close

ब्लुबुक नवीकरणका लागि अनलाइन सेवा दिँदै ‘स्मार्ट सर्भिस’

टेकपाना टेकपाना

असोज २०, २०७८ १०:५७

ब्लुबुक नवीकरणका लागि अनलाइन सेवा दिँदै ‘स्मार्ट सर्भिस’

काठमाडौं । ‘स्मार्ट सर्भिस इन’ले यातायात व्यवस्था सम्बन्धी सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीले सेवाग्राहीहरूलाई घरमै बसेर ब्लुबुक नवीकरणका साथै यातायातसँग सम्बन्धी अन्य सेवा प्रदान गर्दै आएको हो ।।

हाललाई यो सेवा काठमाडौं उपत्यकाभित्र मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ । विभिन्न रेमिट्यान्स र सहकारी संस्थाहरूसँगको सहकार्यमा कम्पनीले काठमाडौं उपत्यकाभित्र ६० ओटा भन्दा बढी स्मार्ट अकाउन्टहरू स्थापना गरेको छ ।

यी काउन्टरहरूमा गएर सेवाग्राहीले आफ्नो ब्लुबुक नवीकरणको लागि छोड्न सक्छन् । यसरी विभिन्न काउन्टर र घरमै गएर संकलन गरेको ब्लुबुक नवीकरण गर्न तीन देखि चार दिन सम्म लाग्ने कम्पनीको भनाइ छ ।

छिट्टै नै देशभर आफ्ना शाखा कार्यालय स्मार्ट काउन्टरहरू विस्तार गर्ने योजना रहेको कम्पनीका मार्केटिङ प्रमुख अञ्जन भट्टराईले बताए । कम्पनीले देशैभर हजार भन्दा बढी स्मार्ट काउन्टर र २५ भन्दा बढी स्थानहरूमा शाखा कार्यालय स्थापना गर्ने लक्ष्य रहेको उनले बताए ।

‘प्रविधिको जमानामा सेवाग्राहीहरू आफ्नो सहजता र समयको बचतको लागि सबै काम अनलाइन मार्फत गर्न चाहन्छन् । यही कुरालाई मध्यनजर गर्दै सेवाग्राहीहरूलाई लामो लाइनमा नबस्नु पर्ने झन्झट नबेहोरेरै यो सेवा सुरु गरेका हौँ,’ उनले भने ।

यो सेवा अन्तर्गत कम्पनी आफैँले सेवाग्राहीकै घरमा गएर ब्लुबुक लिने र नवीकरण भइसकेपछि घरमै पुर्‍याइदिने व्यवस्था पनि मिलाएको छ । त्यस्तै कम्पनीले सवारी साधनको थर्ड पार्टी बीमाको सेवा पनि उपलब्ध गराउँदै आएको छ ।

त्यसैगरी स्मार्ट सर्भिसको वेबसाइटमा गएर आफ्नो सवारी साधनको कर सम्बन्धी विवरणहरू पनि पत्ता लगाउन सकिन्छ । त्यसैगरी आफ्नो ब्लुबुक नवीकरणको काम कहाँसम्म पुग्यो भनेर ट्रयाक गर्ने सुविधा पनि स्मार्ट सर्भिसले दिँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५