close

ऐतिहासिक अन्तरिक्ष उडानमा बाइडेनले बधाइ नदिँदा एलन मस्कको व्यङ्ग्य

टेकपाना टेकपाना

असोज ४, २०७८ १०:४४

ऐतिहासिक अन्तरिक्ष उडानमा बाइडेनले बधाइ नदिँदा एलन मस्कको व्यङ्ग्य

काठमाडौं । एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले गत शनिबार ऐतिहासिक अन्तरिक्ष उडान सम्पन्न गर्‍यो । पहिलोपल्ट पर्यटकसहितको निजी उडान सफल भएपछि मस्क र स्पेसएक्सलाई प्रशंसा मिलिरहको छ ।

तर अमेरिकी राष्ट्रपति जो बाइनेनले यो सफलतामा हालसम्म कुनै शब्द नखर्चिएपछि मस्कले व्यंग्य गरेका छन् । उनले आफ्ना एक ट्वीटर फलोअरलाई जवाफ दिने क्रममा राष्ट्रपति बाइडेनप्रति ठट्टा गरेका हुन् ।

ती फलोअरले आफ्नो ट्वीटमा भनेका छन्, ‘अमेरिकी राष्ट्रपतिले चार नयाँ अमेरिकी अन्तरिक्षयात्रीलाई प्रशंसा गर्न अस्वीकार गरेका छन्, जसले सेन्ट जुड (हस्पिटल) का लागि करोडौं डलर जुटाउन मद्दत गरे । यसपछाडिको कारण के होला ?

सो ट्वीटमा जवाफ दिँदै मस्कले भनेका छन्, ‘उनी (बाइडेन) अझै सुतिरहेछन् ।’

राष्ट्रपति बाइडेनले यी ४ नयाँ अन्तरीक्षयात्रीको सराहना गर्नुपर्छ भन्दै गरेको अर्को ट्वीटमा पनि उनले सहमती जनाएका छन् ।

नासाका शीर्ष अधिकारीहरुले मस्क र स्पेसएक्सलाई सफल उडानका लागि बधाइ दिएका छन् । उनका प्रतिद्वन्द्वी जेफ बेजोसले समेत सामाजिक सञ्जालमा उनलाई बधाइ दिएका छन् ।

अन्तरिक्षमा पहिलोपल्ट पर्यटकसहित पुगेको अन्तरिक्षयान तीन दिनपछि गत शनिबार पृथ्वी फर्किएको थियाे ।

सो यान पृथ्वीदेखि ५८५ किलोमिटर माथि इन्टरनेशनल स्पेस स्टेशनमा पुगेको थियो ।

ज्यारेड आईज्याकम्यान, सियान प्रोक्टर, ह्याले आर्सन्नाक्स र क्रिस्टोफर सेमब्रोक्सी गरी चार जनाको यो टोलीले सफलतापूर्वक अन्तरिक्ष यात्रा पुरा गरेको हो ।

यात्रामा सहभागी कोही पनि अन्तरिक्षयात्री भने होइनन् । सामान्य मान्छेहरूको टोली रहेको अन्तरिक्षयानमा धेरैजसो सिस्टमलाई अटोमेटिक बनाएर प्रक्षेपण गरिएको थियो ।

नासाका लागि स्पेसएक्सले वार्षिक ६ वटा प्राइभेट यान प्रक्षेपण गर्ने लक्ष्य लिएको छ ।

सो यात्राले क्यान्सरलगायत अन्य रोगको क्षेत्रमा काम गरिरहेको सेन्ट जुड चिल्ड्रेन रिसर्च हस्पिटलका लागि २० करोड अमेरिकी डलर सहयोग उठाने लक्ष्य राखिए पनि १५ करोड ४० लाख अमेरिकी डलर मात्र उठेको छ ।

यसमा एलन मस्कले पाँच करोड अमेरिकी डलर (पाँच अर्ब ८८ करोड रुपैयाँ) आफ्नो तर्फबाट योगदान गरेर संकलित रकम उक्त हस्पिटललाई प्रदान गरिने छ ।

यो यात्रासँगै अन्तरिक्ष अब सबैका लागि भएको कुरा पुष्टि भएको स्पेसएक्सले जनाएको छ ।

सो अन्तरिक्षयात्राको लागि यात्रीहरूले ६ महिनाको तालिम लिएका थिए । अर्बिटमा रहँदा यात्रीहरूले आफ्नो स्वास्थ्य परीक्षण, गीत बजाउने, चित्र कोर्ने लगायतका गतिविधि गरेका थिए ।

साथै उनीहरूले सेन्ट ज्युडमा बिरामीहरूसँग पनि अन्तरिक्षबाट नै कुरा गरेका थिए । त्यस्तै न्यू योर्क स्टक एक्सचेन्जको लागि क्लोजिङ बेल पनि बजाएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१