close

इन्टरनेटको तार काट्ने सूचनाविरुद्ध सर्वोच्चमा मुद्दा

टेकपाना टेकपाना

असोज १५, २०७८ १९:५७

इन्टरनेटको तार काट्ने सूचनाविरुद्ध सर्वोच्चमा मुद्दा

काठमाडौं । आफ्नो पोल प्रयोगबापत भाडा नतिरे इन्टरनेट र केवल टिभीको तार काट्ने चेतावनीसहित नेपाल विद्युत प्राधिकरणले जारी गरेको सूचनाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ ।  

इन्टरनेट सेवा प्रदायकहरूको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) नेपालले  विद्युत प्राधिकरणले जारी गरेको पोल भाडा सम्बन्धी सार्वजनिक सूचना विरुद्ध अदालत पुगेको हो । आइस्पानले बुधबार नै सर्वोच्च अदालतमा प्राधिकरणले जारी गरेको सूचना विरुद्ध मुद्दा दायर गरेको अध्यक्ष सुधीर पराजुलीले बताए ।

प्राधिकरणले विभिन्न मितिमा सार्वजनिक सूचना जारी गर्दै बढेको मूल्य अनुसार पोल भाडा तिर्न र बक्यौता तिर्न असोज १५ गतेसम्मको अल्टिमेटम दिएको थियो । प्राधिकरणले आफ्नो सूचनामा तोकिएको समयमा भाडा नतिरे इन्टरनेट र केवल टिभीको तार काट्ने चेतावनी दिएको थियो ।  

इन्टरनेट सेवा प्रदायकले भने पोलको भाडा एकतर्फी रुपमा अस्वभाविक रूपले बढेको भन्दै त्यसमा समायोजन हुनुपर्ने माग राख्दै आएका छन् । 

प्राधिकरणले तार काट्ने चेतावनी सहित जारी गरेको सूचना खारेजीको माग गर्दै इन्टरनेट सेवा प्रदायकले मुद्दा दायर गरेका हुन् ।  

‘अत्यावश्यक सेवामा समावेश इन्टरनेटको अवरोध गर्ने गरी तार काट्ने चेतावनीसहित प्राधिकरणले जारी गरेको सूचना विरुद्ध हामी अदालत गएका हौं,’ आइस्पानका अध्यक्ष पराजुलीले भने, ‘निवेदनमा विद्युत प्राधिकरणलाई विपक्षी बनाइएको छ । जसमा प्राधिकरणले जारी गरेको सो सूचना खारेज गरी पाउँ भनी माग गरिएको छ ।’

यो विषयमा शुक्रबार अदालतमा छलफल हुने भनिएको थियो । शुक्रबार हुने भनिएको छलफल आइतबार सरेको पराजुलीले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५