मेट्रो अनलाइन ट्याक्सी सेवा सुरू, न्यूनतम ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाइने

काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले स्थापना भएको मेट्रो अनलाइन ट्याक्सीले औपचारिक रूपमा सेवा सुरू गरेको छ ।

यस एपमार्फत ट्याक्सी सेवा अनलाइनमार्फत नै बुक गरेर घरमा बोलाउन सकिने सुविधा दिइएको छ । सेवाग्राहीले न्यूनतम ९९ रुपैयाँमा नै ट्याक्सी सेवा लिन सक्नेछन् ।

यसका लागि गुगल प्ले स्टोरमा मेट्रो अनलाइन ट्याक्सी एप उपलब्ध रहेको छ । यो सेवामा पाँच हजारभन्दा धेरै ट्याक्सी समावेश भएको भन्दै कम्पनीले आफ्नो प्लेटफर्मले नेपालको सबैभन्दा ठूलो ट्याक्सी नेटवर्क बनाएको दाबी गरेको छ ।

कम्पनीले आज बुधबार ट्याक्सी चालकका लागि अनलाइन ट्याक्सी सेवा र ग्राहकलाई प्रदान गर्ने सेवाका बारेमा अभिमूखीकरण तालिम पनि सञ्चालन गरेको छ ।

तालिममा अनलाइन ट्याक्सी सेवा सञ्चालन गर्ने, एपको प्रयोग गर्ने तरिका, ग्राहकसँग गरिने व्यवहार लगायतका विषयमा ट्याक्सी चालकलाई तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ ।

सो तालिमले आगामी दिनमा काठमाडौं उपत्यकाका सञ्चालनमा रहेका ट्याक्सी चालकको ग्राहकसँगको व्यवहार र सम्बन्धमा सुधार हुने र यसले ट्याक्सी सेवालाई मर्यादित तथा व्यवस्थित बनाउने कम्पनीका बजार व्यवस्थापन प्रमुख सुर्य तामाङ्गले जानकारी दिए ।

काठमाडौं उपत्यकामा सञ्चालन हुने सबै ट्याक्सी धनी र चालकहरुसँगको सहकार्यमा ट्याक्सीलाई अत्याधुनिक प्रविधियुक्त बनाउने, डिजिटल प्लेटफर्महरुको अधिकतम उपयोग गर्ने उद्देश्यले काम गरिरहेको कम्पनीकाे दाबी छ ।

मेट्रो अनलाइन ट्याक्सीमा यात्रुले न्यूनतम रुपैयाँमा नै ट्याक्सी सेवा उपयोग गर्नसक्ने कम्पनीका प्रशासनिक प्रमुख रविन्द्र भुपाल प्रधानले जानकारी दिए ।

‘हामीले हालसम्मकै सस्तो भाडादरमा आधारित भएर ट्याक्सी सेवा दिनेछौं । यसमा न्यूनतम ९९ रुपैयाँमा नै यात्रुले ट्याक्सी चढ्न सक्नेछन्,‘ प्रशासनिक प्रमुख प्रधानले भने।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team