close

धेरै ब्यान्डविथ खपत गरेको भन्दै नेटफ्लिक्स विरुद्ध  मुद्दा दायर

टेकपाना टेकपाना

असोज १७, २०७८ १३:२७

धेरै ब्यान्डविथ खपत गरेको भन्दै नेटफ्लिक्स विरुद्ध  मुद्दा दायर

काठमाडौं । दक्षिण कोरियाको इन्टरनेट सेवा प्रदायक एसके ब्रोडब्यान्डले धेरै ब्यान्डविथ खपत गरेको भन्दै नेटफ्लिक्स विरुद्ध मुद्दा दायर गरेको छ । कम्पनीले नेटफ्लिक्सका कारण ब्याण्डविथ खपत, नेटवर्क ट्राफिक र मर्मत थपिएको भन्दै त्यसको खर्च कम्पनीले बेहोर्नुपर्ने भन्दै मुद्दा दायर गरेको हो ।

केही समयअघिमात्रै ‘हिट सिरिज स्क्विड गेम’ नेटफ्लिक्समा सार्वजनिक भएको छ । जसले नेटफ्लिक्सको प्रयोग ठुलो मात्रमा बढेको छ । त्यसको असर ब्याण्डविथमा देखिएको छ । हाल यूट्युब पछिको बढी डाटा ट्राफिक बढाउने कम्पनीको रुपमा नेटफ्लिक्स बनेको छ । यसरी नेटफ्लिक्सले ब्याण्डविथ खपत बढाएसँगै कम्पनी अदालत पुगेको हो ।


‘नेटफ्लिक्सका प्रयोगकर्ता बढेसँगै ब्यान्डविथ खपत बढेको छ,’ कम्पनीका प्रवक्ताले भनेका छन्, ‘त्यसरी ब्याण्डविथ खपत बढ्दा कम्पनीमाथि थप आर्थिक भार थपिएको छ । त्यतिमात्रै नभएर ब्याण्डविथको खपत बढ्दै जाँदा कम्पनीको पूर्वाधारमा पनि लगानी गर्नुपर्ने अवस्था सिर्जना भएको छ । त्यसैले थपिएको आर्थिक भार बराबरको रकम भुक्तानी गर्नु पर्ने भन्दै मुद्दा दायर गरिएको हो ।’

यसअघि सोउल अदालतले आईएसपीको नेटवर्क प्रयोग गरेबापत बदलामा नेटफ्लिक्सले केही दिनुपर्ने निर्णय गरेको थियो । यसका साथै थुप्रै दक्षिण कोरियाली नीति निर्माताहरूले नेटवर्क प्रयोग गरेबापत भुक्तानी नगर्ने तर उल्लेख्य ट्राफिक बढाउने कन्टेन्ट प्रोभाइडरका विरुद्धमा आवाज उठाएका थिए ।

यसैलाई मध्यनजर गर्दै सके ब्रोडब्यान्डले मुद्दा दर्ता गराएको जनाइएको छ । यो विषयमा नेटफ्लिक्सले थप अध्ययन र छलफल पछि आवश्यक निर्णय लिन बताएका छ । कम्पनीले हालका उपभोक्तालाई असर नपर्ने गरी समस्या सुल्झाउनका लागि कम्पनी वार्ताको लागि तयार रहेको समेत जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५