close

ह्वावे र साओमी फोनमा ‘ब्युल्ट-इन’ साइबर सुरक्षा जोखिम !

टेकपाना टेकपाना

असोज ७, २०७८ ११:८

ह्वावे र साओमी फोनमा ‘ब्युल्ट-इन’ साइबर सुरक्षा जोखिम !

काठमाडौं । लिथुआनियाका साइबर सुरक्षा विज्ञहरूले सरकारी निकायहरूलाई चीनमा बनेका स्मार्टफोनको प्रयोग त्याग्न आग्रह गरेका छन् । अनुसन्धानका क्रममा केही मोबाइल उपकरणमा संवेदनशील सुरक्षा जोखिम देखिएको र सेन्सरसिपको विषयलाई लिएर उनीहरूले यस्तो सुझाव दिएका हुन् ।

लिथुआनियाको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले ह्वावे र साओमीले बनाएका उपकरणमा चार वटा मुख्य साइबर सुरक्षा जोखिम भेटिएको जनाएको छ । जसमध्ये दुई वटा जोखिम प्रि-इन्स्टल्ड एप र व्यक्तिगत जानकारी लिक गर्ने विषयसँग सम्बन्धित छन् ।

जसका कारण दुई चिनियाँ ब्राण्ड प्रयोग गर्ने विषयमा चेतावनी दिइएको हो । साथै साओमी फोनमा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रतिबन्ध लाग्नसक्ने जोखिम रहेको विषय समेत औंल्याइएको छ ।

जसमा चिनियाँ क्यारेक्टरका ४४९ किवर्ड र किवर्डको समूहलाई फिल्टर गर्ने फिचरसँग सम्बन्धित छ । केन्द्रले यो फिचर जुनसुकै बेला सक्रिय हुनसक्ने चेतावनी दिँदै त्यसमा ल्याटिन क्यारेक्टर समेत थप हुनसक्ने सम्भावना औंल्याएको छ ।

लिथुआनियाको प्रतिवेदनअनुसार एपले सेन्सर गरिएका शब्द तथा शब्द समूहको सूचीको अपडेट प्राप्त गर्ने गरेको र त्यसलाई ब्लक गर्ने क्षमता राख्दछ । शब्द समूहमा ‘फ्री तिब्बत’, ‘भ्वाइस अफ अमेरिका’, ‘डेमोक्र्याटिक मुभमेन्ट’ र ‘लङ्ग लाइभ ताइवान इन्डिपेन्डेन्स’ लगायतका शब्द समूह रहेका छन् ।

यद्यपि लिथुआनियाको केन्द्रले यो कन्टेन्ट फिल्टरिङ फिचर डिसेबल (निस्क्रिय) गरिएको तथा सेन्सरसिपले काम नगरेको अवस्थामा पाइएको उल्लेख गरेको छ । तर यो फिचर जुनसुकै समयमा एक्टिभेट हुनसक्ने भन्दै उसले यस्तो चेतावनी दिएको हो ।

ह्वावेका प्रतिनिधिले केही अन्तर्राष्ट्रिय मिडियामा दिएको बयानमा कम्पनीका फोनले प्रयोगकर्ताको डेटा बाह्य पक्षलाई उपलब्ध नगराउने बताएका छन् ।

त्यस्तै साओमीका प्रवक्ताले भनेका छन्, ‘उपकरणले प्रयोगकर्ता तथा सञ्चारमाथि कुनै किसिमको सेन्सर गर्दैन । साओमीले आफ्ना स्मार्टफोन प्रयोगकर्ताको सर्चिङ, कलिङ, वेब ब्राउजिङ र सञ्चारका ‘थर्ड-पार्टी’ सफ्टवेयर प्रयोग गर्नेजस्ता व्यक्तिगत व्यवहारमाथि कहिल्यै पनि प्रतिबन्ध लगाएको छैन र भविष्यमा लगाउने पनि छैन ।

साओमीले पूर्णतः सबै प्रयोगकर्ताको कानूनी अधिकारलाई सम्मान र रक्षा गर्दछ । साओमीले युरोपियन युनियनको जनरल डेटा प्रोटेक्सन रेगुलेसन (जीडीपीआर) का सबै मापदण्ड समेत पालना गर्दछ ।’

लिथुआनियाको साइबरसेक्युरिटी सेन्टर त्यहाँको रक्षा मन्त्रालयको एजेन्सी हो । जसले अर्को चिनियाँ कम्पनी वनप्लसले बनाएका स्मार्टफोनमाथि समेत अनुसन्धान गरेको थियो । तर त्यसमा त्यस्तो कुनै समस्या नदेखिएको उल्लेख छ ।

‘हामी सख्त रुपमा आग्रह गर्दछौं कि राज्य तथा सार्वजनिक संस्थाले ती स्मार्टफोन प्रयोग नगरून् र मन्त्रालयहरू र राज्यका विभिन्न अन्य निकायका लागि खरिद गरिने उपकरण नियमन गर्ने दिशामा कदम चालियोस्,’ रक्षा मन्त्रालयका उप-मन्त्री मार्गियास अबुकेभिसियसले बुधबार भनेका छन् ।

२०० भन्दा बढी सार्वजनिक निकायहरूले त्यस्ता स्मार्टफोन खरिद गरेका छन् र ४५०० भन्दा बढी फोन प्रयोगमाा छन् । ‘जसले हाम्रो विचारमा जोखिम बढाउने काम गरेको छ,’ अबुकेभिसियसले भनेका छन् ।

तर उनले त्यस्ता सबै फोनको बारेमा तोकेर उल्लेख गरेका छैनन् ।

‘मंगलबार सार्वजनिक भएको केन्द्रको अनुसन्धान प्रतिवेदनले आफ्नो देशमा फाइभजीको सुरक्षित प्रयोगका लागि बिक्री हुने उपकरण र त्यसमा हुने सफ्टवेयर सुरक्षित रहेको सुनिश्चित गर्नुपर्नेमा समेत जोड दिएको छ,’ उनले भनेका छन् ।

प्रयोगकर्ताले समेत फोनभित्र के छ भन्ने कुराको जानकारी राख्नुपर्ने भन्दै उपमन्त्रीले खरिद गर्नुअघि निश्चित सफ्टवेयर र सुरक्षा सतर्कताको विषयमा विचार पुर्‍याउन आग्रह गरेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१