‘नमस्ते पेको २० प्रतिशत शेयर जारी गर्न आईपीओ ल्याउँदै छौँ’

Nepal Digital Payment Company CEO KP Bhandari Interview

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको सहायक कम्पनी नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेडले मङ्गलबारदेखि ‘नमस्ते पे’ ब्रान्डमा आफ्नो सेवा सञ्चालनमा ल्याएको छ । मोबाइल सेवाप्रदायक कम्पनीको संलग्नता रहेको नेपालकै पहिलो भुक्तानी सेवाप्रदायक कम्पनीको सेवा, बजारको चुनौती र यसको भविष्य लगायतका विषयमा रहेर टेकपानाका लागि गोपाल साउदले कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीसँग गरेको कुराकानीको सम्पादित अंश । 

यो सेवाको बारेमा विस्तृत रुपमा बताइदिनुहुन्छ, कस्तो किसिमको सेवा हो, बजारमा विद्यमान अरु सेवाभन्दा कति फरक छ, अलिकति प्रष्ट पारिदिनुहुन्छ ? 

यो मौकाका लागि टेकपानालाई धन्यवाद । हामीले सुरु गरेको यो सेवा मोबाइल वालेटको सेवा हो । यसलाई कसैले मोबाइल मनी भन्नुहुन्छ, कसैले मोबाइल फाइनान्सियल सर्भिस भन्नुहुन्छ । तर समग्रमा यो चाहिँ मोबाइलको प्रयोग गरेर वित्तीय भुक्तानी गर्ने सेवा हो । तपाईं हामीले देखेकै छौँ नेपालको वित्तीय बजारका लागि यो नितान्त नयाँ सेवा भने होइन ।

नेपालमा जसरी डिजिटलाइजेसनको अभियान चलेको छ, त्यसलाई सघाउ पुर्‍याउने हिसाबले र वित्तीय समावेशीकरणमा समेत योगदान गर्ने हिसाबले नेपाल सरकारको समेत स्वीकृति जस्तो लिएर । किन भने यसको सोच जसरी आयो र दुई संस्था (नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंक) को बीचमा जुन समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

जुन चाहिँ तत्कालीन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा २०७६ सालमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सोही समझदारीपत्र अनुसार नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंक दुवै संस्था मिलेर यो संस्थालाई प्रवर्द्धन गरिएको छ ।  तपाईंले भनेजस्तै यो नेपाल टेलिकमको सहायक संस्था हो । किन भने यसमा अधिकांश लगानी टेलिकमकै छ ।

यसमा राष्ट्रिय वाणिज्य बैंक चाहिँ सह-प्रवर्द्धकको रुपमा रहेको छ, जसको साइजेबल लगानी छ । दुवै प्रवर्द्धकको  लगानीमा मोबाइल वित्तीय सेवा प्रवाह गर्न गत वर्ष (२०७७ साउन १३ गते) कम्पनी रजिष्टार कार्यालयमा दर्ता भयो । यस हिसाबले कम्पनी स्थापना भएको १३ महिना पुरा भएको छ । यसबीचमा हामीले विभिन्न तयारी गरेर टेन्डरमार्फत आवश्यक प्रविधि र उपकरण खरिद गर्यौँ ।

त्यसमा गर्नुपर्ने विकास, अन्तर-आवद्धता र विभिन्न चरणको परीक्षण पश्चात हामी पहिलो चरणको व्यवसायिक सेवा सञ्चालन गर्न सफल भएका छौँ । मोबाइल वित्तीय सेवा अलिकति जटिल सेवा हो । किन भने प्रयोगकर्तालाई दिन यसको आफ्नै चिज हुने भन्दा पनि यो विभिन्न बैंक, वस्तु तथा सेवा प्रदान गर्ने विभिन्न खालका सेवाप्रदायक र व्यावसायिक संस्थाको बीचमा आवद्धता गरेर भुक्तानी सेवा प्रवाह गर्ने माध्यम मात्र हो ।

त्यसैले यसमा अन्तरआवद्धताको कुरा र बाह्य पक्षमाथिको निर्भरताको कुरा धेरै छ । त्यसैले हामी एकदमै जागरुक रुपमा लागिपरेर यो लकडाउन, सामान आपूर्तिको गतिरोध, आदिका कारणले केही समय लाग्यो । ढिलो भएकै हो । तथापि लामो समयको प्रतिक्षापछि हामी पहिलो चरणको सेवा बजारमा ल्याउन सफल भएका छौँ ।

पहिलो चरणको सेवा आरम्भपश्चात पनि गर्नुपर्ने कामहरु धेरै बाँकी छन् । अनेकौँ सेवा यसमा अन्तर-आवद्धता गर्नुपर्नेछ । यस्ता कामहरू आगामी दिनमा निरन्तर रुपमा गर्दै जान्छौँ । हामीले मोबाइल एप, वेबसाइट र सम्भवतः नेपालमै पहिलोपटक यूएसएसडी गरी तीन ओटै च्यानलबाट सेवा थप गर्दै लैजाने अभियानमा छौँ ।

भविष्यमा त नयाँ सेवाहरू थप हुँदा यो सेवा अलि पृथक देखिन सक्ला । तर अहिले जुन रुपमा नमस्ते पे सार्वजनिक भएको छ, त्यस हिसाबले त यो नेपाली बजारमा विद्यमान अन्य डिजिटल वालेट भन्दा फरक नभएजस्तो देखियो नि होइन ?

हामीले हेर्दाखेरी पनि यो सेवा नेपाल राष्ट्र बैंकले प्रदान गर्ने भुक्तानी सेवाप्रदायकको लाइसेन्सबाट सञ्चालन हुने सेवा हो । यस्तो भुक्तानी सेवाप्रदायकको लाइसेन्स प्राप्त गरेका संस्थाहरू हामी बाहेक पनि बजारमा धेरै छन् । उनीहरूले धेरै समय अघिदेखि सेवा दिइरहेका छन् ।

सेवाकै हिसाबले हामीले दिने सेवा उनीहरूभन्दा नितान्त पृथक छ भनेर दाबी गर्न सकिने अवस्था रहँदैन । किन भने हामी सबैको लाइसेन्सको प्रावधान नै एउटै हो । तथापि यसलाई व्यापक रूप दिने तर्फको आफ्नो भूमिका निभाउन सक्छौँ कि भन्ने अपेक्षा चाहिँ गरेका छौँ । 

बजारमा मोबाइल वालेट सेवा उपलब्ध गराउने सेवाप्रदायक थुप्रै सङ्ख्यामा छन् । उनीहरूको दायरा पनि धेरै विस्तार भइसकेको छ । यो परिस्थितिमा बजारमा ढिलो गरी आएको नमस्ते पेले आफ्नो उपस्थितिको सार्थकता कसरी पुष्टि गर्न सक्ला ? 

