close

टिकटक अधिग्रहणको असफल प्रयास माइक्रोसफ्टका लागि अहिलेसम्मकै ‘अनौठो चिज’

टेकपाना टेकपाना

असोज १४, २०७८ ८:४१

टिकटक अधिग्रहणको असफल प्रयास माइक्रोसफ्टका लागि अहिलेसम्मकै ‘अनौठो चिज’

काठमाडौं । अगस्ट २०२० तत्कालीन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ एप टिकटकमाथि प्रतिबन्ध लगाउने धम्की दिएका थिए । संभावित प्रतिबन्ध टार्न टिकटकको  स्वामित्वकर्ता कम्पनी बाइटडान्सले माइक्रोसफ्टलाई साझेदारको रुपमा भित्र्याउने प्रस्ताव अगाडि सार्‍यो ।

एप अमेरिकाका लागि राष्ट्रिय सुरक्षाको चुनौति बनेको भन्दै ट्रम्पले केही हिस्सा अमेरिकी कम्पनीलाई बिक्री गर्नुपर्ने दबाब दिएका थिए । अन्ततः टिकटकले आफ्नो शेयर बिक्रीका लागि ओराकललाई छनौट गर्‍यो, यद्यपि त्यो सौदा पनि कहिल्यै पुरा भएन ।

कोडकन्फ्रेन्सका क्रममा प्रविधि पत्रकार कारा श्वीशेरसँगको अन्तर्वार्तामा माइक्रोसफ्टका सीईओ सत्य नादेल्लाले टिकटकको प्रस्ताव आफूलाई एकदमै अनौठो लागेको बताएका छन् । उनको भनाईमा टिकटक एउटा रोचक उत्पादन थियो र माइक्रोसफ्टमा राम्रोसँग गाँसिने किसिमको थियो ।

किन भने यो एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रयोग भएको क्लाउडमा आधारित  सामाजिक सञ्जाल थियो । ट्रम्पले टिकटकको स्वामित्व बिक्रीका लागि १५ सेप्टेम्बर २०२० सम्मका लागि अन्तिम म्याद दिँदै अन्यथा प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए ।

तर त्यसअघि नै कम्पनी खरिद गर्ने आफ्नो प्रस्ताव नै रद्द भएको माइक्रोसफ्टले सार्वजनिक गरेको थियो । त्यसपछि उक्त दौडमा वालमार्ट र ओराकल मात्र बाँकी रहे । तर केही महिनाको ढिलाई हुँदा ट्रम्पको कार्यकाल सकियो र कानूनी चुनौति पनि मत्थर हुँदै गयो । 

अहिले आएर नादेल्लाले त्यस समयका केही थप जानकारीको खुलासा गरेका छन् । जसमा राष्ट्रपति ट्रम्पले त्यसबाट के प्राप्त गर्न खोजिरहेका थिए भन्ने कुराका पछाडि एउटा दृष्टिकोण थियो, त्यसैकारण उक्त सौदाबाट माइक्रोसफ्ट पछि हट्नु पर्‍यो । प्रशासनको आवश्यकताको विषय ‘ठ्याक्कै गायब’ भयो ।  

यसै वर्षको जुनमा राष्ट्रपति जो बाइडेनले टिकटक र विच्याट सहितका चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेश फिर्ता लिएका थिए । तर अमेरिकाको वाणिज्य विभागले भने चीन जस्ता ‘विदेशी विरोधीको क्षेत्राधिकार’ मा रहेका एपहरूमाथि नियमित समिक्षा गरिरहने बताएको थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१