close

के हो वाई-फाई कलिङ ? यसरी सजिलै बुझ्नुहोस्

टेकपाना टेकपाना

असोज १८, २०७८ ९:४५

के हो वाई-फाई कलिङ ? यसरी सजिलै बुझ्नुहोस्

काठमाडौं । वाई-फाई कलिङ एउटा यस्तो सेवा हो, जसले वाई-फाई नेटवर्कको सहयोगमा मोबाइल नेटवर्क कमजोर वा खराब भएको क्षेत्रमा समेत नियमित रुपमा फोन सम्पर्कमा रहने सुविधा दिन्छ । यो सेवा केवल त्यतिखेर मात्र काम गर्दछ, जब तपाईंको टेलिकम सेवाप्रदायकले वाई-फाई कलिङलाई सपोर्ट अर्थात साथ दिन्छ ।

यति भइसकेपछि तपाईंसँग एउटा मजबुत किसिमको वाई-फाई सम्पर्क समेत हुनुपर्छ । यस्तोमा जब मोबाइल नेटवर्कको कभरेज कम हुन्छ, तब यो फिचरको सपोर्ट रहेका फोनले एक प्रकारले वाई-फाई नेटवर्कलाई नै मोबाइल नेटवर्कको रुपमा प्रयोग गर्न  सक्छ । यसरी दूरसञ्चार सेवाप्रदायकको माध्यमबाट तपाईं निरन्तर मोबाइल सम्पर्कमा रहन सक्नुहुन्छ ।

छिमेकी देश भारतमा समेत विभिन्न सेवाप्रदायकले उपलब्ध गराइरहेको यो सेवा नेपालमा भने अहिलेसम्म आइसकेको छैन । विशेषगरी यो सेवा मोबाइल नेटवर्कले राम्रोसँग काम नगर्ने ठाउँका लागि उपयोगी हुने गर्दछ ।

उदाहरणका लागि यदि तपाईं कुनै ठूलो बिल्डिङको अन्डरग्राउन्डमा हुनुहुन्छ र तपाईं भएको स्थानमा मोबाइलको टावर अर्थात नेटवर्कले राम्रोसँग टिपिरहेको छैन । तर यदि त्यहाँ वाई-फाई छ भने तपाईं मोबाइल सम्पर्क नटुटाएर नियमित भ्वाइस कल गर्न सक्नुहुन्छ ।

वाई-फाई कलिङ सेवा भीओएलटीई अर्थात ‘भ्वाइस ओभर एलटीई’ नेटवर्कको साटो भीओआईपी अर्थात ‘भ्वाइस ओभर इन्टरनेट प्रोटोकल’ मा चल्ने गर्दछ । पछिल्लो समय बजारमा आएका प्रायः सबैजसो फोनमा यो सुविधा रहेको हुन्छ । तपाईंले आफ्नो फोनको नेटवर्क सेटिङ्समा गएर यो फिचर फेला पार्न सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५