close

डिजिटल करेन्सी प्रचलनमा ल्याउन भुटानले सुरु गर्‍यो पाइलट परियोजना

टेकपाना टेकपाना

असोज ९, २०७८ १४:४५

डिजिटल करेन्सी प्रचलनमा ल्याउन भुटानले सुरु गर्‍यो पाइलट परियोजना

काठमाडौं । छिमेकी देश भुटानले डिजिटल करेन्सी (मुद्रा) प्रचलनमा ल्याउन पाइलट परियोजना सुरु गरेको छ । भुटानको ‘रोयल मोनेटरी अथोरिटी’ ले बिहीवार एक विज्ञप्ति जारी गर्दै यस विषयमा जानकारी दिएको हो ।

अथोरिटीका अनुसार यसका लागि अमेरिकी कम्पनी रिप्पल ल्याबसँग सहकार्य गरिएको छ । इन्टरप्राइज ब्लकचेन प्रदायक र क्रिप्टो सोलुसन प्रदायक यो कम्पनीले भुटानको सीमा पार भुक्तानीका लागि केन्द्रीय बैंक डिजिटल मुद्रा (सीबीडीसी) सम्बन्धी पाइलट परियोजनामा काम गर्दैछ ।

सीबीडीसी भुटानको केन्द्रीय बैंकले जारी गरेको मुद्राको डिजिटल स्वरूप हुनेछ । तर केन्द्रीय बैंकले सीबीडीसीमा काम गर्नुको पछाडि भने विभिन्न कारण छन् ।

यसबाट भुटानीको जीवनयापनलाई सहज बनाउने डिजिटल रुपान्तरणलाई गति दिन समेत यसको भूमिका रहने विश्वास गरिएको छ ।

सर्वसाधारणका लागि हालसम्म मुद्रा नगदको रुपमा मात्र उपलब्ध हुँदै आएको छ । अब भने नगद प्रयोग र स्वीकार गर्ने कार्यको विकल्पको रुपमा सीबीडीसीले काम गर्नेछ ।

२१ औँ शताब्दीको समयमा भुटानको मुद्रा नेगुल्ट्रमको डिजिटल विकल्पले देशको कार्यकुशलता र नवप्रवर्तनमा सघाउ पुग्ने विश्वास गरिएको छ ।

रिप्पलको दीगो ब्लकचेन प्रविधिको सहयोगमा रोयल मोनेटरी अथोरिटी अफ भुटानले पाइलट परियोजनाको रुपमा खुद्रा, सीमापार तथा होलसेल कारोबारमा डिजिटल नेगुल्ट्रम मुद्रा प्रचलनमा ल्याउनेछ ।

बैंकहरू, भुक्तानी सेवाप्रदायकहरू र अन्य सम्बन्धित सरोकारवालाहरूमा यसलाई ट्रायलको रुपमा परीक्षणमा ल्याइनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१