close

विभिन्न फिचरका साथ सार्वजनिक भयो गुगल क्रोमको नयाँ भर्सन

टेकपाना टेकपाना

असोज ८, २०७८ १७:२५

विभिन्न फिचरका साथ सार्वजनिक भयो गुगल क्रोमको नयाँ भर्सन

काठमाडौं । गुगलले हरेक चार हप्तामा क्रोमको नयाँ भर्सन सार्वजनिक गर्ने गर्छ । यसैबीच क्रोमको ९४ भर्सन सार्वजनिक भएको छ । जस अन्तर्गत एचटीटीपीएस, शेयरिङ मेन्यु लगायत अन्य थुप्रै फिचरहरू थपिएका छन् । त्यतिमात्रै नभएर अब आफ्नो ड्राइभमा भएको फाइलहरू हेर्नको लागि ड्राइभ नै खोलिरहनु पर्ने झन्झटको पनि अन्त्य भएको छ ।

त्यसका लागि क्रोमको न्यु ट्याब खोलेसँगै त्यहाँ ‘फ्रम योर गुगल ड्राइभ’ भन्ने सर्टकट उपलब्ध हुनेछ । जहाँबाट तपाईंले भर्खरै प्रयोग गर्नु भएको अथवा सेभ गर्नु भएको गुगल ड्राइभका फाइल हेर्न सक्नुहुनेछ । यसको अर्थ सबै फाइल नै त्यही बाट खोल्न सकिन्छ भन्ने होइन् । कम्पनीका अनुसार पछिल्लो तिन ओटा फाइलमात्रै त्यहाँबाट हेर्न सकिने छ ।

तर, त्यसका लागि क्रोम अपडेट भने गर्नुपर्ने हुन्छ । यद्यपि तपाईंलाई यो व्यवस्था मन परेन भने रिमुभ पनि गर्न सक्नुहुन्छ ।

एचटीटीपीएस अपग्रेड

यो भन्दा अगाडि गुगलले क्रोम ९० मा ‘एचटीटीपीएस’ लाई डिफल्ट गरेको थियो । यसको अर्थ क्रोममा एचटीटीपीएस सपोर्ट गर्ने वेबसाइटहरू मात्र उपलब्ध हुन्छन् भन्ने हो । क्रोम ९४ मा भने कम्पनीले एचटीटीपीएस-फस्ट मोड उपलब्ध गराइएको छ । जसले स्वत: रुपमा वेबसाइटहरूलाई एचटीटीपीएसमा अपग्रेड गर्ने जनाइएको छ ।

डेस्कटपमा नयाँ शेयरिङ मेन्यु

सामान्यतया फाइल शेयरिङको लागि मोबाइल एपहरूले सहज टुल उपलब्ध गराएको हुन्छ । यस्तै शेयरिङका लागि क्रोम ९४ मा पनि शेयरिङ टुल ‘शेयरिङ हब’ उपलब्ध गराइएको छ । हाललाई यो फिचर इनेबल भइसकेको छैन तर इनेबल भइसकेपछि भने तपाईंले डेस्कटपमा क्रोम प्रयोग गर्दा एड्रेस बारमा नयाँ शेयरिङ आइकन देख्नुहुनेछ ।

सो आइकनमा क्लिक गरेपछि तपाईंले लिंक कपी, कास्टिङ, शेयर अन फेसबुक, ट्वीटर लगायत विभिन्न अप्सनहरू पाउनुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१