close

विदेशीको नाममा फेसबुक आईडी बनाएर नेपाली महिला ठग्ने ‘पादरी’ पक्राउ

टेकपाना टेकपाना

असोज ९, २०७८ ९:३७

विदेशीको नाममा फेसबुक आईडी बनाएर नेपाली महिला ठग्ने ‘पादरी’ पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत पार्सल पठाइदिने भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

फेसबुक, म्यासेञ्जर, ह्वाट्सएप, ईमोजस्ता माध्यमबाट प्रयोगकर्ता महिलालाई ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले भारत दार्जिलिङ जिल्ला सिलगुढी पानीघट्ट बजारका सन्दीप क्षेत्रीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले फेसबुकमा न्यान्सी मिचेलको नामबाट प्रयोगकर्ता महिलालाई फ्रेन्ड रिक्वेस्ट पठाएर कुराकानी गर्ने गरेका थिए ।

त्यस क्रममा उनले आफूलाई यूकेको नागरिक बताउने गरेको, र विश्वास कायम गरी प्रेम समेत गर्ने बताएर बिभिन्न प्रकारका उपहारहरू पार्सल पठाएको बताउने गरेको प्रहरीले बताएको छ ।

त्यसपछि बिभिन्न कागजात सहित पार्सल ट्रयाकिङ गर्ने नम्बर समेत उपलब्ध गराएर र पीडितलाई विश्वासमा पारी पाँच लाख १० हजार  ठगी गरेको भन्दै पीडितले उजुरी दिए पश्चात प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।

त्यस क्रममा उक्त कार्यमा संलग्न भारतीय नागरिक सन्दीप क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय झापासँगको समन्वयमा महाशाखाले क्षेत्रीलाई पक्राउ गरिएको हो ।

आफूलाई प्रेन्टी क्रोस्टल (पानीटङ्की सिलगुढी) चर्चको पादरी रहेको भन्दै उनले चर्चको बिभिन्न धार्मिक कार्यक्रममा भेट भएका महिलाहरूलाई क्रिस्चियन धर्मसँग सम्बन्धित विभिन्न संघसंस्था तथा व्यक्तिहरूले सहयोग गरेको रकम आफ्नो खातामा झिकाउन नमिल्ने भएको कारण देखाउँदै विश्वासमा पार्ने गरेका थिए ।

त्यसपछि खाता खोल्न लगाएर आफूले ठगी गरेको रकम महिलाहरूको खातामा जम्मा गरी भुक्तानी लिने गरेको  खुल्न आएको पाइएपछि प्रेन्टी क्रोस्टलका पादरीलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाइएको हो । हाल यस विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१