close

सामान्य तथ्याङ्कको आवश्यकता पुरा गर्दा विश्वकै उत्कृष्ट सहर बन्यो चाँगुनारायण

टेकपाना टेकपाना

असोज ९, २०७८ १२:२४

सामान्य तथ्याङ्कको आवश्यकता पुरा गर्दा विश्वकै उत्कृष्ट सहर बन्यो चाँगुनारायण

काठमाडौं । नेपालमा तथ्याङ्कको विषयलाई लिएर सधैंजसो विवाद हुने गरेको छ । देशको तथ्याङ्क संकलन गर्ने केन्द्रीय तथ्याङ्क विभाग, भन्सार विभाग, नेपाल राष्ट्र बैंक लगायतको तथ्याङ्क नै एक अर्कासँग मिल्दैन ।

केन्द्रका संस्थामा त यस्तो स्थिति छ भने प्रदेश तथा स्थानीयस्तरका सरकारी कार्यलयका तथ्याङ्कप्रति विश्वास नहुनु स्वभाविकै हो ।

यद्यपि यही तथ्याङ्कमा देखिएको विवाद र झन्झटलाई आफ्नै हिसाबले आफ्नो ठाउँमा समाधान गर्नको लागि भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका ओपन डेटा प्रविधिको प्रयोग गरेर विश्वैमै चिनिन सफल भएको छ ।

नगरपालिकामा पुराना खोजिएका तथ्याङ्कहरू नभेटिने अनि सर्वसाधारणलाई आवश्यक तथ्याङ्क खोज्दा समस्या हुन थालेपछि नगरपालिकाले गत वर्षदेखि ओपन डेटा प्लेटफर्मको अवधारणा बनाएर अगाडि बढेको छ ।

यही क्रममा नेपालको सबैभन्दा सानो जिल्लाको चाँगुनारायण नगरपालिका ओपन डेटा प्लेटफर्म बनाउने विश्वकै १० उत्कृष्ट सहरभित्र पर्न सफल भएको छ ।

अमेरिकाको न्यू योर्क विश्वविद्यालयअन्तर्गतको सिटी इन्क्युबेटर प्रोग्रामले आयोजना गरेको ओपन डेटा पोलिसी ल्याब कार्यक्रम अन्तर्गत विश्वका अन्य ९ सहरसहित चाँगुनारायण नगरपालिका पनि सूचीकृत हुन सफल भएको हो ।

‘हाम्रो यात्रा त सामान्य छरपस्ट तथ्याङ्कलाई एकै ठाउँमा ल्याउने र कार्यलय अनि सेवाग्राही दुवैलाई आवश्यक तथ्याङ्कको उपलब्धता सहज गराउने उद्देश्यले हामीले सामान्य तथ्याङ्कको समस्या समाधान मात्र गर्न खोजेका थियौं । दैनिक तथ्याङ्क स्टोर गर्न पनि हामीलाई समस्या भइरहेको थियो । सामान्य तथ्याङ्कको लागि पनि पुन सर्वेक्षण गर्नुपर्ने आवश्यकतालाई सम्बोधन गर्न हामीले जीआईएस आधारित नगरपालिकाको ओपन डेटा प्लेटफर्म निर्माण गर्ने सोचेका हौं,’ नगरपालिकाको सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपानेले भने ।

उनले अगाडि भने, ‘विश्वका ठूला-ठूला देशको सूचीमा हाम्रो देशको एउटा स्थानीय निकाय पनि पर्नु भनेको आफैंमा गौरव हुने कुरा हो । आगामी दिनमा हामी हाम्रो अभ्यास र सेवालाई थप परिस्कृत बनाउनेछौं ।’

नक्सासँगको सहकार्यमा नगरपालिकाको विभिन्न शाखा एवं निकायहरुबाट दैनिक विभिन्न ढाँचामा सूचना र जानकारी एकीकृत र जीआईएस म्यापिङ गरी आफ्नै पोर्टलमा पनि सार्वजनिक गरिसकेको छ ।

यो वेबसाइटमार्फत कार्यलय र सेवाग्राही दुवैले आफ्नो आवश्यकता अनुसारको तथ्याङ्क प्राप्त गर्न सक्छन् । उपलब्ध तथ्याङ्कहरू पीडीएफ, वर्ड अथवा एक्सेल आफ्नो आवश्यकता अनुसारको फर्म्याटमा डाउनलोड गर्न सकिनेछ ।

यस प्लेटफर्मले नगरपालिकामा रहेका विभिन्न प्रणाली एवं सफ्टवेयरमा उत्पादन भएका रिपोर्टलाई डेटाको रुपमा विकास गरी एपीआईमार्फत एकीकृत गरी जीआईएस नक्साकंन समेत गर्नेछ ।

यस पोर्टलमा नगरपालिकाको जनसंख्या, नक्सा, कार्ययोजनाहरू, पर्यटन लगायतका तथ्याङ्कसँगै नगरपालिकासँग सम्बन्धित अन्य नीति तथा कार्यक्रम, कार्यप्रगति लगायतका विवरणहरू समावेश गरिएको छ । यसरी एकीकृत गरिएका डेटालाई एमआईएस र जीआईएस दुई माध्यमबाट हेर्न र डाउनलोड गर्न सकिनेछ ।

पोर्टल व्यवस्थापनको लागि दुईजना जनशक्ति राखिएको उनले बताए । पछि भने तीनजना डेटा भोलियन्टर राखेर काम गर्ने योजना भएको उनले बताएका छन् ।

पोर्टल तथा डेटा डेभलपमेन्टसम्बन्धी नगरपालिकाका कर्मचारीलाई दुई महिने तालिम पनि सञ्चालन भइरहेको उनले बताए ।

‘यस विषयमा सबैजना नयाँ छन् । सिक्नुपर्ने अझै थप कुरा छन् । त्यसैले कर्मचारीका लागि डेटा डेभलपमेन्ट तालिम पनि आयोजना गरेका छौं, उनले भने, ‘अहिलेको सम्पत्ति भनेको नै तथ्याङ्क हो । यसको निर्माता हामी नै हौं भने यसको आवश्यकता पनि हामीलाई नै पर्छ । ओपन डेटा प्लेटफर्मले यो काम सहज बनाइदिएको छ ।’

यति मात्र होइन, नगरपालिकाले हाल अन्य अनलाइन माध्यम दर्ता चलानी तथा सिफारिस व्यवस्थापन प्रणाली, नगर प्रोफाइल व्यवस्थापन प्रणाली, राजस्व एवं लेखा व्यवस्थापन प्रणाली, परीक्षा व्यवस्थापन प्रणाली, स्वास्थ्य तथ्याकं व्यस्थापन प्रणाली, शिक्षा तथ्याकं व्यवस्थापन प्रणाली, जिन्सी व्यवस्थापन प्रणाली, चाँगुनारायण टुरिस्ट मोबाइल एप्लिकेसन तथा विपद् सूचना पोर्टल पनि सञ्चालन गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१