close

जुमलाई टक्कर दिन ब्रेभ ब्राउजरमा आधारित भिडिओ कन्फ्रेन्सिङ सेवा ‘ब्रेभ टक’ सार्वजनिक

टेकपाना टेकपाना

असोज ९, २०७८ ७:५८

जुमलाई टक्कर दिन ब्रेभ ब्राउजरमा आधारित भिडिओ कन्फ्रेन्सिङ सेवा ‘ब्रेभ टक’ सार्वजनिक

काठमाडौं । गत वर्ष आफ्नै सर्च इन्जिन सार्वजनिक गरेको ब्रेभ सफ्टवेयरले हालै गोपनीयता लक्षित भिडिओ कन्फ्रेन्सिङ फिचर सार्वजनिक गरेको छ ।

ब्राउजरभित्रै निर्माण गरिएको यो फिचरलाई ब्रेभ टक (Brave Talk) नाम दिइएको छ । योसँगै अब ब्रेभ ब्राउजरका प्रयोगकर्ताले सुरक्षित र गोपनीयतासँग लक्षित भिडिओ कन्फ्रेन्सिङ सेवा लिन सक्ने भएका छन् ।

ब्रेभमार्फत सिधै कल गर्नसक्ने यो सुविधा सुरक्षित र गोपनीयतामैत्री भएको कम्पनीको दाबी छ । ब्रेभ टक क्यामेरा आइकनमा क्लिक गरेको भरमा प्रयोगकर्ताले यो सेवा सहजै लिन सक्ने कम्पनीले जनाएको छ ।

साथै डेस्कटक वा मोबाइलमा ब्रेभ ब्राउजरमार्फत टक डट ब्रेभ डट कममा गएर भिडिओ कल सुरू गर्न सक्नेछन् । ब्राउजरबाटै अरूलाई भिडिओ कन्फ्रेन्समा जोडिनका लागि प्रयोगकर्ताले इन्भाइट गर्न सक्नेछन् ।

‘सर्भिस भिडिओ मिटिङ प्लेटफर्म’ का रूपमा विकास गरिएको ब्रेभ टक ओपन सोर्स जित्सीबाट सञ्चालित छ । कम्पनीले यसमा महत्वूर्ण प्राइभेसी फिचर समावेश गरेको जनाएको छ ।

हाल बजारमा रहेका जुम र अन्य धेरै भिडिओ कन्फ्रेन्सिङ प्रोभाइडरले प्रयोगकर्ताको कल, मेटाडेटा, इमेज लगायतमा पहुँच र निगरानी राख्ने गरेको आरोप लगाइन्छ ।

तर ब्रेभ टकमा प्रयोगकर्तालाई विभिन्न तहको इन्क्रिप्सन सुविधा दिइएको छ । साथै ब्रेभ सफ्टवेयरको सर्भरले पनि प्रयोगकर्ताको कुनै पनि मेटाडेट सेभ गर्दैन, जसकारण प्रयोगकर्ताको अनुमतिबिना कल, इमेज, र अन्य गतिविधि रेकर्ड वा शेयर हुँदैन ।

अर्को कुरा ब्रेभ टक ब्रेभ ब्राउजरमै उपलब्ध भएकाले प्रयोगकर्ताले कुनै पनि अतिरिक्त एप वा एक्सटेन्सन डाउनलोड गर्नुपर्दैन ।

प्राइभेसी फिचरका साथै ब्रेभ टकमा भिडिओ ग्रुप वाच, युट्युव लाइभ स्ट्रिमिङ र अनलिमिटेड कलको सुविधा पनि दिइएको छ ।

यद्यपि तीन वा सोभन्दा बढी मानिससँग कल होस्ट गर्नुपरे प्रतिमहिना ७ डलरमा ब्रेभ टकको प्रिमियम भर्सन अपग्रेड गर्न सकिने जनाइएको छ । जसबाट कल रेकर्डिङ र होस्टिङ टुल जस्तै सहभागीका लागि म्युट गर्ने मिल्ने फिचर, पासकोड राख्ने फिचर लगायतका सुविधा प्राप्त गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१