यहाँले भनेजस्तै दुई दर्जनभन्दा बढी संस्थाले भुक्तानी सेवाप्रदायकको लाइसेन्स पाएका छन् । आफ्नो तर्फबाट काम समेत गरिरहेका छन् । तर ब्रान्डको ख्यातिको हिसाबले हेर्ने हो भने तीनचार ओटाभन्दा धेरै देखिँदैनन् । तर पनि नेपालमा भुक्तानीको जुन समग्र अर्थतन्त्रमा डिजिटल भुक्तानीको हिस्सा अझै पनि धेरै नै कम छ ।

हाम्रो विचारमा त्यस्तै २०/२५ प्रतिशत अथवा लकडाउनको कारणले केही बढेको होला । नेपाललाई डिजिटल युगमा प्रवेश गराउने जुन राष्ट्रिय महत्वाकाङ्क्षा छ, वित्तीय समावेशीकरण, प्रविधिको प्रयोगबाट वित्तीय कारोबारमा पारदर्शिता, कार्यक्षमताको विकास जस्ता कुराले गर्दा अझै पनि बजार सिर्जना गर्न सकिने ठाउँहरू प्रसस्त छन् ।

यस हिसाबले पनि संस्थापक संस्था र उहाँहरूभन्दा माथिल्ला सरकारी निकायले यो संस्थालाई अगाडि बढाउन अनुमति दिनु भएको हो भन्ने हाम्रो मान्यता छ । त्यही मान्यताको आधारमा हामीले कुन कुन क्षेत्रमा प्रवेश गरेर त्यसलाई गतिशीलता प्रदान गर्न सक्छौँ अथवा हाम्रो सेवामार्फत कुन कुन सेवालाई चाँडोभन्दा चाँडो डिजिटलिकरण  गरेर थप विकास गर्न सक्छौँ भन्नेमा हामी आफ्नो भूमिकाको खोजी गर्छौँ ।

थुप्रै अग्रणी संस्थाहरू हुनुहुन्छ, विकास तथा परीक्षणका धेरै कामहरू यहीँ होम ग्राउन्डमै सोलुसन तयार गरेर बजार सिर्जना गरेर डिजिटल सोलुसन यस्तो हो भन्ने कुरा प्रमाणित गरेर दिनुभएको छ । यस हिसाबले हामीले ल्याउने सेवाहरूमा प्रत्यक्ष वा परोक्ष रुपमा उहाँहरूको देन रहन्छ । उहाँहरूमध्ये कतिपयसँग त हामी अहिले नै साझेदारी गरेर अगाडि बढिरहेका छौँ ।

अरुसँग क्रमशः सहकार्य हुँदै जाला । यो नितान्त प्रतिस्पर्धाको विषय मात्र होइन । सकेसम्म सबैले मिलेर नयाँ किसिमका सेवाहरू नयाँ किसिमका प्रविधिमार्फत समग्र रुपमा वित्तीय क्षेत्रलाई कसरी उत्थान गर्न सकिन्छ, थप पारदर्शिता र कुशल बनाउन सकिन्छ भन्ने हिसाबले योगदान गर्न हामी पनि आएका छौँ ।

कुनै समय नेपालमा तीन ओटा बैंक थिए । अब अहिले विकास बैंक समेत गर्दा ५०/६० ओटा छन् । तर सबैले व्यवसाय गरिरहेकै छन् । सबैको बृद्धि विकास भइरहेकै छ ।

हामीले बीमालाई पनि त्यसैरुपमा लिन सक्छौँ । कुनै समयमा बीमा कम्पनी एउटा मात्र थियो । अहिले त्यस्ता कम्पनी थुप्रै छन् । वित्तीय क्षेत्रमा प्रविधि प्रयोगको दायरा अझै पनि धेरै नै खाली छ ।

निश्चित रुपमा हाम्रो आगमन त ढिलो भएकै हो । १२ वर्ष अघि अथवा  १० वर्षअघि आएको भए के हुन्थ्यो, त्यो त हामीले अन्दा गर्न सक्ने विषय मात्रै हो । यदि राम्रो काम गर्न सकियो अथवा जुन प्रकारको हाम्रो महत्वाकांक्षा छ, हाम्रा प्रवर्द्धक संस्था र नेपाल सरकारले हामीबाट जस्तो प्रकारको अपेक्षा गर्नु भएको छ, त्यसमध्ये केही मात्रै पनि पुरा गर्न सक्यो भने पनि यो कम्पनीको आगमन ढिलो भएको वा निरर्थक हुनेछैन ।

यहाँहरू बजारमा त भर्खरै पाइला टेक्दै हुनुहुन्छ । त्यस हिसाबले व्यवहारिक अनुभव त नहोला । तर पनि आगामी दिनमा डिजिटल वालेटको भविष्य नै के हुन्छ अथवा रहन्छ रहँदैन, भन्ने स्तरको चिन्ताहरू समेत प्रकट हुन थालेका छन् । मोबाइल बैंकिङ जवरजस्त रुपमा उदाइरहेको छ । यो विषयलाई चाहिँ कसरी हेर्नु भएको छ ? 

यो एकहदसम्म ठीकै हो । तर मोबाइल बैंकिङ र डिजिटल वालेटलाई छुट्याउने एउटा रेखा छ । जस्तै कुनै अमुक बैंकले मोबाइल बैंकिङ सेवा ल्यायो भने उसको मुख्य काम बैंकिङ सर्भिस नै हो । मोबाइल बैंकिङ भनेको मोबाइल एप्लिकेसन मार्फत कुनै व्यक्तिलाई उसको खातामा पहुँच दिनु मात्र हो ।

त्यसपछि उसले अन्ये प्लेटफर्महरू प्रयोग गरेर अन्य खातामा ट्रान्सफर गर्न सकिने वा भुक्तानी गर्न सकिने सेवाहरू दिन सक्नुहुन्छ । तर बैंकले त्यस्तो व्यक्तिलाई मोबाइल बैंकिङले अर्को बैंकिङ खातामा जोड्न सक्दैन । जसले गर्दा मसँग पाँच ओटा बैंक खाता छ भने पाँच ओटै मोबाइल बैंकिङ जरुरी हुन्छ ।

