close

इन्स्टाग्रामले बढाउँदै छ डिप्रेशन !

टेकपाना टेकपाना

भदौ ३१, २०७८ १६:५५

इन्स्टाग्रामले बढाउँदै छ डिप्रेशन !

काठमाडौं । फेसबुक स्वामित्वको फोटो शेयरिङ एप इन्स्टाग्रामको प्रयोगले किशोरकिशोरीमा डिप्रेशन बढाएको निष्कर्ष बाहिरिएको छ ।

फेसबुकले विगत तीन वर्षदेखि इन्स्टाग्रामबाट प्रयोगकर्ताको भावनात्मक र मानसिक स्वास्थ्यमा कस्तो प्रभाव पारिरहेको छ भन्ने विषयमा अनुसन्धान गरेपनि यसकाे निष्कर्ष सार्वजनिक गरेकाे थिएन ।

साे अनुसन्धानकाे निष्कर्ष लुकाएको आरोपमा फेसबुक र इन्स्टाग्रामको चर्को आलोचना भइरहेको छ । आफ्नो एपको प्रयोगबाट प्रयोगकर्तालाई पर्ने नकारात्मक असरबारे अध्ययन गरेको भएपनि यसको निष्कर्ष गोप्य राखेको भन्दै आलोचना भएको हो ।

यसैबीच वालस्ट्रिट जर्नलले एक सामग्री प्रकाशित गर्दै फेसबुकको गोप्य अनुसन्धानबाट इन्स्टाग्रामको प्रयोगले किशोरकिशोरीमा डिप्रेशन र छट्पटीको प्रभाव बढ्ने निष्कर्ष आएको उल्लेख गरेको छ ।

इन्स्टाग्रामले भने प्रयोगकर्ताको जटिल र अप्ठ्याराे परिस्थिति बुझ्न आफू प्रतिबद्ध भएको जनाएको छ ।

वालस्ट्रिट जर्नलमा प्रकाशित सामग्रीअनुसार इन्स्टाग्रामको प्रयोगका कारण तीनमध्ये एक किशोरीमा इन्स्टाग्रामले शरीरको आकारबारे नकारात्मक धारणा पैदा गर्ने अध्ययनको निष्कर्ष छ ।

यस्तै, किशोरकिशोरीहरुले आफ्नो डिप्रेशन र छट्पटीको तह बढ्नुमा इन्स्टाग्राम दोषी रहेको आरोप लगाएको दाबी गरिएको छ ।

साथै २०२० मा इन्स्टाग्रामले गरेको अध्ययनमा ३२ प्रतिशत किशोरीहरुले आफूलाई आफ्नो शरीर नराम्रो लाग्ने भावना आउँदा इन्स्टाग्रामले यो भावनालाई झन् बढाउने आरोप लगाएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१