close

४० करोड लागतमा थप ५ सय चार्जिङ स्टेसन निर्माण हुँदै

टेकपाना टेकपाना

असोज ९, २०७८ ७:३

४० करोड लागतमा थप ५ सय चार्जिङ स्टेसन निर्माण हुँदै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले थप पाँच सयवटा चार्जिङ स्टेसन निर्माण गर्ने भएको छ । स्टेसन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन शुक्रबार सूचना सार्वजनिक गरेको छ । प्राधिकरणले राजमार्ग, बसपार्क, शपिङ मल, सिनेमा भवन, शिक्षण संस्था, अस्पताल, होटल, रेस्टुरेन्ट एवं अन्य सार्वजनिक स्थलमा चार्जिङ स्टेसन निर्माण गर्न चाहनेलाई सम्पर्क गर्न आह्वान गरेको हो ।

स्टेसन निर्माण निजी तथा सार्वजनिक संस्थासँगको सहकार्यमा निर्माण गरिने प्राधिकरणले जनाएको छ । पाँच सयवटा चार्जर जडान गर्ने योजनासहित जग्गा प्राप्तिको सूचना सार्वजनिक गरिएको प्राधिकरणका चार्जिङ स्टेसन परियोजना प्रमुख सागर ज्ञवालीले जानकारी दिए ।

प्राधिकरणले देशका प्रमुख राजमार्गका ३२ स्थानमा ५० वटा चार्जिङ स्टेसन निर्माण कार्य सुरु गरेको छ । प्राधिकरणले विद्युतीय सवारी साधनलाई लक्षित गरी चार्जिङ स्टेसन निर्माण सुरु गरेको हो ।

चार्जिङ स्टेसन पूर्वपश्चिम राजमार्ग, पृथ्वी, सिद्धार्थ, बीपी र मदनभण्डारीलगायतका राजमार्गमा स्थापना गर्न लागिएको हो । स्टेसनहरू सय किलोमिटर दूरीको अन्तरमा निर्माण गरिने छ । नौ महिनाभित्र कार्य सम्पन्न भइसक्ने प्राधिकरणले जनाएको छ । प्रमुख ज्ञवालीले भने, ‘अबको नौ महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता हो, तर छ/सात महिनामै सक्ने योजनामा छौं ।’

उनका अनुसार, विद्युतीय स्टेसनबाट कार आधा घण्टामा र बस एक घण्टामा पूर्ण रूपमा चार्ज हुनेछ । चार्जिङ स्टेसनमा दुई सय किलोवाटको ट्रान्सफरमर राखिने छ । पहिलो चरणमा ८२ स्थान सूचीकृत भएकोमा ३२ स्थानमा स्टेसन स्थापना गरिने प्राधिकरणले जनाएको छ । चार्जिङ स्टेसन निर्माणका लागि स्थान छनोट भइसकेको छ ।

चीनको जियाङ्सु वाङदाङ न्यून इनर्जी टेक्नोलोजी कम्पनीले चार्जिङ स्टेसन बनाउने जिम्मा पाएको छ । प्राधिकरणले आठ महिनाअघि सो कम्पनीसँग निर्माण सम्झौता गरेको थियो ।

स्टेसनको लागत ४० करोड
एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा चार्जिङ स्टेसन निर्माण गरिन लागेको हो । एउटा चार्जिङ स्टेसन निर्माणमा करिब ८० लाख रुपियाँ खर्च लाग्छ । ५० वटा स्टेसन निर्माणका लागत ४० करोड रुपियाँ विनियोजन गरिएको छ । प्रमुख राजमार्ग तथा सवारीको चाप हेरेर एकै स्थानमा दुईवटासम्म चार्जिङ स्टेसन स्थापना गरिने जनाइएको छ ।

हरेक प्रदेशमा पाँचवटा स्टेसन रहनेछन् । त्यस्तै काठमाडौँ उपत्यकामा १० वटा र बाँकी पाँचवटा अन्य आवश्यक स्थानमा राखिने जनाइएको छ । प्राधिकरणका अनुसार चार्जिङ स्टेसन सञ्चालनमा आएपछि थप सात हजार किलोवाट विद्युत् खपत हुनेछ ।

सुविधा सम्पन्न स्टेसन
चार्जिङ स्टेसन सुविधा सम्पन्न हुनेछन् । मोबाइल एप्सबाट चार्ज गर्ने समय र स्थान बुक गर्नुका साथै अनलाइन भुक्तानी गर्न सकिने छ । ५० वटै स्टेसनको कन्ट्रोल काठमाडौँबाट हुनेछ ।

स्टेसनमा यात्रुहरू ‘फ्रेस’ हुन खेल तथा खाना, खाजाका लागि रेस्टुरेन्टको व्यवस्था हुनेछ । खाजा, खानाको समयमा चार्ज गर्न सकिने भएकाले यात्राको समय खर्च हुँदैन । एकै पटकमा तीनवटा सवारी साधन चार्ज गर्न मिल्ने छ ।

हाल सञ्चालनमा आएका निजीस्तरका विद्युतीय बसहरूले आ-आफ्नै ग्यारेजमा चार्ज गर्दै आएका छन् । –गोरखापत्र

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१