उमेर, लिङ्ग, नागरिकता, राहदानी वा सवारी चालक अनुमतिपत्र नम्बर जस्ता विवरण राखेर नमस्ते पेको खाता खोल्नुपर्ने हुन्छ । यसरी आधारभूत केवाईसी (ग्राहक पहिचान विवरण) राखेर सामान्य किसिमका भुक्तानी गर्न सकिन्छ ।

तर यसबाट दैनिक ५००० रुपैयाँसम्मको मात्र कारोबार गर्न सकिने सीमा रहेको छ । यद्यपि स्मार्ट प्रयोगकर्ताले मोबाइल एप प्रयोग गरी केवाईसी भेरिफाई गरेपश्चात् अन्य वालेट सरहको सीमा भित्र रहेर भुक्तानी सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको मोबाइल एप देशभित्र जोसुकैले प्रयोग गर्न पाउने भए पनि यूएसएसडी कोडमार्फत उपलब्ध भुक्तानी सेवा तत्काललाई टेलिकम प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ । एनसेल र स्मार्ट टेलिकमका प्रयोगकर्ताले समेत यो सेवा प्रयोग गर्न सक्नेगरी आवश्यक तयारी भइरहेको नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केपी भण्डारीले जानकारी दिए ।

‘यसका लागि हामी तत्काल एनसेलसँग समेत मिलेर काम गर्दैछौँ । यो विषय टुङ्गोमा पुग्न भने थप केही समय लाग्न सक्छ । यसैगरी स्मार्ट टेलिकमसँग पनि सहकार्य गर्ने दिशामा अगाडि बढ्दै छौँ,’ उनले टेकपानासँगको कुराकानीमा भने ।

मोबाइल नम्बरलाई नै व्यक्ति पहिचानको प्रारम्भिक आधार बनाउने अभ्यास सुरु भएको उल्लेख गर्दै उनले वालेटमा पनि ग्राहकको पहिचानको आधार मोबाइल नम्बर नै भएको बताए । उनले अगाडि भने, ‘यस हिसाबले पनि नेपालका ठूला दूरसञ्चार कम्पनी नेपाल टेलिकम र एनसेलसँग सहकार्यको अवसर पक्कै पनि खोजिन्छ । त्यसो गर्न सकियो भने ‘इनरोल’ (भर्ना) सजिलो हुन्छ ।’

‘यसले भोलिको दिनमा हामी जस्ता अन्य सेवाप्रदायकलाई पनि सजिलो हुन्छ । अहिले नै यस्तो हुन्छ भन्न त सक्दैनौँ, तर प्रयास चाहिँ हामी पक्कै गर्छौँ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१