close

अवरुद्ध इन्टरनेट सेवा सञ्चालनमा, यस्तो छ विद्युत प्राधिकरणको स्पष्टोक्ति

टेकपाना टेकपाना

असोज १७, २०७८ १८:२५

अवरुद्ध इन्टरनेट सेवा सञ्चालनमा, यस्तो छ विद्युत प्राधिकरणको स्पष्टोक्ति

काठमाडौं । देशका विभिन्न स्थानमा इन्टरनेट नै अवरुद्ध हुनेगरि काटिएको तार पुनः जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरणले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो ।

यसअघि प्राधिकरणले वृद्धि भएको भाडादर कार्यान्वयनमा ल्याउन भन्दै देशका विभिन्न स्थानमा इन्टरनेट तार काट्न सुरु गरेको  थियो । प्राधिकरणको संरचना प्रयोग गरी उपभोक्ताबाट आफ्नो सेवाको शुल्क लिने तर निर्धारण गरिएको भाडादर तिर्न केही सेवा प्रदायकहरूले अस्वीकार गरेपछि शनिबार त्यस्ता सेवा प्रदायकले प्रयोग गरेको तार केही ठाउँमा सांकेतिक रुपमा विच्छेद गरिएको प्राधिकरणले जनाएको छ ।

यस्तो कार्य इन्टरनेट तथा टेलिभिजनका प्रयोगकर्ता तथा आम उपभोक्तालाई सेवा प्रयोग गर्नबाट वञ्चित गराउन नभई आफ्नो संरचना प्रयोग गरेबापत सेवा प्रदायकबाट भाडादर असुलउपर गर्न गरिएको प्राधिकरणको स्पष्टोक्ति छ । ‘यसबाट उपभोक्ता वर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरण क्षमाप्रार्थी छ ।

हाल उक्त तारहरू जडान भैसकेका छन्,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ । विद्युत प्राधिकरण र इन्टरनेट सेवाप्रदायकबीचको जारी विवादका कारण देशका विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध भएपश्चात आइतबार नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण, ऊर्जा तथा जलश्रोत मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीबीच  समाधानका लागि छलफल समेत भएको छ ।

छलफलबाट वार्ता र संवादका माध्यमबाट जारी विवाद टुङ्ग्याउने भन्दै हाललाई इन्टरनेट तार काट्ने कार्यबाट नेपाल विद्युत प्राधिकरण पछि हट्नेगरी सहमति भएको स्रोतले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५