close

अब गुगलले भन्नेछ ‘बाटोमा हिँड्दा घोप्टो परेर मोबाइल नचलाउनुस्’

टेकपाना टेकपाना

असोज ९, २०७८ ८:५३

अब गुगलले भन्नेछ ‘बाटोमा हिँड्दा घोप्टो परेर मोबाइल नचलाउनुस्’

काठमाडौं । गुगलले एन्ड्रोइडमा विभिन्न नयाँ फिचर सार्वजनिक गर्ने क्रम जारी छ । यसैबीच गुगलका आउँदै गरेका केही नयाँ फिचर प्रयोगकर्ताका लागि निकै आकर्षित र उपयोगी हुने अनुमान गरिएको छ ।

एन्ड्रोइडका लागि आउन लागेका नयाँ फिचरमध्ये एक हो ‘हेड्स अप’ फिचर । यो फिचरले बाटोमा हिँड्दा मोबाइल प्रयोग नगर्न तपाईंलाई नोटिफिकेसन दिन्छ । अर्थात तपाईं घोप्टो परेर मोबाइल चलाउँदै हिँड्नु भएको छ भने ‘हेड्स अप’ फिचरले यसो नगर्न तपाईंलाई निर्देशन दिन्छ । यसको लागि तपाईंले रिमाइन्डर भने सेट गर्नुपर्ने हुन्छ ।

यसरी नै एन्ड्रोइडमा नयाँ फिचर ल्याउने दौडमा गुगलले अपाङ्गमैत्री केही नयाँ फिचरहरू पनि ल्याएको छ । पक्षघात भएका प्रयोगकर्तालाई ध्यानमा राख्दै गुगलले एन्ड्रोइडमा नयाँ फेसियल गेस्चर कन्ट्रोल र न्यून दृष्टि भएको वा दृष्टिविहीनका लागि ह्यान्डराइटिङ रिकग्निशन फिचर सार्वजनिक गरेको छ ।

फेसियल गेस्चर कन्ट्रोल दुई प्रकारको छ: एउटा क्यामेरा स्विच र अर्को प्रोजेक्ट एक्टिभेट एप । यी दुवै फिचरको सहायताले प्रयोगकर्ताले विभिन्न गतिविधिका लागि आफ्नो फेसियल गेस्चर अर्थात् मुहारको हाउभाउ प्रयोग गर्न सक्छन् ।

क्यामेरा स्विचको सहायताले प्रयोगकर्ताले आफ्नो डिभाइसलाई विभिन्न कमान्ड दिन सक्छन् । जस्तै मुख खोल्दा अथवा आँखीभौँ उचाल्दा क्यामेरा अन हुने वा फोटो हेर्न मिल्छ ।

यो फिचर एन्ड्रोइड १२ को बेटा भर्सनमा पनि देख्न सकिन्छ । त्यसैगरी प्रोजेक्ट एपको प्रयोग गरेर प्रयोगकर्ताले विभिन्न गतिविधिका लागि फेसियल गेस्चरहरू सेट गर्न सक्नुहुन्छ । गीत बजाउन, म्यासेज पठाउन वा अन्य कामका लागि यसरी फेसियल गेस्चर सेट गर्न सकिन्छ ।

कम्पनीका अनुसार लकआउटको ह्यान्डराइटिङ रिकग्निशन फिचरमा ल्याटिन भाषा पढ्न मिल्ने बनाइएको छ । अर्थात प्रयोगकर्ताले ल्याटिन भाषाको कुनै डकुमेन्ट पढ्नु पर्ने भएमा यो काम ह्यान्डराइटिङ रिकग्निशन फिचरले पढिदिन्छ । त्यस्तै यो फिचरले युरो र भारतीय मुद्रा पनि चिन्न सक्छ ।

यो लगायत अन्य फिचर, जस्तै गुगल असिस्टेन्ट, डिजिटल वेलबिङ, नियर बाई शेयर र गुगल एन्ड्रोइड किबोर्ड थप परिष्कृत भएर आउँदै छ । एन्ड्रोइड ११ भन्दा माथिको सम्पूर्ण फोनहरूमा टाइपिङका लागि जिबोर्ड प्रयोग गर्नुभएको छ भने अब तपाईंले टाइप गर्दै गर्दा तपाईंको वाक्य पुरा गर्न जिबोर्ड आफैंले स्मार्ट कम्पोजमार्फत तपाईंको वाक्य पुरा गर्न सहयोग गर्छ ।

यो फिचर जिमेल र गुगल डक्समा भने पहिलेदेखि नै उपलब्ध छ । यो फिचर पहिले पिक्सेलका फोनमा भने उपलब्ध थियो ।

कपी पेस्ट फिचरमा पनि अब फरक-फरक विवरण फरक-फरक रुपमा नै पेस्ट हुनेछ । अर्थात तपाईंले एकैपटक फोन नम्बर, ईमेल र ठेगानाको विवरण कपी गर्नुभएको छ भने कतै पेस्ट गर्दा त्यो एउटै वाक्यमा नभई फरक-फरक पेस्ट हुनेछ ।

त्यसैगरी नेयर बाई शेयर फिचरमा अब तपाईंले फाइल शेयर गर्दा कसले तपाईंको डिभाइसमा पहुँच राख्नसक्ने वा नसक्ने भनेर सेटिङ मिलाउन सक्नुहुन्छ ।

यी सबै फिचरका बारेमा गुगलले जानकारी दिँदै आएपनि प्रयोगकर्ताले कहिलेदेखि यी फिचरहरू प्रयोग गर्न पाउनेछन् भन्ने विषयमा कुनै पनि आधिकारिक भनाइ राखेको छैन ।

यद्यपि एन्ड्रोइड १२ चाँडै नै सार्वजनिक हुने हुँदा यी फिचरहरू एन्ड्रोइड १२ मा उपलब्ध हुने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१