close

प्राधिकरणले तार काट्न सुरु गरेपछि धमाधम बन्द हुन थाल्यो इन्टरनेट सेवा

टेकपाना टेकपाना

असोज १६, २०७८ ११:४४

प्राधिकरणले तार काट्न सुरु गरेपछि धमाधम बन्द हुन थाल्यो इन्टरनेट सेवा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्धारित मितिमा पोल भाडा नतिरेको भन्दै इन्टरनेट सेवाप्रदायकको केबल तार काट्न सुरु गरेको छ । इन्टरनेटको तार काट्न थालिएपछि कतिपय ठाउँमा इन्टरनेट सेवा नै अवरुद्ध भएको छ ।

यसैक्रममा प्राधिकरणको भरतपुरमा रहेको सबस्टेसन अगाडि रहेको पोलका इन्टरनेट तार समेत हटाइएका छन् । जसले गर्दा आफ्नो सम्पूर्ण इन्टरनेट सिस्टम नै डाउन भएको स्थानीय इन्टरनेट सेवाप्रदायक कम्पनी प्राइम नेटवर्कले जानकारी दिएको छ ।

कम्पनीका सञ्चालक शिव सुवेदीका अनुसार आफूहरूले पोल भाडा बुझाइसक्दा समेत प्राधिकरणका कर्मचारीले तार काटिदिएको बताए । ‘हामीले यस अघि नै पोल भाडा बुझाइसकेका छौँ,’ उनले भने, ‘तर अरुको तार काट्दा हाम्रो मुख्य लाइन नै चुँडालिएको छ ।’ प्राइम नेटवर्कको भरतपुर स्थित मुख्य सर्भरसँग जोडिएको तार नै काटिएपछि कम्पनीको सम्पूर्ण इन्टरनेट सेवा बन्द भएको छ ।

सुवेदीका अनुसार यसबाट बागलुङ, पर्वत, पोखरा, हेटौँडा, चितवन लगायतका क्षेत्रमा रहेको कम्पनीको सेवा अवरुद्ध भएको हो । प्राइम नेटवर्कसँगै ब्रोडलिङ्क र वेबसर्फरको समेत इन्टरनेट तार काटिएको छ ।

चितवनमा मात्र नभएर ताप्लेजुङ, धनगढी, बुटवल, लगायतका अन्य स्थानमा समेत इन्टरनेटको तार काटिएको इन्टरनेट सेवाप्रदायक संघ नेपालका अध्यक्ष सुधीर पराजुलीले बताए । ‘चितवनमा चाहिँ प्राधिकरणको ओपीजीडब्लू बाट निस्किएकै ठाउँमा तार काटिएको छ,’ उनले भने, ‘जसले गर्दा चितवन पुरै ब्ल्याकआउट नै भएको छ । प्राधिकरणले यस किसिमको दम्भ नरोकेसम्म हामी अवरुद्ध इन्टरनेट सेवा सुचारु गर्न सक्ने अवस्थामा छैनौँ ।’

इन्टरनेट मात्र नभएर चितवनमा राष्ट्रिय स्तरबाट गएको टेलिभिजन प्रसारण समेत बन्द भएको अध्यक्ष पराजुलीले बताए । ‘हामी समझदारीमा समस्या सुल्झाउने पक्षमा छौँ,’ उनले भने, ‘तर प्राधिकरण नेतृत्वले सम्वाद गर्नै चाहेको छैन । हामीले त्यसका लागि प्रयास गर्दा समेत बेवास्ता गरिएको छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५