close

आफ्नो सकारात्मक समाचार मात्र बुस्ट गर्ने योजनामा फेसबुक

टेकपाना टेकपाना

असोज ७, २०७८ १८:५४

आफ्नो सकारात्मक समाचार मात्र बुस्ट गर्ने योजनामा फेसबुक

काठमाडौं । प्रयोगकर्ताको न्युज फिडमार्फत आफ्ना सकारात्मक सूचना र स्टोरीमात्र बुस्ट गर्ने योजना फेसबुकले ल्याएको छ । दी न्यू योर्क टाइम्सका अनुसार गत जनवरीमा कम्पनीको प्रशासनले ‘प्रोजेक्ट एम्प्लिफाई’ नामको एक योजनाको लागि पहल गरेका थियो ।

यसअन्तर्गत फेसबुकसँग सम्बन्धित राम्रा समाचारहरू न्युज फिडमा बुस्ट गर्ने र कम्पनीले लेखेका समाचार तथा सूचनालाई बढी हाइलाइट गर्ने प्रस्ताव थियो । यही पहललाई कम्पनीका संस्थापक एवं सीईओ मार्क जुकरबर्गले व्यक्तिगत रुपमा अगस्टमा नै स्वीकारोक्ति दिएका थिए ।

त्यसपश्चात यो योजनाको परीक्षणस्वरुप कम्पनीले तीन वटा सहरमा आएको परिवर्तनको बारेमा ‘क्विक प्रोमोट’ टुलको सहायतामा अध्ययन गरेको दि न्यु योर्क टाइम्सको रिपोर्टमा उल्लेख छ ।

यस विषयमा इन्साइडरलाई जानकारी दिँदै कम्पनीले भनेकाे छ, ‘यसले न्युज फिडको र्‍याङ्किङमा कुनै पनि प्रभाव नपारेको हामीले पाएका छौं । यद्यपि, यो नै पहिलो परीक्षण भने होइन र यो कर्पोरेट जिम्मेवारीभित्र पनि पर्दछ।’

केही समयअगाडि मात्र कोभिडको विषयमा गलत र नकारात्मक सूचना फैलाएको भन्दै फेसबुकलाई आरोप लागेको थियो । यसले कम्पनीलाई धेरै समस्यामा पारेको थियो ।

यो विषयमा फेसबुकले आफूहरूले त्यस्ताे कुनै पनि काम नगरेको दाबी गरेको थियो । फेसबुकले विगतका विभिन्न घटनाहरूमा पनि कुनै स्वीकारोक्ति जनाएको थिएन ।

प्रोजेक्ट एम्प्लिफाईको विषयमा पनि कम्पनीले आफ्नो बचाउ गर्दै धारणा प्रस्तुत गरेको छ । आफ्नो कम्पनीले विगत केही समयमा भोगेको कुराहरू प्रयोगकर्ताले थाहा पाउनुपर्ने भन्दै आफ्नो जानकारी आउने दिनमा झनै विस्तारित रुपमा प्रस्तुत गर्ने कम्पनीको भनाइ रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१