close

दशैंको मुखमा बजारमा मोबाइल अभाव

टेकपाना टेकपाना

असोज ५, २०७८ १७:३४

दशैंको मुखमा बजारमा मोबाइल अभाव

काठमाडौं । हरेक वर्ष नेपालमा मोबाइलको आयात वृद्धि भइरहेको छ । पछिल्लो दुई वर्षमा काेभिड-१९ महामारीका कारण अनलाइनमा समय बिताउनेको संख्या बढेसँगै मोबाइलको खपत पनि त्यहीअनुसार बढिरहेको छ ।

त्यसको प्रभाव मोबाइल बजारमा आयातमा देखिएको छ भन्दा फरक नपर्ला । भन्सार विभागको तथ्याङ्कले पनि त्यस्तै देखाउँछ । गत आर्थिक वर्ष २०७७/०७८ को पहिलो महिना अर्थात साउन महिनामा कुल चार अर्ब २६ करोड ४९ लाख रूपैयाँभन्दा बढीको चार लाख ७० हजार ६२१ सेट मोबाइल नेपालमा भित्रिएका थिए ।

त्यो संख्यामा झण्डै दुई लाखले वृद्धि हुँदै चालु आवमा ६ लाख ६७ हजार ५१८ सेट मोबाइल भित्रिएको छ । जसको मूल्य चार अर्ब ८२ करोड ६७ लाखभन्दा बढी छ ।

तर मोबाइल आयातमा आएको उल्लेख्य वृद्धिले पनि बजारमा मोबाइल अभावलाई भने रोक्न सकिरहेको छैन ।

सामसङ मोबाइलको आयातकर्ता आईएमएस ग्रुपका निर्देशक एवं मोबाइल फोन आयात संघका अध्यक्ष दीपक मल्होत्राले भने, ‘विश्व बजारमा चिपको अभाव देखिँदा नेपालमा त्यसकाे असर देखिएको छ । जसले गर्दा मोबाइल झर्न नपाउँदै सकिने खालको अवस्था सिर्जना भएको छ ।’

विशेषगरी सस्तो मूल्य (लो-रेन्ज) का स्मार्टफोनमा यो खालको समस्या बढी भएको बताउँदै उनले माथिल्लो रेन्जमा पनि बजारको मागअनुसार उत्पादन पुर्‍याउन सक्ने अवस्था नरहेको बताए ।

‘सामसङ ग्यालेक्सी जेड फोल्ड थ्रीको प्रि-अर्डरमा पनि अस्वभाविक माग आएको छ । जसलाई हामीले पुर्‍याउन नसकेर रोक्नुपर्ने सिर्जना भएको छ,’ उनले भने ।

अर्कोतर्फ साओमी मोबाइलको आधिकारिक बिक्रेता टेलिडाइरेक्ट प्रालि तथा मोबाइल फोन आयात संघका उपाध्यक्ष संजय अग्रवालले पनि बजारमा सस्तो मूल्यका स्मार्टफोन अभाव भएको जानकारी दिए ।

‘२० हजार मुनीका मोबाइलमा धेरै अभाव देखिएको हो,’ अग्रवालले भने, ‘नेपालमा सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन नै याे सेगमेन्टका छन् । विश्व बजारमा चिपकाे अभाव हुँदा त्यसको असर नेपाली बजारमा पनि देखिएको छ ।’

ताम्राकार मोबाइल व्यवसायी संघका अध्यक्ष जगत साउदका अनुसार कोरोना महामारीसँगै बजारमा मोबाइल अभाव सिर्जना हुन थालेको छ ।

‘सामसङ, साओमी, रियलमीलगायतका ब्राण्डका थाेरै मूल्य पर्ने फोन खासै उपलब्ध छैनन्’, साउद भन्छन्, ‘कतिपय ब्राण्डको मिडरेन्जका स्मार्टफोन पनि पाउन मुस्किल छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१