close

यूजी बजारले सुरु गर्‍यो बग बाउन्टी कार्यक्रम, कति छ रिवार्ड ?

टेकपाना टेकपाना

असोज २०, २०७८ १३:६

यूजी बजारले सुरु गर्‍यो बग बाउन्टी कार्यक्रम,  कति छ रिवार्ड ?

काठमाडौं । ई-कमर्स कम्पनी यूजी बजारले पनि बग बाउन्टी कार्यक्रम सुरु गरेको छ । बढ्दै गइरहेको डेटा सुरक्षा सम्बन्धी जोखिमलाई सम्बोधन गर्न कम्पनीले मङ्गलबारदेखि बग बाउन्टी कार्यक्रम सुरु गरेको हो । यसको लागि कम्पनी नेपालको बग बाउन्टी प्लेटफर्म ‘बगभी’ मा जोडिएको छ ।

कम्पनीका सह-संस्थापक किरण तिम्सिनाका अनुसार अब जोकोहीले पनि यूजी बजारको सिस्टम वा सफ्टवेयरमा रहेको सुरक्षा कमजोरी पत्ता लगाएमा सो कमजोरीमा बगभीमार्फत रिपोर्ट गर्न सकिनेछ । यसरी रिपोर्ट गरिएका बगहरूको संवेदनशीलताको प्रकृति हेरेर ‘बग बाउन्टी’ (प्रोत्साहन रकम)  प्रदान गरिने उनले बताए ।

‘रिपोर्ट गरिएको बग कस्तो प्रकारको हो र त्यो कत्तिको संवेदनशील छ भन्ने आधारमा हाललाई १० अमेरिकी डलरदेखि १०० अमेरिकी डलर अर्थात् करिब १८०० रुपैयाँ देखि करिब १०,८०० रुपैयाँसम्म बाउन्टी रिवार्ड दिने घोषणा गरेका छौँ,’ उनले टेकपानासँग भने, ‘आउने दिनहरूमा हाम्रो कामलाई सुरक्षित साथ सम्पन्न गर्न यो कार्यक्रमले मद्दत गर्ने आशा गरेका छौँ ।’

सुरु भएकै दिन करिब दुई दर्जन रिपोर्ट प्राप्त भएको उनले बताएका छन् । ‘आउने दिनहरूमा हाम्रो कामको दायरा विस्तार गर्दै जाँदा हामीले हाम्रो डेटा सुरक्षाको बारेमा थप बलियो भएर काम गर्नुपर्ने हुन्छ । त्यसैले भोलिको दिनलाई पनि मध्यनजर गर्दै हामीले यो कार्यक्रम सुरु गरेका हौँ । आशा छ यो कार्यक्रमले हाम्रो सेवालाई थप बलियो बनाउनेछ,’ उनले भने ।

आगामी दिनमा आफ्नो फुड सर्भिसको लागि उपत्यका बाहिर पनि फ्रेन्चाइज खोल्ने योजनामा रहेको कम्पनीको मोबाइल एप छिट्टै नै आईओएस भर्सनमा पनि आउने उनले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५