तर मोबाइल वालेटको म्यान्डेट नै सकेसम्म धेरै बैंकिङ च्यानल र मर्चेन्ट जोड्ने र धेरैभन्दा धेरै सेवाहरूलाई अन्तर-आवद्ध गर्ने  हो । त्यसैले मोबाइल बैंकिङको स्कोप, त्यसको कार्यक्षेत्र र उसले दिन सक्ने सेवाको विविधता भन्दा मोबाइल वालेटले दिन सक्ने सेवाको विविधता धेरै फराकिलो र बृहत् छ ।

यद्यपि प्रतिस्पर्धी बजारमा मोबाइल वालेट क्षेत्रले समय अनुकूल विकास गर्न सकेन र नयाँ किसिमको सेवा ल्याउन सकेन र मोबाइल बैंकिङबाटै वालेटको आवश्यकता पुरा हुन थाल्यो भने त्यो चाहिँ चुनौतीको विषय बन्न सक्छ । यद्पि आजभोलि कारोबार गर्ने व्यक्तिको खाता कुनै एउटा मात्र बैंकमा हुँदैन ।

त्यसैले भुक्तानी प्रक्रियालाई थप व्यवस्थित गर्ने र एउटै माध्यम अर्थात मोबाइल एप्लिकेसन मार्फत सबै भुक्तानी सेवा दिने काम चाहिँ मोबाइल वालेटले मात्रै हुन सक्छ, मोबाइल बैंकिङले सक्दैन । तै पनि मोबाइल वालेटको समय सकिँदैछ भन्ने किसिमको टिकाटिप्पणी हामीले पनि सुन्दै आएका छौँ । यस्ता टिकाटिप्पणी गर्ने क्षेत्रका पनि आफ्नै स्वार्थका विषय हुनसक्छन् ।

तर हामीले बाहिरकै सन्दर्भ हेर्ने हो भने पनि, जहाँ डिजिटल फाइनान्सको इकोसिस्टम अलिकति विकास भएको छ, भोलि गएर वालेट कम्पनीलाई फिनटेक अथवा वित्तीय सेवाका लागि प्रविधि सोलुसन उपलब्ध गराउने कम्पनीको रुपमा स्थापित हुने र त्यो समग्र आर्थिक कारोबारलाई नै एउटा पेमेन्ट बैंकको इकोसिस्टमको रुपमा रूपान्तरण गरेको पनि देखिन्छ ।

यसले गर्दा ऋणको प्रवाह, बीमा लगायतका सेवाहरू यसमा समावेश गर्ने लगायतका कामले मोबाइल वालेटलाई थप विविधता प्रदान गर्ने, थप पहुँच प्रदान गर्ने उपायको रुपमा कायम गर्न सकिन्छ भन्नेमा विश्वस्त छौँ । 

नेपाल डिजिटल पेमेन्ट कम्पनी नेपाल टेलिकमको सहायक कम्पनीको सेवा भएको हिसाबले टेलिकमका सबै ग्राहक नमस्ते पेका ग्राहक बन्छन्, भनेर बुझ्न मिल्छ ?

त्यसो हुन सक्यो भने त हामी धेरै नै खुशी हुन्छौँ । किन भने नेपाल टेलिकमसँग धेरै नै ठूलो ग्राहक आधार छ । तर नेपाल टेलिकमको ग्राहक हुँदैमा, स्वतः यो वालेटको ग्राहक भइँदैन । किन भने त्यसो गर्नु भनेको वित्तीय क्षेत्रको जुन किसिमको नियमन व्यवस्था छ, त्यसलाई उपक्षा गरेको ठहर्न सक्छ । यसमा जोडिने निश्चित प्रक्रिया छन् ।

पक्कै पनि नेपाल टेलिकमले आफ्नो सहायक कम्पनीको वालेटमा जोडिन आफ्ना ग्राहकलाई केही प्रोत्साहन अथवा उप्रेरणा प्रदान गर्न सक्छ । त्यो टेलिकमको व्यवसायिक रणनीतिको कुरा हो । उहाँहरूसँग मिलेर कस्तो किसिमको व्यवसायिक रणनीति ल्याउन सक्छौँ, त्यसमा विचार गर्छौँ ।

राष्ट्रिय वाणिज्य बैंक पनि हाम्रो प्रवर्द्धक संस्था हो । त्यसमा खाता हुनेहरूको ठूलो ग्राहक आधार छ । त्यसलाई पनि कसरी कम्पनीको लक्ष्य प्राप्तिमा उपयोग गर्ने भन्नेमा हामी पनि उत्प्रेरित छौँ । तर पनि नमस्ते पेको ग्राहक आधार नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको ग्राहक आधारमा मात्रै सीमित रहँदैन ।

यद्यपि ती दुवै संस्थाले यसमा लगानी गरेका छन् । त्यसको प्रतिफल उनीहरूलाई पनि चाहिन्छ । त्यसैले गर्दा सबैसँग रहेको क्षमता कसरी एकअर्काको हितमा प्रयोग गर्ने भन्ने रणनीति त पक्कै पनि अपनाउनैपर्ने हुन्छ । 

के एनसेल र स्मार्ट टेलिकमका ग्राहकले समेत नमस्ते पे प्रयोग गर्न पाउँछन् ? 

यसका लागि हामी तत्काल एनसेलसँग समेत मिलेर काम गर्दैछौँ । यो विषय टुङ्गोमा पुग्न भने थप केही समय लाग्न सक्छ । यसैगरी स्मार्ट टेलिकमसँग पनि सहकार्य गर्ने दिशामा अगाडि बढ्दै छौँ ।

अहिले त अब मोबाइल नम्बर नै व्यक्तिको पहिचानको मुख्य आधार बन्दै गइरहेको छ । सरकारले ल्याएको नागरिक एपमा समेत मोबाइल नम्बरलाई नै पहिचान स्थापित गर्ने सूत्रको रुपमा प्रयोग गरिएको छ । यस्तो अवस्थामा टेलिकमको मोबाइल नम्बरको केवाईसी नमस्ते पेको खाता खोल्दा सोझै प्रयोग हुन सक्छ होला । कि अहिले विद्यमान अन्य वालेट सरह ग्राहक स्वयम्‌ले अपलोड गर्नुपर्ने झन्झट कायम रहन्छ ? 

