close

विण्डोज टेनमा कुन होला सबैभन्दा फास्ट वेब ब्राउजर ?

टेकपाना टेकपाना

असोज ४, २०७८ १५:२०

विण्डोज टेनमा कुन होला सबैभन्दा फास्ट वेब ब्राउजर ?

काठमाडौं । तपाईंको कम्प्युटरमा हुने महत्वपूर्ण प्रोग्राममध्ये एक ‘वेब ब्राउजर’ हो । इन्टरनेट अर्थात् वर्ल्ड वाइड वेबमा पहुँच राख्न यस्तो एप्लिकेशन सफ्टवेयर अनिवार्य हुन्छ ।

बजारमा वेब ब्राउजरका धेरै विकल्प छन् । जसमा गुगल क्रोम, मोजिल्ला फायरफक्स, ओपेरा मिनी, ब्रेभ, माइक्रोसफ्ट एज आदि छन् ।

यीमध्ये बजार हिस्साका आधारमा पक्कै पनि गुगलको क्रोम ब्राउजर सबैभन्दा अघि छ । तर, स्पिडका आधारमा कुन अघि छ त ?

वास्तवमा ब्राउजरको सबैभन्दा महत्वपूर्ण पाटो स्पिड हो । ब्राउजर खोल्न लाग्ने समय, रिजल्ट अर्थात् भिडिओ/कन्टेन्ट खुल्न लाग्ने समयले पनि धेरै कुरा निर्धारण गरिरहेको हुन्छ ।

त्यो हिसाबले यहाँ बजारमा उपलब्ध चर्चित १० वेब ब्राउजरलाई एकै ठाउँमा राखेर अध्ययन गरिएको छ । जसमा गुगल क्रोम, माइक्रोसफ्ट एज, मोजिल्ला फायरफक्स, ओपेरा, भिभाल्डी, ब्रेभ आदि छन् । यो सूचीमा इन्टरनेट एक्सप्लोर ११ पनि समावेश गरिएको छ ।

तर, सुरुमै सुझाव के छ भने यदि तपाईं इन्टरनेट एक्सप्लोर प्रयोग गरिरहनु भएको छ भने त्यसलाई तत्कालै बन्द गरेर अर्को ब्राउजर प्रयोग गर्नु सबैभन्दा उपयुक्त हो ।

यहाँ उल्लेखित ब्राउजरमध्ये फायरफक्सबाहेक अन्य सबै उस्तै हुन् । किनभने सबैले क्रोमियम कोडमा परिवर्तन गरी आफूलाई फरक बनाउने प्रयास गरेका छन् ।

तर, कार्यक्षमताका आधारमा यी सबै फरक-फरक छन् । त्यसैले हामीले विण्डोज टेनमा आधारित भएर यी ब्राउजरहरुको स्पिड परीक्षण गरिरहेका छौं ।

जेटस्टिम २

जेटस्टिम २.० वेब एप्लिकेशनहरुको बेन्चमार्क पत्ता लगाउने एउटा टुल हो । जसले छिट्टो खुल्ने, कोड कार्यान्वयनको समय, स्मुथनेशका आधारमा वेब ब्राउजरको बेन्चमार्क गर्दै आएको छ ।

यसका अनुसार क्रोम सबैभन्दा अघि छ । क्रोमले ११४.१३२ अंक प्राप्त गरेको छ । भने, १०५.९५ अंकका साथ ओपेरा दोस्रो स्थानमा छ ।

त्यस्तै माइक्रोसफ्ट एज १०३.७४ अंकका साथ तेस्रो स्थानमा र भिभाल्डी १००.४३७ अंकको साथ चौथों नम्बरमा छ ।

पाँचौ नम्बरमा ब्रेभ ब्राउजर छ । यसले ९९.२३१ अंक हासिल गरेको छ ।

स्पिडोमिटर २.०

यो प्लेटफर्म पनि वेब ब्राउजरहरुको बेन्चमार्ककै लागि परिचित छ । एप्पलको वेब किटले निर्माण गरेको यो प्लेटफर्मले पनि बढी अंकलाई नै आधारमा मान्दै आएको छ ।

त्यो हिसाबले क्रोम ब्राउजर १२४ अंकको साथ पहिलो नम्बरमा छ । माइक्रोसफ्ट एज १०९.१ अंकका साथ दोस्रो स्थानमा छ ।

त्यस्तै ९९.३ अंकका साथ ओपेरा तेस्रो र ९०.३ अंकको साथ फायरफक्स चौंथौ नम्बरमा छ ।

अक्टेन २.०

अक्टेन २.० गुगलको जाभास्क्रिप्टमा आधारित वेब ब्राउजरको बेन्चमार्क गर्ने प्लेटफर्म हो । यो प्लेटफर्मले मोजिल्ला फायरफक्सलाई भने सपोर्ट गर्दैन । त्यो हिसाबले यसमा मोजिल्ला फायरफक्स समावेश छैन ।

त्यसबाहेकका वेब ब्राउजरमा पक्कै पनि गुगल क्रोम सबैभन्दा अघि छ । गुगल क्रोमले ३९,८२८ अंक हासिल गरेको छ । भने, ३७,७८९ अंकका साथ ओपेरा दोस्रो स्थानमा छ ।

त्यस्तै ३६,४१७ अंकका साथ भिभाल्डी तेस्रो र ३७,०७२ अंकका साथ ब्रेभ चौथो नम्बरमा छ । यो सूचीको पाँचौं स्थानमा माइक्रोसफ्ट एजले ३७,०१९ अंक पाएको छ ।

वेबएक्सपर्ट ३.०

वेबएक्सपर्टको सबैभन्दा पछिल्लो भर्सन वेब ब्राउजरको बेन्चमार्किङका लागि सबैभन्दा राम्रो प्लेटफर्म हो ।

बेन्चमार्क प्रोफेसनलले निर्माण गरेको भएकाले पनि यसको प्रयोग धेरै हुने गरेको छ । यसले पनि वेब ब्राउजरको स्पिड, कोड, कार्यक्षमताका आधारमा अंक प्रदान गरेको छ ।

त्यो हिसाबले फायरफक्सले यसमा बाजी मारेको छ । फायरफक्सले २१३ अंक हासिल गर्दा दोस्रो स्थानमा रहेको क्रोमले १८४ अंक हासिल गरेको छ ।

त्यस्तै माइक्रोसफ्ट एज र ओपेराले समान १७८ अंक हासिल गरेका छन् । भने, भिभाल्डीले १७० अंक हासिल गर्दा ब्रेभले १६५ अंक हासिल गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१