close

‘इन्टरनेटको तार काटिएर सेवा अवरुद्ध भए विद्युत् प्राधिकरण जिम्मेवार’

टेकपाना टेकपाना

असोज १४, २०७८ १९:२८

‘इन्टरनेटको तार काटिएर सेवा अवरुद्ध भए विद्युत् प्राधिकरण जिम्मेवार’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भोलि शुक्रबार अर्थात असोज १५ गतेबाट परिमार्जित भाडा दर अनुसार सम्झौता नवीकरण र हाल सम्मको बक्यौता नतिर्ने इन्टरनेट र केबल सेवा प्रदायकको तार काट्ने चेतावनी दिँदै आएको छ । यसैबीच इन्टरनेट र केवल व्यवसायीका विभिन्न संठगनले संयुक्त विज्ञप्ति जारी गर्दै तार काट्ने र उपकरण हटाउने काम भए त्यसको जिम्मेबारी विद्युत प्राधिकरणले लिनु पर्ने बताएका छन् ।

प्राधिकरणले विभिन्न मितिमा सार्वजनिक सूचना नै जारी गर्दै बढेकाे मूल्य अनुसार पोल भाडा तिर्ने र पुरानो बक्यौता तिर्न १५ गतेसम्मको अल्टिमेटम दिँदै आएको थियो । त्यसैलाई सम्बोधन गर्दै नेपाल इन्टरनेट सेवा प्रदायक संघ, नेपाल केबल टेलिभिजन व्यवसायी महासंघ, नेपाल डिजिटल टिभी प्रदायक संघ तथा नेपाल केबल टेलिभिजन महासंघले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै तार काटेर सेवा अवरुद्ध भए त्यसको जवाफदेही प्राधिकरण नै हुनुपर्ने बताएका हुन् ।

‘कुनै अध्ययन र सरोकारवालासँग छलफल नै नगरी एकतर्फी रुपमा केवल टेलिभिजन तथा इन्टरनेट सेवालाई धराशायी बनाउने नियत राखी प्राधिकरणले साविकको तुलनामा अस्वभाविक रुपमा पोल भाडा वृद्धि गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नयाँ भाडादर अनुसार शुक्रबारसम्म सम्झौता गर्न र नगरेमा प्राधिकरणले विद्युतीय पोलमा जडान भएका अप्टिकल फाइबर तथा अन्य उपकरणहरू हटाउने जनाएको छ ।’

‘यदि सूचना अनुसार प्राधिकरणले विद्युत पोलमा जडान भएका केबल तथा इन्टरनेट सेवा प्रदायकका अप्टिकल फाइबर तथा उपकरणहरू काटेमा/हटाएमा त्यसको जिम्मेबार प्राधिकरण आफै हुनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसबाट केबल टेलिभिजन तथा इन्टरनेट सेवाग्राहीमा पर्ने असर तथा परिणामको जवाफदेही नेपाल विद्युत प्राधिकरण हुनेछ ।’

प्राधिकरणले तीन वर्षअघि पोल भाडा बृद्धि गर्ने निर्णय गरेसँगै व्यवसायीले यसको विरोध गर्दै आएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५