यो एकदमै सान्दर्भिक प्रश्न हो । हामीले आम नागरिकको रुपमा सोच्दाखेरी हरेक ठाउँमा मात्रै होइन, एउटै ठाउँमा उही कागजात पटक पटक बुझाउनुपर्ने अर्थात केवाईसी अपडेट गर्नुपर्ने विषय खासगरी वित्तीय क्षेत्रका ग्राहकका लागि निकै गाह्रो विषय हो । वित्तीय क्षेत्रमा ग्राहक पहिचान अझ धेरै महत्वपूर्ण भएकाले त्यस्ता कागजातहरू बुझाइ राख्नुपर्ने झन्झट छ ।

तर नियामकले तय गरेका जुन वैधानिक प्रावधान छन्, त्यसमा एउटाको केवाईसी स्वतः अर्कोमा सार्न मिल्ने किसिमको व्यवस्था छैन । अन्यत्रको उदाहरणलाई हेर्ने हो भने पनि सरकारकै तर्फबाट नै नागरिक अथवा ग्राहक पहिचानको केन्द्रिकृत डेटाबेस बनाएर प्रमाणीकरण गर्ने अभ्यास रहेको देखिन्छ ।

हाम्रो देशमा समेत नागरिक एप तथा राष्ट्रिय परिचयपत्रको रुपमा सरकारले पनि त्यस दिशातर्फ प्रयास गरिरहेको बुझेका छौँ । अहिलेको अवस्थामा ग्राहक पहिचानको लागि आवश्यक तथ्याङ्क दूरसञ्चार र बैंकिङ क्षेत्रसँगै छ । यस्तोमा मोबाइल नम्बरलाई नै व्यक्ति पहिचानको प्रारम्भिक आधार बनाउने अभ्यास सुरु भएको छ । वालेटमा पनि ग्राहकको पहिचानको आधार मोबाइल नम्बर नै हुन्छ ।

यस हिसाबले नेपालका ठूला दूरसञ्चार कम्पनी नेपाल टेलिकम र एनसेलसँग सहकार्यको अवसर पक्कै पनि खोजिन्छ । नमस्ते पे सहायक संस्थाको सेवा भए पनि टेलिकमको केवाईसी प्रयोग गर्न पाउने अवस्था छैन । केवाईसी भनेको ग्राहकको आफ्नो निजी जानकारी हो । त्यो, उहाँहरूले चाहेको खन्डमा मात्रै शेयर गर्न मिल्छ ।

ग्राहकको सहमति लिएर मोबाइल नम्बरबाट व्यक्ति पहिचान तथा प्रमाणीकरण गर्नका लागि भने टेलिकम, एनसेल र स्मार्ट टेलिकमसँग द्वीपक्षीय कुराकानी अगाडि बढाउँछौँ । त्यसो गर्न सकियो भने ‘इनरोल’ (भर्ना) सजिलो हुन्छ । यसले भोलिको दिनमा हामी जस्ता अन्य सेवाप्रदायकलाई पनि सजिलो हुन्छ । अहिले नै यस्तो हुन्छ भन्न त सक्दैनौँ, तर प्रयास चाहिँ हामी पक्कै गर्छौँ । 

खासगरी ग्रामीण क्षेत्रमा अझै पनि यस्ता सेवाहरू प्रयोग गर्ने ज्ञान र सामान्य सीप समेत रहेको पाइदैन । यस्तोमा कम्पनीले सहज तरिकाले सेवा प्रयोग गर्न सकिने कुनै उपाय सोचेको छ ?

यसमा दुई चार ओटा विषय छन् । खासगरी दुरदराजमा वित्तीय पहुँच हाम्रो एउटा सपना हो । त्यसमा यो उल्लेख्य योगदान दिन सकिन्छ भनेरै यो कम्पनीको सुरुवात गरेका हौँ । मुनाफा मात्र नभएर, सेवाको विविधता र यो क्षेत्रलाई थप गतिशीलता र तरंङ्ग छाओस्, डिजिटल भुक्तानीको इकोसिस्टम थप चलायमान होस्, भन्ने नै हाम्रो इच्छा हो । यो सन्दर्भमा हामीले दुई तीन ओटा रणनीति अङ्गिकार गर्ने सोचेका छौँ ।

एउटा चाहिँ हाम्रो एजेन्ट नेटवर्कलाई अलिक व्यापक बनाउने । त्यससन्दर्भमा हाम्रा संस्थापकहरूको एजेन्ट नेटवर्कलाई पनि प्रयोग गर्न सक्छौँ । त्यसबाहेक रेमिट्यान्स कम्पनीसँग पनि हामी सहकार्य गरिरहेका छौँ । सायद दोस्रो चरणमा राम्रो रेमिट्यान्स कम्पनीसहित हामी बजारमा आउँछौँ । जसले गर्दा देशभित्रको रेमिट्यान्स प्रवाहमा पनि केही योगदान पुग्न सक्छ ।

अर्को कुरा त्यस्तो एजेन्ट नेटवर्क र रेमिट्यान्स नेटवर्कमार्फत भोलि शाखा रहित बैंकिङ अर्थात व्यक्तिलाई नै शाखा बनाएजस्तो गरेर समेत हामी अगाडि बढ्छौँ । साथै हामी सरकारी निकायहरूसँग पनि साझेदारीको खोजिमा छौँ ।  महालेखा नियन्त्रक कार्यालय लगायतका सरकारी वित्तीय सेवासँग सम्बन्धित निकायहरूसँग सहकार्य गर्ने प्रयासमा हामी छौँ ।

यसका लागि पटक पटक अन्तर्क्रिया समेत भएको छ । हामीले गर्ने कामले सम्भवतः उहाँहरूको काममा समेत थप सहजता ल्याउन सक्छ । उदाहरणको लागि सरकारले नागरिकलाई दिने भत्ता लगाायतका भुक्तानी, नागरिकले सरकारलाई तिर्नुपर्ने करहरू,  आदिलाई पनि यो वालेटमा समाहित गर्दै लैजाने प्रयास पनि गर्छौँ । त्यो हाम्रो दायित्वको विषय पनि बन्छ ।

किन भने अप्रत्यक्ष रुपमै भए पनि यो कम्पनीमा झन्डै ९५ प्रतिशतभन्दा बढी स्वामित्व नेपाल सरकारको छ ।  त्यसअर्थ यो सार्वजनिक संस्था पनि हो । यस हिसाबले प्रविधिमा आधारित भुक्तानी सेवालाई दुरदराजका क्षेत्रमा पुर्‍याउन हाम्रो प्रयास रहन्छ । यूएसएसडी फिचर सुरु गर्नुको कारण पनि त्यही नै हो ।

मोबाइल एपजस्तो सहज र धेरै विविधतायुक्त नभए पनि यसको सहयोगमा सानो सानो फोनबाट समेत आधारभूत कारोबार गर्न सकिन्छ । खासगरी केन्या र बङ्ग्लादेशमा यो मोडल धेरै चलेको छ । हामीले पनि पहिलो चरणमै यस किसिमको सेवा ल्याएर आएका छौँ । यद्यपि यसमा विकास र विकास गर्न धेरै नै बाँकी छ ।

