close

टेलिकम तथा इन्टरनेट प्रदायकको साइबर सुरक्षा अडिट गर्ने कम्पनीको सूचि तयार पारिँदै

टेकपाना टेकपाना

असोज १४, २०७८ १०:५६

टेलिकम तथा इन्टरनेट प्रदायकको साइबर सुरक्षा अडिट गर्ने कम्पनीको सूचि तयार पारिँदै

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियमनकारी निकायको रुपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षा सम्बन्धी कम्पनीको रोष्टर तयार पार्ने भएको छ । नियामकले साइबर सुरक्षा विनियमावली अनुरूपको कार्य गर्नका लागि अडिटर तथा क्लाउड अडिटरको रुपमा साइबर सुरक्षा परामर्श तथा अडिट फर्म रोष्टर बनाएर प्रकाशित गर्ने भएको हो ।

रोष्टरमा सूचिकृत हुने साइबर सुरक्षा परामर्शदाता कम्पनी तथा अडिट फर्महरूले प्राधिकरणबाट अनुमतिपत्र प्राप्त गरेका दूरसञ्चार कम्पनी तथा मोबाइल सेवा प्रदायक, नेटवर्क सेवाप्रदायक र इन्टरनेट सेवाप्रदायक लगायतको सूचना सुरक्षा (इन्फरमेसन सेक्युरिटी) अडिट तथा क्लाउड सेक्युरिटी अडिटको काम गर्न पाउनेछन् ।

विशेष सीप, क्षमता र अनुभवको आधारमा छनौट हुने यस्ता साइबर सुरक्षा कम्पनीहरू मध्येबाट मात्रै दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायकले निश्चित किसिमको सेवा लिन सक्नेछन् । रोष्टरमा समावेश हुन चाहने साइबर सुरक्षा कम्पनीहरूका लागि प्राधिकरणले आवश्यक न्यूनतम योग्यता समेत तोकेको छ ।

नियामकले प्रकाशन गरेको सूचना अनुसार रोष्टरमा समावेश हुन चाहने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै कम्पनीहरूबाट आवेदन माग गरिएको हो । कम्पनीहरूलाई चालु आर्थिक वर्षभित्र सकेसम्म छिटो ईमेल वा हार्ड कपीको रुपमा आवेदन दिन प्राधिकरणले आग्रह गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१