close

टिकटक च्यालेञ्जले ध्वस्त भए अमेरिकी स्कुलका बाथरुम, हटाउन थालियो भिडिओ

टेकपाना टेकपाना

असोज ४, २०७८ १४:१५

टिकटक च्यालेञ्जले ध्वस्त भए अमेरिकी स्कुलका बाथरुम, हटाउन थालियो भिडिओ

अमेरिकी स्कुलका बाथरुमबाट अचेल फायर अलार्म, सोप डिस्पेन्सर, पेपर न्यापकिन, ऐना, स्यानिटाइजर जस्ता सामान गायब भइरहेका छन् । यहाँसम्म कि केही स्कुलका शिक्षकका डेस्कसमेत चोरी भएको बताइएको छ ।

कयौं कोसिसका बावजुद शिक्षक तथा विद्यालयहरू यस किसिमको गतिविधि रोक्न असमर्थ छन् । उनीहरूलाई यी चिजवस्तु कहाँ कसले किन लगिरहेको छ भन्ने जानकारी समेत हुँदैन । तर टिकटकमा शेयर गरिएका भिडिओमा भने यस्ता चिजहरू चोरी भएको देख्न सकिन्छ ।

यो उन्माद टिकटक भिडिओबाट सुरु भएको हो । बाथरुम च्यालेञ्ज भन्ने गरिएको यो सनक ह्यासट्याग डेभियसलिक्स (#deviouslicks) का साथ शेयर हुने गरेको छ ।

गत सेप्टेम्बर १ मा एक टिकटक प्रयोगकर्ताले भिडिओ शेयर गरेका थिए । जसमा उनले स्कुलबाट चोरेको डिस्पोजेबल मास्कको बक्स आफ्नो झोलामा लुकाएर राखेका थिए ।

उक्त भिडिओ दुई लाख ३९ हजारभन्दा बढी पटक हेरिएको छ । केही दिनपछि सोही ह्यासट्यागमा स्कुलबाट स्यानिटाइजर चोरी गरेका भिडिओ शेयर हुन थाले । त्यसपछि अमेरिकाभर यो च्यालेञ्ज ट्रेन्डिङमा आयो ।

टिकटकमा एक महिना बित्न नपाउँदै यस्ता ९४ हजारभन्दा बढी भिडिओ आएका छन् । यो च्यालेञ्जले छात्र-छात्राहरूलाई चोरी गर्न उक्साएको छ । खासगरी सार्वजनिक विद्यालयमा छात्रछात्राले बाथरुम टायल, ह्यान्डरेल र पार्टिशन जस्ता सामग्री समेत उखेलेर लगेका छन् ।

फ्लोरिडाको पास्को काउन्टीका १० स्कुलमा त कुर्सीका खुट्टा भाँचेर बाथरुममा फ्याँकिएका छन् । महामारीपश्चात लामो समयको अन्तरालमा अमेरिकामा विद्यालयहरू खुलेका छन् ।

त्यसै पनि कठिन परिस्थिति झेलेर गुज्रिरहेका विद्यालयहरूलाई यो टिकटक च्यालेञ्जले अर्को चुनौती थपिदिएको छ ।

समाजशास्त्रीहरूका अनुसार महामारीका कारण लामो समय घरमा बन्द वातावरणमा बस्न बाध्य बालबालिका रमाइलोको लागि यस किसिमको हर्कमा उत्रिएका हुन् ।

क्यालिफोर्नियाँदेखि जर्जियासम्मका स्कुलका विद्यार्थीलाई यस किसिमका गतिविधि गरेको आरोपमा निलम्बन गर्ने, आपराधिक कार्य गरेको ठहर गर्ने र क्षतिपूर्ति तिराउनेसम्मका आदेश जारी गरिएको छ ।

साथै केही स्कुलले त कक्षा चालु रहँदाको समयमा बाथरुम बन्द राख्न थालेका छन् । द गार्डियनका अनुसार टिकटकका प्रवक्ताले चोरी कार्य गरेका ‘स्ल्याङ’ शब्द राखिएका भिडिओहरू हटाउन थालिएको बताएका छन् ।

साथै यो ह्यासट्यागलाई अहिले ध्वंसात्मक गतिविधि निरुत्साहित गर्नेतर्फ रिडाइरेक्ट गर्न थालिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१