हाम्रो समग्र उद्देश्यमा सहरी क्षेत्र मात्र नभएर ग्रामीण र दुरदराजका क्षेत्रमा खासगरी एजेन्ट नेटवर्कमार्फत वित्तीय भुक्तानीको सेवालाई धेरै नागरिकको पहुँचमा पुर्‍याउने, सहज बनाउने र थप सेवाहरू यसमा ल्याउने नै हो । यो कारोबारमा नाफाको प्रतिशत निकै थोरै छ । त्यसैले यो भोलुम (आकार) कै व्यवसाय हो । धेरै ग्राहक आधार र धेरै सुविधा राखेर आफ्नो व्यवसायलाई दीगो बनाउनुपर्ने हुन्छ । 

तपाईंहरूले बारफोनबाट तथा इन्टरनेट नभएको अवस्थामा समेत यूएसएसडी कोडको सहयोगमा भुक्तानी सेवा दिन थाल्नु भएको छ । यसका लागि ग्राहकको खाता अथवा केवाईसी चाहिँ कसरी तयार हुन्छ ? 

तपाईंले आफ्नो फोनबाट *500# डायल गर्नु भयो भने सुरुमा तपाईंले वालेटमा आफूलाई ग्राहकको रुपमा रजिस्टर गराउनुपर्ने हुन्छ । त्यसमा तपाईंको नाम, जन्ममिति, सवारी चालक अनुमतिपत्र अथवा नागरिकता नम्बर राख्ने प्रावधान राखिएको छ ।

नियमनको व्यवस्थाअनुसार तपाईंले आधारभूत केवाईसी भरेपछि निश्चित सीमासम्मको भुक्तानी कारोबार गर्न पाउनुहुन्छ । यसरी सामान्य बारफोनबाट समेत वालेटमा खाता खोल्न, रकम लोड गर्न र सामान्य किसिमको भुक्तानी गर्न सक्नुहुन्छ ।

बजारमा जाने सन्दर्भमा अथवा मर्चेन्ट नेटवर्क प्रयोग गर्नेगरी तपाईँहरूको कुनै भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) सँग पनि सहकार्य गर्नु भएको छ ? 

अहिलेको नीतिगत व्यवस्थाअनुसार भुक्तानी सेवाप्रदायकहरू भुक्तानी प्रणालीसँग आवद्ध हुनुपर्छ । भुक्तानी सेवाप्रदायकको मुख्य सेवा नै मर्चेन्ट (प्रयोगकर्ताले अनलाइन तथा अफलाइन खरिदारी गर्ने पक्ष) को भुक्तानी हो । त्यस्ता मर्चेन्टको व्यवस्थापन पीएसओले नै गर्नुपर्ने हुन्छ । यस हिसाबले पनि हामी पीएसओसँग आवद्ध हुनुपर्छ र भइसकेका पनि छौँ ।

बैंकिङ च्यानल एग्रिगेट गर्ने काम पनि उनीहरूले नै गर्नुपर्ने हुन्छ । हालका लागि हामी मर्चेन्ट व्यवस्थापनका लागि स्मार्ट क्यूआरसँग साझेदारी गरिरहेका छौँ । भोलि अरुसँग गर्ने सहकार्य पनि खुला नै छ । त्यसपछि बैंकिङ क्षेत्रमा आफ्नो वालेट सेवा विस्तार गर्न नेपाल पेमेन्ट सोलुसनसँग अन्तर-आवद्धता गरेर अगाडि बढिरहेका छौँ ।

त्यसदेखि बाहेक अन्तर बैंक रकमान्तरका लागि नेपाल क्लियरिङ हाउसँग पनि जोडिदै छौँ । अहिले त्यसको प्राविधिक तयारी चलिरहेको छ । यसरी हामी विभिन्न पीएसओसँग सहकार्य गर्दै अगाडि बढिरहेका छौँ । भोलिको दिनमा यस्ता पीएसओसँग आवद्ध अन्य वालेटसँग पनि हाम्रो अन्तर-आवद्धता रहन सक्छ । 

बजारको अहिलेको अभ्यास हेर्दा एउटा पीएसओसँग आवद्ध हुँदा अरुसँग नहुने किसिमको अवस्था पनि देखिन्छ । यसलाई चाहिँ कसरी हेर्नु भएको छ ? 

यस्तो आवद्धता भन्ने कुरा स्वतः हुने विषय होइन । यो आफैमा व्यवसाय पनि हो । त्यसैले यसमा आपसी लेनदेनका विषय हुन्छन् । सहमति, समझदारी र सम्झौताका विषय पनि आउँछन् । कम्पनीअनुसार आआफ्ना शर्त तथा बन्देज हुन सक्छन् । यसैबीचबाट आपसी समझदारी र सम्झौता हुने हो ।

त्यसैले जोजोसँग कुराकानी मिल्दै जान्छ, उहाँहरूसँग सहकार्य हुँदै जान्छ । त्यसैले अहिलेको अभ्यासलाई त्यति अन्यथा विषयको रुपमा लिन पर्दैन । तर हामी सकेसम्म धेरै पक्षसँग सहकार्य गरेर अगाडि बढ्ने प्रयास गर्छौँ । किन भने हामी भर्खरै बजारमा आएका छौँ ।

पक्कै पनि नयाँ आउनेले अरुसँग सिक्नुपर्ने हुन्छ । उहाँहरू हाम्रो प्रतिस्पर्धी भन्दा पनि सहकार्य गरेर अगाडि बढ्नुपर्ने पक्ष हो ।  सम्भव भएसम्म एकले अर्कोलाई नोक्सानी नहुने गरी समग्र डिजिटल भुक्तानी देशमा थप व्यापक बनाउने पक्षमा हामी छौँ । 

भुक्तानी गर्नु अघि वालेटमा रकम लोड पनि गर्नुपर्ने हुन्छ । त्यसका लागि अहिले के कस्ता विकल्पहरू राख्नुभएको छ ? 

