close

ओके जर्नीमा अनलाइनसँगै फोनबाट समेत बसको टिकट काट्ने सुविधा

टेकपाना टेकपाना

असोज १२, २०७८ १७:५४

ओके जर्नीमा अनलाइनसँगै फोनबाट समेत बसको टिकट काट्ने सुविधा

काठमाडौं । ओके जर्निको मोबाइल एपबाट अनलाइनसँगै कल गरेर बसको टिकेट काट्न सकिने भएको छ । एपमा हालै मात्र यो नयाँ सुविधा थप भएको हो ।

कम्पनीका संस्थापक तथा कार्यकारी निर्देशक राजश दाशले हाल देशभरका ६० भन्दा बढी रुटमा चल्ने बसको टिकेट ओके जर्नीमा उपलब्ध रहेको जानकारी दिए ।  यातायात क्षेत्रलाई केन्द्रिकृत गर्दै डिजिटलाइज गर्न र यात्रुको आरामदायी सुविधालाई मध्यनजर गर्दै कम्पनीले आफ्नो सेवा विस्तार गरिरहेको छ ।

अनलाइनमा बुक गरेको टिकेट उता टिकेट काउन्टरबाट समेत बिक्री भइसकेको हुने समस्या समेत आफूहरूले अन्त्य गरेको दाशले बताए । यसका लागि ओके जर्नीले गत महिनादेखि आफ्नो एपबाट सोझै सम्बन्धित बस चालक तथा कर्मचारीलाई कल गर्ने सुविधा समेत थपेको छ ।

ओके जर्नीले बसहरूका लागि इन्टरनेट बिना भिडिओ हेर्न मिल्ने वाई-फाई सिस्टम ‘ओके ट्युव’ समेत उपलब्ध गराउँदै आएको छ । यसको सहयोगमा बसमा यात्रा गर्दा इन्टरनेट बिनै आफ्नो मोबाइल तथा ल्यापटपमा फिल्म तथा म्युजिक भिडिओ हेर्न सकिन्छ ।

ओके जर्नीको मोबाइल एपमा अनलाइन तथा अफलाइन टिकट खरिद गर्ने दुवै सुविधा उपलब्ध छन् । यात्रुहरूले ओके जर्नी मोबाइल एप डाउनलोड गरेपछि आफू जान चाहेको रुट चयन गर्नुपर्ने हुन्छ ।

त्यससँगै उपलब्ध बसका कर्मचारीहरूको नम्बर देख्न सकिन्छ । जसमा कल गरेर टिकेट बुक गर्न सकिन्छ । बस कर्मचारीसँगको आपसी सहमतिमा टिकेट बुक गरी काउन्टरमै गएर भाडा तिर्ने अथवा ई-सेवा तथा खल्ती लगायतका अनलाइन भुक्तानीका माध्यम रोज्ने दुवै विकल्प ओके जर्नीले दिँदै आएको छ ।

हाल एन्ड्रोइडमा मात्र रहेको ओके जर्नीको एप चाँडै आईओएसका लागि समेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१