close

एक बिट्क्वाइन कारोबार बराबर कति फोहोर निस्कन्छ ?

टेकपाना टेकपाना

असोज ३, २०७८ १९:३

एक बिट्क्वाइन कारोबार बराबर कति फोहोर निस्कन्छ ?

काठमाडौं । बिटक्वाइनको पछिल्लो विकासक्रमसँगै यसले वातावरणमा पार्ने असरको विषयमा पनि छलफल उत्तिकै बढेको छ ।

यसैबीच एमआईटी र डच सेन्ट्रल बैंकले संयुक्त रुपमा गरेको एक अध्ययनअनुसार एउटा बिटक्वाइन कारोबार हुनेबेलामा दुई वटा बिग्रिएका आईफोनबाट निस्किने विद्युतीय फोहोर जत्तिकैको फोहोर उत्पादन हुन्छ ।

हुन त बिटक्वाइनको कार्बन फ्रुटप्रिन्टसम्बन्धी विभिन्न अध्ययन भएका छन् । यद्यपि क्रिप्टोकरेन्सीले कम्प्युटरको हार्डवेयरमा ठूलो मात्रामा उत्पादन गर्ने फोहोरबारे भने धेरैको ध्यान नगएको अध्ययनको निष्कर्ष छ ।

बिटक्वाइन नेटवर्कलाई सुरक्षित गर्न स्पेसलाइज कम्प्युटर चिप एएसआईसी प्रयोग गरिन्छ । जति नयाँ चिप प्रयोग भयो, त्यति नै कम्प्युटरको पावर प्रभावकारी हुने हुँदा सक्रिय माइनरहरूले निरन्तर रुपमा चिप परिवर्तन गरिरहन्छन् । र, प्रत्येक पटक थप प्रभावकारी चिप प्रयोग गरिन्छ ।

‘बिटक्वाइन माइनिङमा प्रयोग हुने डिभाइसको जीवनचक्र करिब १४ महिनाको मात्र हुने गर्छ । यसकारण बिटक्वाइनको सम्पूर्ण नेटवर्कले प्रत्येक वर्ष करिब ३०.७ मेट्रिक किलोटन उपकरण प्रयोग गर्छ ।

यो संख्या नेदरल्याण्डसजस्तो देशमा सूचना प्रविधि तथा सञ्चारका उपकरणबाट उत्पादन हुने विद्युतीय फोहोरको संख्याभन्दा धेरै हो,’ प्रकाशित अध्ययन रिपोर्ट ‘बिटक्वाइन ग्रोइङ ई-वेस्ट प्रब्लम’ मा उल्लेख छ । 

सन् २०२० मा मात्र बिटक्वाइन नेटवर्कले करिब ११ करोड २५ लाखपटक कारोबार गरेको थियो र प्रत्येक कारोबारमा २७२ ग्राम विद्युतीय फोहोर उत्पादन भएको अध्ययनले जनाएको छ, जुन दुई वटा आईफोनले निकाल्ने विद्युतीय फोहोर बराबर हो ।

क्रिप्टकरेन्सीलाई वातावरणसँग जोडिनुको अर्को कारण भनेको यसमा प्रयोग हुने एएसआईसी चिप हो, जुन बिटक्वाइन माइनिङबाहेक अन्य कुनै प्रयोजनको लागि उपयोगी हुँदैन । यसको अर्थ क्रिप्टोकरेन्सीका लागि प्रयोग नभएको खण्डमा यो अन्य कुनै कामको लागि प्रयोग हुने छैन ।

हुन त माइनिङ उपकरणहरूको जीवनचक्र बढाउने केही उपाय छन्, तर ती प्रभावकारी नहुन सक्छ । माइनिङ हार्डवेयर स्टोर गरेर राख्न सकिन्छ, तर यसरी स्टोर गरेर राखिएका हार्डवेयरले प्रभावकारी रुपमा काम नगर्न सक्छ ।

यसकारण बिटक्वाइनको मूल्य बढ्दै जाँदा यसमा लगानी पनि बढ्दै जान्छ र एएसआईसीको आवश्यकता पनि बढ्दै जान्छ, जसले गर्दा विद्युतीय फोहोरको समस्या थप बढ्ने रिपोर्टमा उल्लेख छ । 

यसर्थ विद्युतीय फोहोर कम गर्नको लागि बिटक्वाइनको विकल्प खोज्नुपर्ने रिपोर्टको निष्कर्ष छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१