close

ट्याब्लेट प्रयोग गरी जनगणना हुँदै

टेकपाना टेकपाना

असोज ४, २०७८ ९:४

ट्याब्लेट प्रयोग गरी जनगणना हुँदै

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले काठमाडौंका ६ वटा स्थानीय तहमा आधुनिक प्रविधिको प्रयोगबाट जनगणना गर्ने भएको छ ।

काठमाडौँ महानगरपालिका, दक्षिणकाली, कीर्तिपुर, चन्द्रागिरि, नागार्जुन र तारकेश्वर नगरपालिकामा प्रविधियुक्त ट्याब्लेटको प्रयोगबाट जनगणना गर्न लागिएको हो ।

केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले जनगणनालाई प्रविधिमैत्री बनाउन र यस वर्ष प्रविधिको प्रयोग नमुनाका रूपमा काठमाडौँका ६ स्थानीय तहमा ट्याब्लेटको प्रयोग गरिएको जानकारी दिए ।

उनका अनुसार भदौ ३० देखि असोज १८ गतेसम्म भइरहेको घर तथा घर परिवारको सूचीकरण गर्ने कार्यमा पनि ट्याब्लेटकै प्रयोग भइरहेको छ । आगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म हुुने मूल गणनामा पनि उक्त स्थानीय तहमा ट्याब्लेटको प्रयोग हुनेछ ।

काठमाडौँमा भएका जनगणनाका पाँचवटा कार्यालयमध्ये ‘क’ नम्बरको कार्यालयअन्तर्गत पर्ने शङ्खरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बुढानीलकण्ठ र टोखामा भने अन्य स्थानमा जस्तै कागजकै फारम भरेर जनगणना कार्य हुँदैछ ।

विभागसँग सीमित मात्रामा ट्याब्लेट भएकाले अन्य सहरी क्षेत्रमा ट्याब्लेट प्रयोग गर्न नसकिएको विभागले जनाएको छ ।

गत भदौ ३० गतेदेखि भइरहेको घर तथा घरपरिवार सूचीकरण कार्यका लागि आठ हजार ५०० जना सुपरिवेक्षक खटिएको विभागले जनाएको छ । ती सुपरिवेक्षकले यस अवधिमा करिब ७० लाख घर तथा घरपरिवारको गणना गर्दैछन् ।

एक जना सुपरिवेक्षकले ८०० देखि एक हजार घर तथा घरपरिवारको तथ्याङ्क सङ्कलन गर्नुपर्छ ।

देश विकासको मेरुदण्डका रूपमा रहेको जनगणनामा आउने सुपरिवेक्षक र गणकलाई सही तथ्याङ्क उपलब्ध गराउनु सबैको दायित्व भएकाले सुपरिवेक्षकलाई आवश्यक सहयोग गर्न उनले आग्रह गरे ।

सरकारले यस वर्षको जनगणनाको नारा ‘मेरो जनगणना मेरो सहभागिता’ भन्ने तय गरेको छ । -गोरखापत्र

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१