तत्काल हामीसँग नौदश ओटा बैंकहरू छन्, त्यो निरन्तर रुपमा बढ्दै जान्छ । सकेसम्म सबै वाणिज्य बैंकमा अन्तर-आवद्धता गरेर खाता र कार्डहरूबाट यसमा रकम लोड गर्ने व्यवस्था गर्छौँ । विकास बैंकहरूसँग पनि यस किसिमको सहकार्य हुन्छ ।

देखाउने संख्याको रुपमा भन्दा पनि बैंकहरूसँगको आवद्धता निकै नै महत्वपूर्ण हुन्छ । किन भने रकम त बैंकहरूसँगै हुन्छ । त्यसैले वालेटमा रकम आउने विकल्पहरू धेरै भन्दा धेरै बनाउने र खर्च गर्ने बाटो पनि उत्तिकै बढाउनुपर्ने हुन्छ । हाम्रो एजेन्ट नेटवर्क पनि क्रमशः विस्तार हुँदै जान्छ । 

प्रयोगकर्ताले यसबाट कुन कुन वस्तु तथा सेवाको भुक्तानी गर्न पाउँछन् त ?  

अहिले त हामीसँग निकै नै कम मात्र भुक्तानीका विकल्पहरू उपलब्ध छन् । किन भने हाम्रो उपकरणको आपूर्ति नै झन्डै झन्डै तीन महिना ढिलो भयो, चीनबाट आउनुपर्ने सामान टर्की पुगेर आयो ।  हाम्रो सफ्टवेयर आपूर्तिकर्ता दिल्लीमा आधारित हो । कोभिडले गर्दा उक्त टिममा नै ठूलो प्रभाव पर्‍यो ।

जसले गर्दा बीचमा हामीले केही समय काम गर्न सकेनौँ । यसरी हामीले माघमा सुरु गर्ने भनेको सेवाका लागि भदौसम्म कुर्नुपर्ने भयो । अब तीन महिनाको अर्को चरणमा पोर्टफोलियो केही ठूलो हुन्छ । अहिले हामीले नेपाल टेलिकम, विद्युत प्राधिकरण, खानेपानीका केही संस्थाहरूको भुक्तानी गर्न सकिने बनाएका छौँ ।

यो निरन्तर जारी रहने प्रक्रिया हो । हामीले जुन स्तरको पोर्टफोलियो बनाएर बजारमा जान खोजेका थियौँ, त्यो चाहिँ पुरा गर्न सकेका छैनौँ । कसैले दशबाह्र वर्षमा गरेको काम हामीले छआठ महिनामा गर्न खोज्दा त्यो व्यवहारिक नहुँदो रहेछ । प्राविधिक आवद्धता त्यसमाथि पैसाको लेनदेनसँग जोडिएको विषय भएकाले यसमा धेरै सचेत भएर र धेरै समय लगाएर काम गर्नुपर्ने हुन्छ । 

कतिपयको बुझाइमा मोबाइलमा रहेको ब्यालेन्स नै भुक्तानीमा प्रयोग गर्न सकिने भन्ने पनि छ । यस्तो सेवा आउँछ कि आउँदैन अथवा यसको खाता कसरी सञ्चालन हुन्छ ? 

यो अलिक जटिल विषय हो । खासगरी नेपाल टेलिकम संलग्न भएको हिसाबले मोबाइल ब्यालेन्सबाटै सामान किन्न सकिन्छ भन्ने खालका कुराहरू धेरै आए । त्यसलाई हामीले बीचमा चिर्ने प्रयास पनि गर्यौँ । अहिलेलाई मैले भन्नुपर्दा त्यो होइन भन्नुपर्छ । नेपाल टेलिकमको मोबाइलमा रहेको ब्यालेन्स भनेको वास्तविक पैसा होइन, त्यो सेवा हो ।

किन भने तपाईंले टपअप गर्ने बेला केही छुट दिइएको हुन्छ । क्यास-ब्याक दिइएको हुन्छ । भ्वाइस कल गर्न, डेटा चलाउन र एसएमएस प्रयोग गर्नेगरी त्यसमा केही करहरू पनि समावेश भएका हुन्छन् । त्यसैले यस बाहेकको प्रयोजनमा मोबाइल ब्यालेन्स उपयोग गर्न सकिन्न । त्यो एयर टाइम मात्रै हो । ब्यालेन्सबाट सामान किन्ने भन्ने बित्तिकै त्यसलाई नगदमा लैजानुपर्ने हुन्छ ।

तपाईंले ५ रुपैयाँ छुट दिएर ९५ रुपैयाँ राख्न दिनु भयो र फेरि १०० रुपैयाँ फिर्ता लैजान दिनुभयो भने हिसाब मिल्दैन । त्यसैले मोबाइलमा रहेको ब्यालेन्सलाई रकममा रुपान्तरण गर्न सकिने अवस्था अहिले छैन । मोबाइल रिचार्जमा दूरसञ्चार सेवा शुल्क र भ्याट लाग्छ । अन्य खालको वस्तु तथा सेवा खरिदमा भ्याट मात्रै लाग्छ ।

कतिपयमा त भ्याट पनि लाग्दैन । यस्तो जटिल किसिमको करको परिस्थिति र मोबाइलको ब्यालेन्स शुद्ध रकम नभएर सेवाको एयर टाइम मात्र हुने भएकाले अहिले मोबाइलको ब्यालेन्सलाई वालेटको ब्यालेन्सको रुपमा प्रयोग गर्ने कुरा सम्भव छैन ।

तर भविष्यमा अर्कै किसिमको संरचना आयो भने अर्कै कुरा होला । जस्तै मोबाइल रिचार्जलाई रकमकै रुपमा राख्ने र त्यो जुन कार्यमा खर्च हुन्छ, त्यही अनुसारको कर लगाउने नीति आएको खन्डमा चाहिँ त्यो सम्भव पनि हुनसक्छ । मेरो आफ्नो बुझाइमा बाहिर पनि मोबाइल ब्यालेन्सलाई नै सामान खरिद बिक्रीमा प्रयोग गर्ने अभ्यास खासै पाइँदैन । 

भनेपछि टेलिकमको मोबाइल ब्यालेन्स छुट्टै र नमस्ते पे को वालेट अकाउन्ट छुट्टाछुट्टै हुन्छ ? 

हो, छुट्टाछुट्टै हुन्छ । सिस्टम नै फरक हुन्छ । उद्देश्य र प्रकृति पनि फरक हुन्छ । सँगसँगै मोबाइल मनीको कुरा पनि छ । 

वास्तवमा यो मोबाइल मनी र डिजिटल वालेटबीचमा कुनै अन्तर छ वा एउटै हो ? 

