close

आकर्षक अफरसहित ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई एनसेलको निःशुल्क सिम

टेकपाना टेकपाना

असोज १७, २०७८ ९:३२

आकर्षक अफरसहित ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई एनसेलको निःशुल्क सिम

काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले ज्येष्ठ नागरिकका  लागि बन्डल अफर सहितको आकर्षक निःशुल्क सिम योजना सार्वजनिक गरेको छ । कम्पनीले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०२१ को अवसरमा शुक्रबारबाट लागू हुने गरी यो योजना ल्याएको हो ।

योजना अन्तर्गत ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरूले निःशुल्क रुपमा एनसेलको  सिम लिन सक्नेछन् । जसमा ५० रुपैयाँ वा सो भन्दा बढीको हरेक रिचार्जमा छ महिनासम्म बोनसको रुपमा विभिन्न सेवा सुविधा पाउन सकिनेछ ।

यो योजना अन्तर्गत पहिलो ५० रुपैयाँ वा सो भन्दा बढीको रिचार्जमा ज्येष्ठ नागरिकहरुले १०० एमबी डेटा र १०० ओटा अन नेट एसएमएस बोनस पाउनेछन् । त्यस्तै पहिलो रिचार्जपछि ज्येष्ठ नागरिकहरूले थप विषेश छुट सहितका भ्वाइस, डेटा र भारत कल सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।

ग्राहकले विशेष छुट अन्तर्गत प्रति मिनेट एक रुपैयाँमा भ्वाइस कल सेवा, प्रति एमबी एक रुपैयाँमा डेटा सेवा र प्रति मिनेट १.९९  रुपैयाँमा भारतमा कल गर्न सक्नेछन् । यसका साथै यो योजना अन्तर्गत रिचार्जमा बोनसको सुविधा पनि रहेको छ ।

जसमा ५० देखि ९९ रुपैयाँसम्मको रिचार्जमा ज्येष्ठ नागरिकले सात दिनको समयसीमा रहेको २०० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । त्यस्तै १०० देखि १९९ रुपैयाँसम्मको रिचार्ज गर्ने ग्राहकले बोनस बापत ५०० एमबी डेटा पाउनेछन् ।

२०० वा सो भन्दा बढी रिचार्ज गर्ने ग्राहकले एक जीबी डेटा बोनसको रुपमा पाउनेछन् । बोनसमा पाइने डेटाको मान्य अवधि सात दिनसम्म हुनेछ । ज्येष्ठ नागरिकहरूले आफ्नो पासपोर्ट साइजको फोटो र नागरिकता लिएर नजिकैको एनसेल सेन्टरबाट सजिलै यो सिम कार्ड लिन सक्ने कम्पनीले जनाएको छ ।

यो योजना असोज २२ गतेसम्म सञ्चालनमा रहनेछ । यस योजनाले ज्येष्ठ नागरिकहरूलाई सहज र सुलभ दरमा गुणस्तरीय दूरसञ्चार सेवा सुनिश्चित गर्न मद्दत गर्ने र परिवारजनहरूसँग डेटाको माध्यमबाट सम्पर्कमा रहिरहन पनि सहयोग पुर्‍याउने विश्वास एनसेलले लिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५