close

२० जना नेपाली विद्यार्थीलाई प्रविधि प्रशिक्षण दिँदै ह्वावे, यसरी दिनुहाेस् आवेदन

टेकपाना टेकपाना

असोज २०, २०७८ १७:४६

२० जना नेपाली विद्यार्थीलाई प्रविधि प्रशिक्षण दिँदै ह्वावे, यसरी दिनुहाेस् आवेदन

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावेले आईटीका विद्यार्थीहरूका लागि प्रविधि सम्बन्धी ज्ञान दिने उद्देश्यले अनलाइन प्रशिक्षण दिने भएको छ । कम्पनीको आयोजनामा नोभेम्बर २९ देखि डिसेम्बर ६ सम्म सञ्चालन हुने ‘सिड्स फर दि फ्युचर’ नामक कार्यक्रममा सहभागी हुन आईटी पढ्दै गरेका विद्यार्थीहरूलाई आवेदन दिन आह्वान गरिएको छ ।

कम्पनीले विद्यार्थीहरूलाई अनलाइनको माध्यमबाट प्रविधि, आविष्कार तथा क्रस-कल्चरल एक्सचेन्ज सम्बन्धी विविध प्रशिक्षण दिनेछ । कार्यक्रम अवधिभर सहभागीले फाइभजी प्रविधि, क्लाउड कम्प्युटिङ र एआई सम्बन्धी कक्षामा सहभागी हुन पाउनेछन् ।

त्यस्तै चीनका विभिन्न प्रविधि सम्बन्धी कम्पनीहरूको भर्चुअल टुर लगायत ह्वावेका विज्ञ सहित अन्य उद्यमी, वैज्ञानिक र प्राध्यपकहरूबाट साइबर सुरक्षा, एरोस्पेस लगायतका विषयहरूमा प्रस्तुतिहरू दिइनेछ ।

त्यसैगरी अन्य देशको बारेमा थाहा पाउन विभिन्न देशका विद्यार्थीबीच विभिन्न छलफल कार्यक्रम पनि सञ्चालन हुनेछन् । सहभागीहरूलाई ह्वावेको प्रदर्शनी हल, क्याम्पस र स्टोरहरूको पनि भर्चुअल टुर गराइने कम्पनीले बताएको छ ।

यो कार्यक्रममा सहभागी हुनको लागि विद्यार्थीले आफ्नो विषयमा कम्तिमा पनि ३ जीपीए ल्याएको हुनुपर्नेछ । कार्यक्रममा सहभागी हुनको लागि यहाँ गएर नोभेम्बर ७ सम्म आवेदन दिन सकिनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५