वास्तवमा यो एउटै कुरा हो । डिजिटल वालेट मोबाइलमै प्रयोग गर्न सक्ने कुरा चाहिँ प्रश्नको विषय हुनसक्छ । किन भने वालेट सिस्टम कम्प्युटरबाट पनि प्रयोग गर्न सक्छौँ । तर प्राथमिक रुपमा त्यसको प्रयोगको माध्यम मोबाइल फोन भएकाले यसलाई मोबाइल वालेट भन्न थालिएको हो । अर्को कुरा यसमा पहिचानको आधार पनि मोबाइल नम्बर नै हुने कुरा पनि छ ।

वास्तवमा यो मोबाइल वालेट नभएर एउटा एप्लिकेसन मात्र हो । अथवा डिजिटल वालेट नै हो ।  मोबाइल मनी पनि मोबाइलबाट हुने वित्तीय कारोबार भन्ने नै हो । जीएसएमएकै परिभाषा हेर्दा पनि मोबाइल एयर टायमबाट नै खरिदारी गर्ने भन्ने छैन ।

त्यसैले यस किसिमको दुविधा छ भने त्यसलाई चिर्न चाहन्छु । मोबाइल वालेट, डिजिटल वालेट, मोबाइल फाइनान्स भन्नु लगभग एउटै हो । नमस्ते पेलाई तपाईंले मोबाइल एपबाट प्रयोग गर्न सक्नुहुन्छ । भोलि वेबसाइटबाट पनि प्रयोग गर्न पाउनुहुन्छ ।

नमस्ते पेको सह-प्रवर्द्धक भएको हिसाबले सेटलमेन्ट बैंकको रुपमा त राष्ट्रिय वाणिज्य बैंक नै रहन्छ होला । यो वालेटमा प्रयोगकर्ताले ब्याजे पाउने कुरा चाहिँ के हुन्छ ? 

नेपालमा एउटा वालेटले ब्याज पाउने सुविधा दिँदै आएको छ । यो अवसर खोज्दै जाँदाको उपाय हो । तर पेमेन्ट इन्डस्ट्रीकै तथ्य के हो भने वालेट सेवाप्रदायकहरू अहिले यस्तो अवस्थामा छन्, जहाँ नाफा कमाउने भन्दा पनि रकम वितरण गर्ने अभ्यासबाट चलिरहेका छन् । क्यासब्याक, छूट जस्ता विषयहरू अहिले खुबै प्रचलनमा छन् ।

कसैकसैले त सम्भव हुने भन्दा पनि बढी वितरण गरेको जस्तो देखिन्छ । तर वित्तीय रुपमा त्यो कत्तिको सम्भव हुन्छ र बजारले त्यसलाई कतिसम्म पच्छ्याउछ भन्ने कुराले निर्धारण होला । ग्राहकलाई एक हजार रुपैयाँमा दुई रुपैयाँ ब्याज आउँछ भने पनि किन छोड्ने भन्ने कुरा हुन सक्छ ।

व्यवसाय बजारबाटै सञ्चालित हुने हो । त्यसैले भोलि बजारको माग भयो भने त्यो गर्नैपर्ने हुन्छ । ब्याज दिन सकिने प्राविधिक क्षमता पक्कै पनि छ । तर मोबाइल पेमेन्ट इन्डस्ट्रीको अहिलेको अवस्था हेर्ने हो भने यहाँ आम्दानी गर्न अलि गाह्रै छ ।

‘मिट’, ‘वाउ टाइम’ जस्ता टेलिकमले आफ्नै लगानीमा सुरु गरेका प्रोडक्ट बजारमा लामो समय टिक्न सकेनन् । कतै मोबाइल वालेटको हविगत पनि त्यस्तै हुने त होइन ? 

म लड्छु भनेर घडा चढ्दिनँ भन्ने हो भने छुट्टै कुरा हो । मलाई साइकल चढ्न ३७ वर्षको उमेरसम्म कुर्नुपर्‍यो । ३०/३५ वर्ष अघि म साइकल चढ्दा हिलोमा लडेको थिएँ । त्यसपछि साइकलै चढ्न छोडिदिएँ । अब अहिले साइकल चढ्न मैले आफ्नो बच्चाको साइकल सिक्नुपर्ने भयो । रोबोट कियोसाकीले नै भन्नु भएको छ कि तपाईंले १० ओटा व्यवसाय सुरु गर्नु भयो भने एउटा सफल हुन्छ ।

त्यसैले असफल भएको कुरालाई मात्र हेर्ने होइन । वाउटाइम, मिटको रुपमा प्रयासहरू भएका हुन् । त्यसैले यसलाई नेपाल टेलिकमले विभिन्न किसिमका प्रविधि प्रयोग गरेर विविध किसिमका सेवाहरू ल्याउने प्रयास गर्छ । सँगसँगै विजनेस भेन्चरको प्रकृति नै के हो भने सबै प्रयास सफल हुँदैनन् । केही प्रयास मात्रै सफल हुन्छन् ।

त्यसका लागि नियमित प्रयास चाहिन्छ । प्राविधिक रुपमा अपडेट भइरहनुपर्छ । कुनै नयाँ सेवा एकदमै चल्छन् । कुनै केही समय चलेर बन्द हुन्छन् । कुनै पटक्कै चल्दैन । यो सबैको हकमा लागु हुन्छ । गाडी निर्माता कम्पनीको पनि कुनै मोडल बेस्सरी चल्छ, कुनै चल्दै चल्दैन । यस्तोमा नचल्ने मोडलमा गरेको लगानी निर्थक भन्न मिल्दैन ।

त्यो समग्र प्रक्रियाको हिस्सा मात्र हो । यो नमस्ते पे वाउ टाइमको तहको मात्रै परियोजना होइन । वाउ टाइम नेपाल टेलिकमको समग्र दूरसञ्चार सेवामा ओटीटी एप्लिकेसनको रुपमा केही गरौँ भनेर आएको थियो । तर त्यतिबेला ओटीटीले त्यति व्यापकता पाएको थिएन । भर्खर बजार लिँदै थिए । त्यहाँ विभिन्न डिजिटल प्रतिलिपि अधिकारका कुराहरु पनि आए ।

यसरी अनुमान नगरिएको स्तरमा चुनौती आएकाले त्यसलाई राम्रोसँग व्यवस्थापन गर्न सकिएन । तर नमस्ते पे एउटा प्रमाणित उद्योग क्षेत्रमा आएको हो । ढिलो आए पनि यो उद्योग क्षेत्रको गतिशीलता यसलाई थाहा छ । हुन त सन् २०२० पछि डिजिटल वालेट असान्दर्भिक हुन्छन् भन्ने कुरा पनि छन् ।

