close

एप्पलको अपडेटका कारण आम्दानी घटेपछि फेसबुकलाई तनाव

टेकपाना टेकपाना

असोज ७, २०७८ ६:४२

एप्पलको अपडेटका कारण आम्दानी घटेपछि फेसबुकलाई तनाव

काठमाडौं । आईओएस एपहरूले कसरी प्रयोगकर्तालाई ट्र्याक गरिरहेका छन् भन्ने विषयमा केन्द्रित रहेर एप्पलले आफ्नो प्राइभेसीमा गरेको परिवर्तनले फेसबुकको व्यवसाय प्रभावित भएको छ ।

बुधबारको एउटा ब्लग पोस्टमा कम्पनीका प्रोडक्ट मार्केटिङका उपाध्यक्ष ग्राहम मडले अनावश्यक झन्झटका कारण व्यवसायहरूले सामाजिक सञ्जालमा विज्ञापन गर्न थप कठिनाइ भोग्नुपरेको बताएका छन् ।

उनले अगाडि थप्दै भनेका छन्, ‘आईओएसको पछिल्लो अपडेटसँगै प्लेटफर्ममा आएको विपरीत किसिमको परिवर्तनले दोस्रो त्रैमासिकको तुलनामा तेस्रो त्रैमासिकमा एकदमै ठूलो प्रभाव पारेको छ ।’

गत जुलाईमा एप्पलले आईओएसको सफ्टवेयरमा एउटा अपडेटमार्फत आईफोनका लागि विकास गरिने सफ्टवेयरमा डेभलपरले प्रयोगकर्तालाई ट्रयाक गर्नुअघि अनुमति लिनुपर्ने व्यवस्था गरेको थियो ।

फेसबुकले अनलाइनमा प्रयोगकर्तालाई लक्षित गरी हुने विज्ञापनबाट अर्बौं डलर आम्दानी गर्दै आएको छ । एप्पलको प्राइभेसी परिवर्तनले फेसबुकको यही व्यवसायमा धक्का लागेको हो ।

फेसबुकका सीईओ मार्क जुकरबर्गले एप्पलको नयाँ मागका कारण साना व्यवसायलाई चोट पुग्ने र इन्टरनेटमा उनीहरूको लागत बढ्ने बताएका छन् ।

ब्लग पोस्टमा फेसबुकले भनेको छ कि यसबाट वेबसाइटको अन्तरक्रियामा अनुमानित १५ प्रतिशतले गिरावट आएको छ । जसले गर्दा प्लेटफर्ममा विज्ञापन क्याम्पेन मापन गर्न थप असहज बनेको छ ।

फेसबुकले जुलाईको आम्दानी प्रतिवेदन सार्वजनिक गर्दा समेत एप्पललाई यस्तै किसिमको चेतावनी दिएको थियो । जसमार्फत उसले आईओएसको परिवर्तनले आफ्नो तेस्रो त्रैमासिकको विज्ञापन व्यवसायमा असर पर्ने बताएको थियो । तर एप्पलले भने फेसबुकको अनुरोधलाई बेवास्ता गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१