close

स्मार्टवाच मगाउँदा दराजबाट आइपुग्यो ‘क्यामेरा माउन्ट’ !, अर्डर तलमाथि हुँदा के गर्ने ?

टेकपाना टेकपाना

असोज १२, २०७८ २०:११

स्मार्टवाच मगाउँदा दराजबाट आइपुग्यो ‘क्यामेरा माउन्ट’ !, अर्डर तलमाथि हुँदा के गर्ने ?

काठमाडौँ । साहित्यकार रमेश सायन व्यक्तिगत कामको सिलसिलामा यतिखेर बुटवल छन् । उनले तीन दिन अघि आफ्नो एकजना भाइलाई उपहार दिनको लागि दराजबाट स्मार्टवाच अर्डर गरे ।

सोमबार उनी कामको सिलसिलामा होटेल बाहिर निस्किएका थिए । दराजको डेलिभरी भनिएको समयमै (दुई दिनभित्रै) आइपुग्यो । होटेलको रिसेप्सनमा फोन गरेर उनले आफ्नो सामान बुझिदिन आग्रह गरे ।

होटेल फर्केर प्याकेट खोल्दा त्यसमा स्मार्टवाचको साटो ‘क्यामेरा माउन्ट’ भेटियो । क्यामेरा माउन्ट भनेकाे क्यामेरालाई ट्राइपोडसँग जोड्ने किला हो ।

लगत्तै उनले दराजबाट स्मार्टवाच मगाउँदा अर्कै सामान आइपुगेको भन्दै सामाजिक सञ्जालमार्फत भिडिओ पोस्ट गरे । जुन फेसबुक, ट्वीटर र टिकटकमा चर्चाको विषय बनेको छ । हामीले यस विषयमा थप बुझ्ने प्रयास गरेका छौँ ।

टेकपानासँगको कुराकानीमा सायनले दराजमा सामान फिर्ताको प्रक्रिया अगाडि बढाइसकेको बताए । ‘पैसा फिर्ता हुन १० दिन लाग्ने भन्ने जानकारी आएको छ,’ उनले भने ।

यसअघि पनि दराजबाट सामान गरेका सायनले त्यस्तो अनुभव गरेका थिएनन् । अर्डर गरेको भन्दा अर्कै सामान आएपछि डेलिभरी गर्नेलाई नै सम्पर्क गरेर रिटर्न गर्न आग्रह गरेको उनले सुनाए ।

‘मैले बुझेसम्म दराजको आफ्नै स्टोर हुँदैन । अर्डर लिने ठाउँबाटै गलत प्याकेजिङ भएर आएको हुनसक्छ,’ उनले भने । सामान अर्कै आए पनि बिल भने स्मार्टवाचकै आएको उनले बताए ।

अर्डर डिटेल हेर्दा चाबहिल ठेगाना रहेको अमाजन अनलाइन स्टोरले सामान पठाएको देखिन्छ । ‘मैले चिनेको त दराज मात्रै हो,’ सायन अगाडि भन्छन्, ‘त्यसैले यस्तो कुरामा हामीले दोष देख्ने पनि दराजकै हो ।’

दराजकी प्रमुख ग्राहक अधिकृत सम्झना सुवेदीले यो विषय आफ्नो जानकारीमा आइसकेको बताउँछिन् । ‘दराज सामान्य ईकमर्स प्लेटफर्म नभएर अनलाइन मार्केट प्लेस हो,’ उनी भन्छिन्, ‘त्यसैले यसको बिजनेस मोडेल नै फरक हुन्छ । हामीकहाँ हजारौं बिक्रेता हुन्छन्, जसले दैनिक रुपमा ग्राहकलाई सामान बिक्री गरिरहेका हुन्छन् ।’

बिक्रेताको कमजोरीका कारण यस किसिमको घटना घटेपनि आफूहरू नपन्छिने उनले बताइन् । ‘खासगरी क्याम्पेनको समयमा धेरै अर्डर आउने भएकाले यस्ता केही समस्या आउने गरेका छन्,’ सीसीओ सुवेदी भन्छिन्, ‘मानवीय त्रुटिका कारण यस्तो समस्या आएको हो ।’

दराजबाट आफूले अर्डर गरेको भन्दा अर्कै सामान डेलिभरी भए ७ दिनभित्र फिर्ता गर्न सकिने उनले बताइन् । दराजबाट जुन सामान अर्डर भएको हो ग्राहकले त्यही सामान पाउन् भनेर बिक्रेतालाई दराजले तालिम दिने गरेकाे सुवेदीले जानकारी दिइन् ।

ग्राहकको संरक्षणको लागि दराज सचेत भएको उनले बताइन् । ग्राहकले सामान फिर्ताको लागि एपबाटै प्रक्रिया अघि बढाउन सक्ने सुवेदीको भनाई छ । ग्राहकले फिर्ता गरेको सामान दराजको टिमले गुणस्तर जाँच गर्ने गरेको उनले बताइन् ।

दराजले बिक्रेतालाई सामान फिर्ता गरेपछि ग्राहकले सामानको रकम फिर्ता पाउने उनले बताइन् । सायनको हकमा पनि पैसा फिर्ताको प्रक्रिया अघि बढिसकेको  सुवेदीले बताइन् । ग्राहकको गुनासो सुन्नको लागि दराजले लाइभ च्याटको सुविधा पनि दिइरहेको सुवेदीले जानकारी दिइन् ।

‘बिहान ७ बजेदेखि राति ९ बजेसम्म एजेन्टसँग कुरा गर्न मिल्छ । कसैलाई फिर्ता गर्ने प्रक्रिया थाहा नहुन सक्छ,’ उनले भनिन्, ‘लाइभ च्याटमा ३० सकेन्डमै रिप्लाई गर्छौँ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१