त्यो समयले देखाउने कुरा हो । त्यस्तो अवस्थामा रुपान्तरण गरेर अर्को दिशामा जान सकिने अवस्था पनि हुनसक्छ । तपाईंले समयमै नवप्रवर्तन गर्नुहुन्छ कि गर्नुहुन्न ? आफ्नो व्यवसायलाई विविधिकरण गर्नुहुन्छ कि गर्नुहुन्न ? अहिले मोबाइल सेवाप्रदायकको चुनौति नै परम्परागत नेटवर्कबाट डिजिटल इकोसिस्टम तिर जानुपर्ने, लगानी र सेवामा विविधिकरण गर्नुपर्ने भन्ने छ ।

त्यसै प्रयास स्वरुप डिजिटल वित्तीय पहुँच विस्तार गर्ने उद्देश्य सहित नमस्ते पे आएको हो ।  त्यसैले वाउ टाइम जस्तो हविगत नमस्ते पेको हुन्छ भन्ने कुरामा कम्तिमा म चाहिँ विश्वास गर्दिनँ । उद्योगको संभावना र बजारको गतिशीलता हेर्दा भोलि नियमन व्यवस्था प्रतिकूल भइदिएन भने यो असफल हुने दिशामा जाँदैन । सफल भएरै छोड्छ । 

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंक गरी दुई सार्वजनिक कम्पनीको लगानी भएको हिसाबले मोबाइल मनी संचालनको सन्दर्भमा कम्पनीको भविष्यका लागि तपाईंले देखेका चुनौती के हुन् ? 

सरकारी संस्थाहरूमा पनि दुई किसिमको अभ्यास भएको देखिन्छ । लामो इतिहास भएका सरकारी संस्थामा पुरानो किसिमको सरकारी अभ्यासको इनर्सिया (जडता) छ । जहाँ चलिआएको अभ्यासलाई हत्तपत्त बदल्न सकिँदैन । तर यो त्यस्तो संस्था हो, जसमा त्यस्तो पुरानो प्याके केही पनि छैन ।

हामी पुरानो संस्थाबाट आएकाहरू पनि केही समय यहाँ रहन्छौँ, त्यसपछि आफ्नै ठाउँमा जान्छौँ । त्यसपछि यो कम्पनी सम्पूर्ण रुपमा नयाँ टिमले चलाउँछ । सार्वजनिक संस्थाले पालना गर्नुपर्ने जुन नीतिगत सीमाहरू छन् तिनिहरू नमिचेरै पनि छिटो निर्णय गर्न सकिन्छ । सहभागितामूलक व्यवस्थापन बनाउन सकिन्छ ।

कामको मूल्याङ्कन सही तरिकाले गरेर कर्मचारीलाई उत्प्रेरणा दिने संयन्त्र तयार पार्न सकिन्छ । पछिल्लो समय कतिपय सरकारी निकायमा पछिल्लो समय धेरै ठूलो परिवर्तन भएको हामी देख्न सक्छौँ । हामी जस्तो नयाँ संस्थाले बजारमा भएको राम्रो अभ्यास आत्मसाथ गरेर तथा नीति नियम पालना गरेर एउटा राम्रो अभ्यास थालनी गर्ने प्रयासमा छौँ । 

त्यसैले सार्वजनिक संस्था भएकाले यसले चाँडो निर्णय लिन सक्दैन अथवा भोलि नयाँ प्रविधि आत्मसाथ गर्ने कुरामा चाँडो कदम चाल्न सक्दैन भन्ने कुरामा म चाहिँ त्यति विश्वास गर्दिनँ  । किन भने यो संस्थाको चुनौति नै त्यही हो । बजारमा ढिलो गरी आएको छ, टिक्नु पनि छ भने आफ्नो सेवा सुविधालाई समयानुकूल बनाउनै पर्छ । 

नेपाल डिजिटल पेमेन्ट कम्पनीका दुवै संस्थापक नेपाल टेलिकम र वाणिज्य बैंकमा जनताको शेयर छ । त्यस अर्थ यो कम्पनीले पनि आईपीओ तथा सर्वसाधारणका लागि शेयर जारी गर्ने कुनै तयारी छ ? 

यो त हाम्रो नियमनकारी व्यवस्थामै स्पष्ट उल्लेख भएको कुरा हो । भुक्तानी सेवाप्रदायकले २० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्नैपर्छ । यो त कम्पनीले चाहे पनि नचाहे पनि गर्नैपर्ने दायीत्वको विषय हो ।

त्यसरी जाँदा यो संस्था मेरो पनि हो भन्ने स्वामित्व पनि सबैमा महसुस हुन्छ । अर्कोतर्फ त्यसबाट कम्पनीका लागि पुँजी पनि जुट्ने हुन्छ । त्यसैले नेपाल राष्ट्र बैंकको प्रावधान भित्र रहेर आईपीओ ल्याउँछौँ । 

यहाँहरू बजारमा भर्खर प्रवेश गर्नु भएको छ । त्यस हिसाबले छ महिना वा एक वर्ष/दुई वर्षको लागि कुनै अल्पकालिन लक्ष्यहरू तय गर्नु भएको छ ? 

पक्कै पनि त्यस किसिमका लक्ष्यहरू हामीले तय गरेका छौँ । तर वार्षिक कार्यक्रमको रुपमा रहेका ती विषयहरु सार्वजनिक गर्नु त्यति राम्रो मानिँदैन ।

यद्यपि सारांशको रुपमा भन्नुपर्दा हामीले हामीले अहिले जुन रुपमा सेवा सुरु गरेका छौँ, एक वर्षभित्र त्यसलाई निकै ठूलो पोर्टफोलियो बनाउने गरी काम गर्छौँ । सकेसम्म धेरै सेवाहरू ल्याउने, छिटोछरितो र सुरक्षित सेवा दिने, धेरैभन्दा धेरै प्रयोगकर्तामाझ यसलाई पुर्‍याउनेमा हाम्रो भरमग्दुर प्रयास रहन्छ । 

अन्तिममा केही थप्न चाहनुहुन्छ ? 

नेपालको डिजिटल भुक्तानीको जुन इकोसिस्टम छ, विभिन्न संस्थाहरूले लामो समयदेखि त्यसमा काम गरेका छन् । उहाँहरूबाट हामीले व्यक्तिगत रुपमा र व्यवसायिक रुपमा थुप्रै कुराहरू सिकेका छौँ ।

यो उद्योग कता जाँदैछ र डिजिटल भुक्तानीलाई व्यापक रुपमा विस्तार गर्न के के गर्नुपर्छ भन्ने विषयमा हामीहरूले आपसी सहकार्यमै अगाडि बढ्नुपर्ने हुन्छ । उहाहरूको सहयोग र सहकार्यका लागि हार्दिक आभार प्रकट गर्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team