close

अमेरिकी प्रतिबन्धले ह्वावेलाई ३५ खर्ब घाटा

टेकपाना टेकपाना

असोज ९, २०७८ १३:९

अमेरिकी प्रतिबन्धले ह्वावेलाई ३५ खर्ब घाटा

काठमाडौं । अमेरिकी प्रतिबन्धका कारण आफूले करिब ३० अर्ब अमेरिकी डलर (करिब ३५ खर्ब २८ अर्ब ६० करोड रूपैयाँ) घाटा बेहोर्नुपरेको चिनियाँ कम्पनी ह्वावेले बताएको छ ।

अमेरिकाको पछिल्लो प्रतिबन्धलाई सम्बोधन गर्दै ह्वावे टेक्नोलोजीका अध्यक्ष एरिक सु जिजुनले प्रतिबन्धका कारण कम्पनीले ठूलो घाटा सामना गर्नुपरेको उल्लेख गरेका हुन् ।

यद्यपि कम्पनीले यसबाट नयाँ कुरा सिक्ने मौका पाएको बताएका छन् । ‘सन् २०१९ को मे महिनादेखि हामीलाई अमेरिकी प्रतिबन्धको बानी लागिसकेको छ,’ उनले भने, ‘अब चाहे यो प्रतिबन्ध थप होस् वा नहोस् हामी हाम्रो तरिकाले अगाडि बढिरहने छौं ।’

बिहीवार अमेरिकी वाणिज्य सचिव जिना रेमोन्डोले आवश्यक परेको खण्डमा चिनियाँ टेलिकम्युनिकेसन कम्पनीविरुद्ध कदम चाल्ने घोषणा गरेपछि शुक्रबार बेइजिङमा प्रेस सम्मलेन गरेर अमेरिकी प्रतिबन्ध आफूलाई अब बानी परिसकेको ह्वावेका अध्यक्षले बताएका हुन् ।

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले २०१९ को मे महिनामा ह्वावेले अमेरिकी सरकारको अनुमतिबिना कुनै पनि व्यापारिक कारोबार गर्न नपाउने गरी कालोसूचीमा राखेको थियो ।

यो प्रतिबन्धलाई अमेरिकी प्रशासनले २०२० को सेप्टेम्बरमा ह्वावेका लागि चिप आपूर्तिमा रोक लगाएर थप बढाएको थियो । यो वर्षको पहिलो ६ महिनामा ह्वावेको आम्दानी गत वर्षको भन्दा २९।४ प्रतिशतले घटेको छ ।

अध्यक्ष सुका अनुसार आफ्नो नयाँ व्यवसाय र फाइभजी सेवा विस्तारसहित कम्पनीले बेहोरेको यो घाटा रिकभर गर्न ह्वावेलाई धेरै वर्ष लाग्नेछ ।

‘फाइभजी प्रविधि विस्तार र अन्य क्षेत्रको व्यापारबाट ३० अर्बदेखि ४० अर्ब अमेरिकी डलरको घाटा उठाउनु निकै लामो समय लाग्नेछ,’ उनले थपे ।

पछिल्लो समयमा ह्वावेले एडभान्स चिपको कम आवश्यकता पर्ने स्मार्ट कारलगायतमा लगानी गरिरहेको छ । कम्पनीले आपूर्तिमा लगाएको प्रतिबन्धको राम्रोसँग अध्ययन गरिरहेको सुले बताएका छन् ।

‘बजार आपूर्तिका राम्रो प्रत्याभूत भएका कारण हामीले अटो व्यवसाय पनि सुरु गर्ने निर्णय गरेका हौं । बजारमा यदि हामीले यो गर्न सक्दैनौं भन्ने खालको प्रतिक्रिया आउथ्यो भने हामीले सुरु नै गर्दैन थियौं होला,’ उनले भने, ‘चीनमा एउटा भनाइ छ ‘जिन्दगीमा सधैं अगाडि बढ्ने बाटो हुन्छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१