close

कनेक्टआईपीएसमा निःशुल्क रकम ट्रान्सफरको सुविधा

टेकपाना टेकपाना

असोज २०, २०७८ ११:४२

कनेक्टआईपीएसमा निःशुल्क रकम ट्रान्सफरको सुविधा

काठमाडौं । कनेक्ट आईपीएसबाट निःशुल्क रकम ट्रान्सफर गर्न सकिने भएको छ । आउँदै गरेको दशैँ , तिहार तथा छठ लगायतको चाड पर्वको समयमा कागजी नोटको प्रयोगलाई कम गर्न तथा मोबाइलबाट गरिने फण्ड ट्रान्स्फरलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ कम्पनीले यस्तो अफर ल्याएको हो । 

कनेक्ट आईपीएसको मोबाइल एप, बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङमा रहेको कनेक्ट आईपीएस फण्ड ट्रान्स्फरमार्फत मोबाइल वालेटमा गरिने फण्ड लोड असोज २० गते देखि कात्तिक २५ गते सम्म पूर्ण रुपमा निशुल्क गरिएको छ । कनेक्ट आईपीएसको बढ्दो प्रयोग तथा मोबाइलबाट बैङ्क खातामा आधारित फण्ड ट्रान्स्फरलाई थप प्रवर्द्धन गर्न उक्त अवधिमा कारोबार शुल्क पूर्ण रुपमा मिनाहा गरिएको कम्पनीले जनाएको छ ।

यो अफरले कागजी नोटको प्रयोग घट्नुका साथै फण्ड ट्रान्स्फरमा मोबाइल प्लेटफर्मको प्रयोग थप वृद्धि हुने विश्वास गरिएको छ । फण्ड ट्रान्स्फर लगायत अन्य विभिन्न भुक्तानी एकै प्लेटफर्मबाट गर्न सकिने कनेक्ट आईपीएसले गत आर्थिक वर्षमा १३ खर्ब ६० अर्ब रुपैयाँ बराबरको कारोबार गरेको थियो ।

जसका लागि एक करोड ८९ लाख भुक्तानी कारोबार फर्छ्यौट गरिएका थिए । त्यस्तै चालू आर्थिक वर्ष (भदौ मसान्तसम्म) मा ४ खर्ब पाँच अर्ब रुपैयाँको कारोबार कनेक्ट आईपीएसबाट भएको छ । जसका लागि ६२ लाख भुक्तानी कारोबारहरू फर्छ्यौट गरिएका छन् ।

हाल यो प्रणालीमा ५४ ओटा बैंक तथा वित्तिय संस्था आबद्ध रहेका छन् । बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले कनेक्ट आईपीएसको वेबसाइट मा वा यसको मोबाइलएप मार्फत अनलाइन रजिष्टर गरी सेवा लिन सक्छन् ।

साथै सम्बन्धित बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङमा रहेको कनेक्ट आईपीएसको सुविधाका लागि छुट्टै रजिष्टर समेत गर्नु पर्दैन । केवल त्यहाँ रहेको कनेक्ट आईपीएस फण्ड ट्रान्स्फर अप्सन मार्फत यो सेवा प्रयोग गर्न सकिन्छ ।

१४ भन्दा बढी डिजिटल वालेटका प्रयोगकर्ताले पनि कनेक्ट आईपीएसमार्फत सोझै बैंक खाताबाट रकम लोड गर्न सक्छन् ।  कनेक्ट आईपीएसको मोबाइल एपमार्फत प्रति कारोबार एक लाख  रुपैयाँ तथा प्रति दिन दुई लाख रुपैयाँ सम्म कारोबार गर्न सकिन्छ । त्यस्तै मोबाइल बैंकिङबाट हुने फण्ड ट्रान्स्फरमा भने बैंक तथा वित्तिय संस्थाले ५० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म कारोबार सीमा प्रदान गरेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५